२०८२ मंसिर २५, बिहिबार

‘परालको आगो’ मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समावेश हुने,

काठमाडौं,जेठ २२:- नेपाली साहित्यकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित बन्न लागेको नयाँ फिल्ममा दशकौँ पुरानो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ। फिल्म निर्माण टिमले यस गीतलाई प्रयोग गर्नका लागि यसको संगीतकार शान्ति ठटालसँग सहमति प्राप्त गरिसकेको छ।

निर्माता सुशिल पोखरेलको निर्माणमा हरिओम सिने मेकर्सबाट तयार हुँदै गरेको फिल्म ‘परालको आगो’ का लागि संगीतकार ठटालसँग भारतको सिलगुडीमै पुगेर औपचारिक कागजी सम्झौता गरिएको हो। उक्त गीतमा स्व. अरुणा लामाको स्वर, मनबहादुर मुखियाको शब्द र शान्ति ठटालको संगीत रहेको छ।

संगीतकार ठटालले सहमति दिँदै भनिन्, “श्री ॐ सिने मेकर्स प्रा.लि. बाट निर्माण हुँदै गरेको चलचित्रमा मेरो संगीत ‘उडिजाउं भने म पन्छी हैन’ प्रयोग गर्न पूर्ण मञ्जुरी दिएको छु। चलचित्रको सफलताको शुभकामना पनि दिन चाहन्छु।”

चार दशकअघि निर्देशक प्रताप सुब्बाको निर्देशनमा बनेको ‘परालकै आगो’ मा प्रयोग भएको यस गीतलाई नयाँ निर्माणमा पनि समावेश गर्न लागिएको हो। निर्माता पोखरेलले यसपटक फिल्मलाई नयाँ प्रस्तुतीकरण, लोकेसन र दृष्टिकोणसहित दर्शकमाझ ल्याउने बताए।

निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्ने यस फिल्ममा अभिनेता जितु नेपाल, प्रकाश सपुत र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ। केहि साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्ध गरिसकेको छ। यस परालको आगो को लेखन सुशील देवकोटाको रहेको छ ,उहाँ कलाकार र लेखक दुबै विधामा पोख्त छ्न । छायांकन साउन देखि सुरु हुने तयारी गरिएको छ भने समय हेरेर छायांकन सकाएर रिलिज मिति तोक्ने लक्ष्य राखिएको छ।

‘परालको आगो’ कथाकार मैनालीको ‘नासो’ कथा संग्रहमा संग्रहित कथामा आधारित हो, जसमा पात्र चामे र गौँथलीबीचको द्वन्द्व प्रस्तुत गरिनेछ। निर्देशक सुनारले यसअघि ‘बुलाकी’जस्ता सफल र बहुप्रशंसित चलचित्र निर्देशन गरिसकेका छन्।

यसअघि निर्माता पोखरेलले ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्।

अभिनेत्री आशा पौडेल ‘महाराजधिराज’ मा अनुबन्ध

✍ अदृश्य सञ्चार
काठमाडौँ, जेष्ठ २२ –
नेपाली फिल्म क्षेत्रकी अनुभवी अभिनेत्री आशा पौडेल नयाँ फिल्म ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छन्। निर्देशक परिच्छेद सेन को निर्देशनमा तयार हुन लागेको यो बहुप्रतीक्षित फिल्म दशैंको फूलपातीमा देशव्यापी प्रदर्शन हुने तयारीमा छ।

चलचित्र ‘महाराजधिराज’ को निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लि. ले अभिनेत्री आशा पौडेलको सहभागितालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।

फिल्ममा यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, जयकिशन बस्नेत जस्ता कलाकारहरू अनुबन्ध भइसकेका छन्। आशा पौडेलको आगमनले महिला पात्रलाई थप गहिराइ दिने अपेक्षा गरिएको छ।

फिल्ममा प्रवेशसँगै आशाको अनुभवको लाभ

२०६३/६४ सालमा फिल्म ‘दाईको ससुराली’ मार्फत अभिनयमा प्रवेश गरेकी आशा पौडेलले ‘जिन्दगी’, ‘कृष्णा’, ‘त्रिनेत्र’, ‘सासु नन्द बुहारी’, ‘कर्जा रगतको’ जस्ता फिल्महरूमा दमदार अभिनय गरिसकेकी छन्। उनले भोजपुरी फिल्म ‘सबसे वाडा रुपैयाँ’ तथा थुप्रै म्युजिक भिडियो, टेलिफिल्म, र हालै ‘नरसिंह अवतार’ मार्फत दर्शकको मन जितेकी थिइन्।

निर्माण पक्ष बलियो, दशैंमा भव्य प्रदर्शनको तयारी

फिल्ममा विराज विष्ट प्रस्तुतकर्ता रहेका छन्, जसले यसअघि हिट फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। निर्माण टिममा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। निर्देशक परिच्छेद सेन यसअघि चर्चित फिल्म ‘प्रेमगञ्ज’ मार्फत दर्शकसामु आइसकेका छन्।

‘महाराजधिराज’ लाई पारिवारिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्षमा सन्तुलन मिलाउने उद्देश्यका साथ तयार पारिँदैछ। फिल्मको कथा, संवाद र प्रस्तुति सबै वर्गका दर्शकलाई केन्द्रमा राखेर बनाइने बताइएको छ।
आशा पौडेलको नयाँ अवतार कस्तो होला?

फिल्ममा आशा पौडेलले के कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्ने खुलासा नभए पनि, उनको भूमिकालाई सशक्त बनाउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। अभिनेत्री पौडेलको अनुभवी अभिनय क्षमताले फिल्मको स्तर अझ उचो बनाउनेमा निर्माण पक्ष आशावादी देखिन्छ।

काभ्रेका बिक्रम गौतम: ड्राइभर बन्न काठमाडौं पसेका एक युवक कसरी बने चलचित्र क्षेत्रका चर्चित मेकअप आर्टिस्ट?

काठमाडौं — “जिन्दगीले कहाँ पुर्‍याउँछ थाहा हुँदैन,” यो भनाइ बिक्रम गौतमको जीवनमा ठ्याक्कै मेल खान्छ। काभ्रेका स्थायी बासिन्दा बिक्रमले कक्षा ९ पछि औपचारिक पढाइ रोक्दै काठमाडौं प्रवेश गर्दा उनी ड्राइभर बन्न चाहन्थे। तर मावन नपुगेर त्यो सपना अधुरै रह्यो।

काम खोज्दै भौतारिरहेका बिक्रम नयाँ बसपार्कको एक गेस्ट हाउसमा काम गर्न पुगे— गेस्ट खोज्ने। तर त्यो काम कानुनी हिसाबले वैध थिएन। बिक्रमको आर्थिक अवस्था देखेर चिनजानको उनकी दिदीले उनलाई निशुल्क ‘बेसिक सलून कोर्स’ सिकाइदिइन्। गेस्ट हाउसमा करिब दुई वर्ष काम गर्दै बिक्रमले थप व्यावसायिक सलून तालिम समेत पूरा गरे।

घरबाट भने विदेश जान दबाब थियो। तर उनले ‘मेडिकल फेल भएँ’ भन्ने बहाना बनाएर नेपालमै केही गर्ने निर्णय गरे। त्यही बेलामा चलचित्र क्षेत्रबाट मेकअप आर्टिस्टको प्रस्ताव आयो, जसले बिक्रमको जीवनलाई नयाँ मोडमा ल्याइदियो।

चलचित्र क्षेत्रको यात्रा र सफलताको कथा

फिल्म क्षेत्रबाट प्राप्त अवसरलाई उपयोग गर्दै बिक्रमले मेकअप आर्टिस्टको रूपमा काम गर्न थाले। सुरुवातमै आफ्नो प्रतिभा र परिश्रमबाट उनले चाँडै सबैको ध्यान तान्न सफल भए। आज उनी नेपाली फिल्म उद्योगका अग्रणी मेकअप आर्टिस्टहरूमध्ये एक बनेका छन्।

उनले चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा हजारौं प्रोजेक्टमा मेकअप आर्टिस्टका रूपमा योगदान दिइसकेका छन्। उनका पछिल्ला चर्चित फिल्महरूमा ‘लाज शरणम्’, ‘बरीष्ठ बलराम’, ‘झिल्को’ र हालै प्रदर्शनमा आएको ‘अब चाहिँ नयाँ प्रोजेक्ट – द ब्लू लाइट मा आवद्द छन ।

सलून व्यवसाय र परिवारको साथमा आत्मनिर्भरता

बिक्रमले अहिले कपन र बनस्थली क्षेत्रमा दुई वटा सलून सञ्चालन गरिरहेका छन्, जुनसँगै एकेडेमी पनि संलग्न छ। उक्त व्यवसायमा उनी आफ्नी श्रीमती, दुई जना भाइ र भाउजुहरूसँगै प्रत्यक्ष संलग्न छन्। उनीहरू सँगै बसेर व्यवसाय सञ्चालन गर्नु आफैँमा उदाहरणीय बनेको छ।

औपचारिक शिक्षा छाडेका बिक्रमले पछिल्लो समय +2 पनि पूरा गरेका छन्, जसले सिकाइको कुनै उमेर हुँदैन भन्ने सन्देश दिन्छ।

समापनमा…

कक्षा ९ मा पढाइ छाडेका बिक्रम गौतमले जीवनका अनेक मोड पार गर्दै चलचित्र क्षेत्रका एक सफल मेकअप आर्टिस्ट र व्यवसायी बन्न सफल भएका छन्। उनको संघर्ष र सफलताको यात्रा प्रेरणादायी मात्र नभई, नेपाली युवा पुस्ताका लागि सम्भावनाको ढोका पनि हो।

नेपाली निर्देशनको नयाँ अध्याय: कृषा चौलागाईं यूएनए प्रोडक्सनसँग अन्तर्राष्ट्रिय फिल्ममा

काठमाडौ :- जेष्ठ २०, २०८२ नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सबैभन्दा चर्चा बटुल्न सफल नाममध्ये एक हो— निर्देशक कृषा चौलागाईं। बहुचर्चित फिल्म ‘पिताम्बर’ को सफल निर्देशनपछि उनी अहिले नेपाली सिनेउद्योगकै अग्रणी निर्देशकको सूचीमा स्थान बनाउँदैछिन्। यतिबेला उनीसँग जोडिएको अर्को ठूलो खबर जापानबाट आएको छ, जसले नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने विश्वास गरिएको छ।

जापान भ्रमण र ऐतिहासिक सम्झौता

एक हप्ते जापान भ्रमणको क्रममा निर्देशक चौलागाईंले यूएनए प्रोडक्सनसँग एक ठुलो बजेटको बहुराष्ट्रिय फिल्ममा निर्देशन गर्ने सम्झौतामा हस्ताक्षर गरेकी छिन्। टोकियोमा सम्पन्न यो सम्झौतामा यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक कृषा चौलागाईंको उपस्थितिमा औपचारिक सम्झौता सम्पन्न भएको हो।

यस परियोजनामा नेपाल, भारत, र फिलिपिन्सका चर्चित कलाकारहरूको सहभागिता रहनेछ। फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्सका रमणीय स्थलहरूमा आगामी भदौ महिनाबाट सुरु हुने तयारी छ।

अन्तर्राष्ट्रिय सहयोग र प्रविधिको बलियो साथ

यूएनए इन्टरटेन्मेन्टले जापानमा वितरणका क्षेत्रमा पहिल्यै छवि बनाएको कम्पनी हो, जसले अहिले निर्माणमा समेत हात हाल्दै यूएनए प्रोडक्सन स्थापना गरेको हो। जापानको प्राविधिक सहयोगले यो फिल्मलाई उत्कृष्ट निर्माण मूल्य (production value) दिने अपेक्षा गरिएको छ। स्क्रिप्ट लेखन कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ।

उच्च पारिश्रमिक र निर्देशकको आत्मविश्वास

निर्देशक कृषाले यस फिल्मका लागि नेपाली निर्देशकको हिसाबले निकै उच्च पारिश्रमिक प्राप्त गरेको स्रोतले जनाएको छ, यद्यपि निर्माण पक्षले त्यसबारे औपचारिक खुलासा गरेको छैन। फिल्मको शीर्षक र कलाकारहरूको विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ।

कृषा चौलागाईंले भनिन्,

“पिताम्बरले मेरो निर्देशन यात्रामा एउटा आत्मविश्वास थपेको थियो, अब यो नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्टले नेपाली सिनेमाको स्तर र दायरालाई अझ फराकिलो बनाउनेछ।”

नेपाली सिनेमाको सम्भावना र नयाँ अध्याय

नेपालमा प्राविधिक तथा सिर्जनात्मक पक्षको निरन्तर उन्नतिमा लागिपरेका केही निर्देशकहरूमा कृषा चौलागाईं एक उदाहरणीय नाम हुन्। उनको यो नयाँ यात्रा नेपाली फिल्म उद्योगका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खोल्ने सम्भावनासँग जोडिएको छ। जापानको सहकार्य र एसियाली कलाकारहरूको संयुक्त सहभागिता सँगै बन्न लागेको यो फिल्मले नेपालको सिनेमालाई विश्व सिनेमाको नक्शामा थप प्रष्टता दिन सक्नेछ।

कुमार आचार्य अन्तर्राष्ट्रिय कम्पनी UNA Production मा सोसल मिडिया एडभाइजर नियुक्त

काठमाडौं, जेठ २२ — नेपाली सञ्चार तथा डिजिटल रणनीतिमा क्रियाशील चर्चित व्यक्तित्व कुमार आचार्यलाई अन्तर्राष्ट्रिय कम्पनी UNA Production ले आफ्नो सोसल मिडिया एडभाइजर को रूपमा नियुक्त गरेको छ।

UNA Production ले सार्वजनिक गरेको औपचारिक स्वागत सन्देशमा भनिएको छ, “हामी एक विशेष प्रतिभालाई हाम्रो परिवारमा स्वागत गर्न पाउँदा उत्साहित छौं। कुमार आचार्यको अनुभव र ऊर्जा हाम्रो डिजिटल उपस्थिति अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

आचार्यले अब संस्थाको सामाजिक सञ्जाल गतिविधि व्यवस्थापन गर्ने, डिजिटल ब्राण्डिङ रणनीति बनाउने, र अन्तर्राष्ट्रिय दर्शकमाझ परियोजनाहरू पुर्‍याउने जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्। सञ्चार तथा मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य यसअघि पनि थुप्रै सृजनात्मक परियोजनामा संलग्न रहिसकेका छन्।

UNA Production जापानमा आधारित अन्तर्राष्ट्रिय कम्पनी हो, जुन नेपाली चलचित्र, वेब सिरिज, म्युजिक भिडियो, र अन्य मनोरञ्जन सामग्रीको निर्माण, प्रवर्द्धन र वितरणमा सक्रिय रहँदै आएको छ। नेपालमा पनि यसको क्रियाशील उपस्थिति छ, र नेपाली सिर्जनालाई विश्व बजारमा पुर्‍याउने उद्देश्य राख्दछ।

कुमार आचार्यको नियुक्तिको खबर सार्वजनिक भएसँगै नेपाली फिल्म क्षेत्र तथा डिजिटल मिडियामा सक्रिय थुप्रै व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

दीपा शाहीलाई ‘समीक्षा अधिकारीको गीतमा उत्कृष्ट महिला मोडेल’ को अवार्ड

काठमाडौँ, २०८२:-साधना म्युजिक क्रिएशनको प्रस्तुति “पाँचौँ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) – २०८१” मा मोडेल दीपा शाहीलाई ‘उत्कृष्ट महिला मोडेल’ को अवार्ड प्रदान गरिएको छ। समीक्षा अधिकारीको स्वरमा सजिएको लोकप्रिय गीत ‘कस्ती थियौ, कस्ती भयौ’ मा प्रभावशाली अभिनय प्रस्तुत गरेपछि शाहीले यो सम्मान हात पारेकी हुन्।

चलचित्र विकास बोर्डमा आयोजित भव्य कार्यक्रममा उनी सेतो आकर्षक सुटमा ग्ल्यामरस अवतारमा देखिइन्। गीतको भाव, अभिनय र प्रस्तुतीकरणमा उनले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो। संगीतकर्मी, गायक/गायिका, मोडेल, निर्देशक लगायतका प्रतिभाहरू सम्मानित भएका थिए।

दीपा शाहीले पुरस्कार ग्रहण गर्दै भनिन्, “यो सम्मानले म अझ प्रेरित भएको छु। समीक्षा अधिकारी जस्तै प्रतिभाशाली गायिकाको गीतमा काम गर्न पाउनु गर्वको कुरा हो। म सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।”

अवार्ड कार्यक्रममा रंग संसार, म्युजिक खबर, ग्यालेक्सी ४ काठमाडौँ, दैनिकी नेपाल लगायतका मिडिया पार्टनर थिए।

निर्देशक जेबी डीसीको निर्देशनमा सामाजिक सन्देशमूलक प्रस्तुति नाटक सचेतना

हेटौंडा, २०८२ जेठ — नेपाल होचा पुडका कलाकार संघद्वारा तयार गरिएको सामाजिक चेतनामूलक नाटक “सचेतना” हेटौंडाका विभिन्न स्थानमा सफलतापूर्वक मञ्चन गरिएको छ। डिजिटल लत, लागूऔषध दुरुपयोग, साइबर सुरक्षा, र लैङ्गिक हिंसाजस्ता गम्भीर सामाजिक विषयमा जनचेतना फैलाउने उद्देश्यसहित निर्माण गरिएको यो नाटकले हेटौंडावासी दर्शकको मन जित्न सफल भएको छ।

प्रसिद्ध गीतकार तथा लेखक लोकराज अधिकारी को लेखन तथा रंगकर्मी जे. बी. डी. सी. को निर्देशनमा तयार गरिएको यस नाटकमा दल बहादुर कार्की, सरु दाहाल, सिर्जना सेन्चुरी, निश्चल श्रेष्ठ, पार्वती ढकाल लगायतका कलाकारहरूको उल्लेखनीय अभिनय रहेको छ।

नाटकलाई हेटौंडा उपमहानगरपालिकाको सहयोग प्राप्त भएको थियो। यसअघि पनि यो नाटक काठमाडौंका विभिन्न ६ स्थानमा मञ्चन भइसकेको छ र हरेक ठाउँबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ।

संघकी अध्यक्ष बिन्दा दुलाल का अनुसार, “दर्शकहरूको उत्साह र सकारात्मक प्रतिक्रिया हाम्रो लागि ठूलो प्रेरणा हो। हामी यस प्रकारका सामाजिक सन्देश बोकेका नाटकहरू मार्फत समाजमा सचेतना फैलाउने अभियानलाई निरन्तरता दिन चाहन्छौं।”

नाटकका निर्देशक जे. बी. डी. सी. ले भने, “लामो समयदेखि रंगमञ्च र चलचित्रलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएको कलाकारका हैसियतले यस्ता फरक क्षमता भएका व्यक्तिहरूसँग काम गर्दा निकै आनन्दित छु। ‘सचेतना’ जस्तो विषयवस्तुमा आधारित नाटक समाजको ऐनाजस्तै हो, जसले हामीलाई आत्ममूल्यांकन र समाधानतर्फ उन्मुख गराउँछ।”

नाटक “सचेतना” ले डिजिटल युगमा बढ्दै गएको सामाजिक समस्याप्रति दर्शकलाई सजग बनाउने र सामूहिक रूपमा समाधान खोज्न प्रेरित गर्ने उद्देश्य पूरा गरेको छ।

निर्देशक मुस्कान ढकाललाई ‘चलचित्र निर्देशन सम्मान २०८२’ प्रदान

काठमाडौं, :-– कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले आयोजना गरेको पाँचौं वार्षिक साधारण सभा तथा विशेष सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालज्यूको प्रमुख आतिथ्यतामा तथा प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेज्यूको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै योगदान पुर्‍याउँदै आएका निर्देशक मुस्कान ढकाललाई ‘चलचित्र निर्देशन सम्मान २०८२’ बाट सम्मानित गरिएको छ।

उक्त अवसरमा आयोजक टिमले ढकालद्वारा निर्देशित सुपरहिट चलचित्र ‘नाइ नभन्नु ल’ र ‘समर लभ’ मा देखिएको उत्कृष्ट निर्देशन क्षमता, सिर्जनात्मक दृष्टिकोण र नेपाली चलचित्रमा पुर्‍याएको प्रभावशाली योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरेको हो।

सम्मान ग्रहण गर्दै निर्देशक ढकालले आयोजक सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दै भने, “यो सम्मान मेरो कामको मूल्याङ्कन मात्र होइन, आगामी दिनमा अझ उत्कृष्ट सिर्जना प्रस्तुत गर्न थप प्रेरणा हो। यस्ता सम्मानले सिर्जनशील यात्रालाई थप ऊर्जावान बनाउनेछ।”

नेपाली चलचित्रमा भावनात्मक कथावाचन, प्राविधिक निपुणता र युवा दर्शकमाझ लोकप्रियता कमाउन सफल मुस्कान ढकाल नेपाली सिने क्षेत्रमा एक सशक्त नामका रूपमा स्थापित छन्।

संगीतकर्मी सुमी पराजुली ‘संगीतकर्मी तथा गायन सम्मान २०८२’ बाट सम्मानित

काठमाडौं:-जेठ २१,कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले आयोजना गरेको पाँचौं वार्षिक साधारण सभा तथा विशेष सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालको प्रमुख आतिथ्य र अर्थ समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य माननीय सन्तोष चालिसेको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सोही अवसरमा संगीतकर्मी सुमी पराजुलीलाई ‘संगीतकर्मी तथा गायन सम्मान २०८२’ बाट सम्मानित गरिएको छ। नेपाली संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील पराजुलीले ‘माया गर्ने तरिका’, ‘चुम्मा चप्पकै’, ‘लुकामारी’ लगायतका लोकप्रिय गीतमार्फत श्रोतामाझ छुट्टै स्थान बनाएकी छिन्। भाव, शैली र आवाजको अद्वितीय संयोजन उनका गीतहरूको विशेषता मानिन्छ।

सम्मान ग्रहणपछि पराजुलीले आफ्नो भावना व्यक्त गर्दै भनिन्,

“यो मेरो लागि अत्यन्त गौरवको क्षण हो। नेपाली संगीत क्षेत्रको यात्रा निरन्तर साधनशीलता, समर्पण र सिर्जनात्मकताको परिणाम हो भन्ने मान्यताका साथ अघि बढ्दै गर्दा, यस सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”

उनले आफ्नो सांगीतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्ने कार्यक्रम व्यवस्थापन सङ्घ नेपाल र सम्पूर्ण आयोजक टिमप्रति आभार व्यक्त गरिन्। साथै, उक्त सम्मानलाई उनले सम्पूर्ण संगीतप्रेमी, स्रोता र सहकर्मीहरूलाई समर्पण गरेकी छिन्।

निकट भविष्यमा सुमी पराजुलीको नयाँ गीत सार्वजनिक हुने तयारी समेत भइरहेको छ। रेकर्डिङ कार्य सम्पन्न भइसकेको उक्त गीत श्रोता तथा शुभचिन्तकहरूका लागि अर्को खुसीको खबर हुने अपेक्षा गरिएको छ।

‘जन्ते बाख्रो’ सेन्सर पास, युनिभर्सल सर्टिफिकेटसहित जेठ २३ गतेबाट प्रदर्शनमा

काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले युनिभर्सल (U) सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार यो चलचित्र सबै उमेर समूहका दर्शकहरूले अवलोकन गर्न सक्नेछन्।

निर्मातृ पक्षका अनुसार चलचित्र पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक सन्देश समेटिएको कथामा आधारित छ। जेठ २३ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘जन्ते बाख्रो’ ले बालबालिका, युवा, अभिभावक तथा जेष्ठ नागरिक सबैका लागि उपयुक्त सामग्री प्रस्तुत गर्ने दाबी गरिएको छ।

चलचित्रको कथा, अभिनय, संगीत र प्रस्तुतीकरणले नेपाली दर्शकलाई हर्ष, हास्य र भावनात्मक सम्बन्धमा बाँध्न सफल हुने विश्वास टिमले लिएको छ।

अब छिट्टै रिलिज प्रचार–प्रसार तीव्र पारिएको चलचित्र ‘जन्ते बाख्रो’ ले नेपाली सिने क्षेत्रलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।