संगीतकर्मी सुमी पराजुली ‘संगीतकर्मी तथा गायन सम्मान २०८२’ बाट सम्मानित

काठमाडौं:-जेठ २१,कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले आयोजना गरेको पाँचौं वार्षिक साधारण सभा तथा विशेष सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालको प्रमुख आतिथ्य र अर्थ समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य माननीय सन्तोष चालिसेको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सोही अवसरमा संगीतकर्मी सुमी पराजुलीलाई ‘संगीतकर्मी तथा गायन सम्मान २०८२’ बाट सम्मानित गरिएको छ। नेपाली संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील पराजुलीले ‘माया गर्ने तरिका’, ‘चुम्मा चप्पकै’, ‘लुकामारी’ लगायतका लोकप्रिय गीतमार्फत श्रोतामाझ छुट्टै स्थान बनाएकी छिन्। भाव, शैली र आवाजको अद्वितीय संयोजन उनका गीतहरूको विशेषता मानिन्छ।

सम्मान ग्रहणपछि पराजुलीले आफ्नो भावना व्यक्त गर्दै भनिन्,

“यो मेरो लागि अत्यन्त गौरवको क्षण हो। नेपाली संगीत क्षेत्रको यात्रा निरन्तर साधनशीलता, समर्पण र सिर्जनात्मकताको परिणाम हो भन्ने मान्यताका साथ अघि बढ्दै गर्दा, यस सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”

उनले आफ्नो सांगीतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्ने कार्यक्रम व्यवस्थापन सङ्घ नेपाल र सम्पूर्ण आयोजक टिमप्रति आभार व्यक्त गरिन्। साथै, उक्त सम्मानलाई उनले सम्पूर्ण संगीतप्रेमी, स्रोता र सहकर्मीहरूलाई समर्पण गरेकी छिन्।

निकट भविष्यमा सुमी पराजुलीको नयाँ गीत सार्वजनिक हुने तयारी समेत भइरहेको छ। रेकर्डिङ कार्य सम्पन्न भइसकेको उक्त गीत श्रोता तथा शुभचिन्तकहरूका लागि अर्को खुसीको खबर हुने अपेक्षा गरिएको छ।

Share Post on Social media