निर्देशक मुस्कान ढकाललाई ‘चलचित्र निर्देशन सम्मान २०८२’ प्रदान

काठमाडौं, :-– कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले आयोजना गरेको पाँचौं वार्षिक साधारण सभा तथा विशेष सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालज्यूको प्रमुख आतिथ्यतामा तथा प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेज्यूको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै योगदान पुर्‍याउँदै आएका निर्देशक मुस्कान ढकाललाई ‘चलचित्र निर्देशन सम्मान २०८२’ बाट सम्मानित गरिएको छ।

उक्त अवसरमा आयोजक टिमले ढकालद्वारा निर्देशित सुपरहिट चलचित्र ‘नाइ नभन्नु ल’ र ‘समर लभ’ मा देखिएको उत्कृष्ट निर्देशन क्षमता, सिर्जनात्मक दृष्टिकोण र नेपाली चलचित्रमा पुर्‍याएको प्रभावशाली योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरेको हो।

सम्मान ग्रहण गर्दै निर्देशक ढकालले आयोजक सम्पूर्ण टिमप्रति आभार प्रकट गर्दै भने, “यो सम्मान मेरो कामको मूल्याङ्कन मात्र होइन, आगामी दिनमा अझ उत्कृष्ट सिर्जना प्रस्तुत गर्न थप प्रेरणा हो। यस्ता सम्मानले सिर्जनशील यात्रालाई थप ऊर्जावान बनाउनेछ।”

नेपाली चलचित्रमा भावनात्मक कथावाचन, प्राविधिक निपुणता र युवा दर्शकमाझ लोकप्रियता कमाउन सफल मुस्कान ढकाल नेपाली सिने क्षेत्रमा एक सशक्त नामका रूपमा स्थापित छन्।

Share Post on Social media