‘परालको आगो’ मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समावेश हुने,

काठमाडौं,जेठ २२:- नेपाली साहित्यकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित बन्न लागेको नयाँ फिल्ममा दशकौँ पुरानो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ। फिल्म निर्माण टिमले यस गीतलाई प्रयोग गर्नका लागि यसको संगीतकार शान्ति ठटालसँग सहमति प्राप्त गरिसकेको छ।

निर्माता सुशिल पोखरेलको निर्माणमा हरिओम सिने मेकर्सबाट तयार हुँदै गरेको फिल्म ‘परालको आगो’ का लागि संगीतकार ठटालसँग भारतको सिलगुडीमै पुगेर औपचारिक कागजी सम्झौता गरिएको हो। उक्त गीतमा स्व. अरुणा लामाको स्वर, मनबहादुर मुखियाको शब्द र शान्ति ठटालको संगीत रहेको छ।
संगीतकार ठटालले सहमति दिँदै भनिन्, “श्री ॐ सिने मेकर्स प्रा.लि. बाट निर्माण हुँदै गरेको चलचित्रमा मेरो संगीत ‘उडिजाउं भने म पन्छी हैन’ प्रयोग गर्न पूर्ण मञ्जुरी दिएको छु। चलचित्रको सफलताको शुभकामना पनि दिन चाहन्छु।”
चार दशकअघि निर्देशक प्रताप सुब्बाको निर्देशनमा बनेको ‘परालकै आगो’ मा प्रयोग भएको यस गीतलाई नयाँ निर्माणमा पनि समावेश गर्न लागिएको हो। निर्माता पोखरेलले यसपटक फिल्मलाई नयाँ प्रस्तुतीकरण, लोकेसन र दृष्टिकोणसहित दर्शकमाझ ल्याउने बताए।
निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्ने यस फिल्ममा अभिनेता जितु नेपाल, प्रकाश सपुत र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ। केहि साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्ध गरिसकेको छ। यस परालको आगो को लेखन सुशील देवकोटाको रहेको छ ,उहाँ कलाकार र लेखक दुबै विधामा पोख्त छ्न । छायांकन साउन देखि सुरु हुने तयारी गरिएको छ भने समय हेरेर छायांकन सकाएर रिलिज मिति तोक्ने लक्ष्य राखिएको छ।
‘परालको आगो’ कथाकार मैनालीको ‘नासो’ कथा संग्रहमा संग्रहित कथामा आधारित हो, जसमा पात्र चामे र गौँथलीबीचको द्वन्द्व प्रस्तुत गरिनेछ। निर्देशक सुनारले यसअघि ‘बुलाकी’जस्ता सफल र बहुप्रशंसित चलचित्र निर्देशन गरिसकेका छन्।
यसअघि निर्माता पोखरेलले ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्