२०८२ मंसिर २२, सोमवार

दिपेन श्रेष्ठको ‘ठिकै छ मेरी प्रिय’को भिडियो सार्वजनिक

काठमाडौं, असार ६ – लोकप्रिय गायक दिपेन श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘ठिकै छ मेरी प्रिय’ को भिडियो शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको यो म्युजिक भिडियो प्रेम, पीडा र भावनात्मक द्वन्द्वको कथा बोकेको छ।

अनुजा बरालको निर्देशनमा बनेको यस भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको सशक्त अभिनय देख्न सकिन्छ। गीतको शब्द शेखर थापाले लेखेका हुन् भने संगीत दिवेश राईको रहेको छ। गीतलाई स्वयं अभिनेता गुरु वसिष्ठले नै गाएका छन्, जसले दर्शक–श्रोताको भावनालाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको भनाइ छ।

भिडियोको प्राविधिक पक्ष पनि सशक्त छ। सत्यम रानाले भिडियोमा दृश्य प्रभाव (VFX) को जिम्मा सम्हालेका छन्, राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् भने सारथी थापाले छायांकन गरेका छन्। भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका हुन्।

‘ठिकै छ मेरी प्रिय’ गीतको भिडियो ड्रागन मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

‘मोहर’ फिल्मको गीत सार्वजनिक, पल शाह र नीति शाहको रोमान्टिक अवतार

काठमाडौं, असार ५ – बहुप्रतिक्षित नेपाली फिल्म ‘मोहर’ को पहिलो गीत सार्वजनिक भएको छ। “चाहिँदैन मोहर, पर्दैन सुकी” बोलको यस गीतमा प्रेमभाव प्रकट गरिएको छ, जहाँ प्रेमी-प्रेमिकाको सम्बन्धलाई चित्रण गरिएको छ।

गीतमा सरद हुमागाइँ र विशाखा साहीको स्वर सुन्न सकिन्छ भने शब्द प्रमोद ढुंगानाको रचना हो। संगीतकार सुरेश अधिकारीले सुमधुर धुन भरेका छन्।

गीतको भिडियोमा मुख्य कलाकार पल शाह र नीति शाहलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोलाई रोमान्टिक ढंगले निर्देशन गरिएको छ, जसले दर्शकको मन छुने अपेक्षा गरिएको छ।

फिल्म ‘मोहर’ को कथा निर्देशक ओम प्रतीकले लेखेका हुन्। उनी स्वयं यस फिल्मका निर्देशक पनि हुन्। समाजमा गहिरो जरा गाडेर बसेको देउकी प्रथाको विरुद्ध आवाज उठाउँदै फिल्मले महत्वपूर्ण सामाजिक सन्देश दिन खोजेको देखिन्छ।

फिल्ममा पल र नीतिसँगै बेनिशा हमाल, बाल–कलाकार सारा शर्मा, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।

फिल्म साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।
चुम्बनजंग शाही फिल्मका निर्माता हुन् भने रोशनजंग शाही लाइन प्रोड्युसरको भूमिकामा छन्।

फिल्ममा कुमार महर्जनको एक्सन निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको VFX, सत्यम रानाको CGI, भुपेन्द्र अधिकारीको सम्पादन, र दिपेन बस्न्यातको छायांकन रहेको छ। संगीतमा सुरेश अधिकारीसँगै थानेश्वर गौतम र एसडी योगीको पनि टोलो रहेको छ।

फिल्म ‘मोहर’ले नेपाली समाजको यथार्थ र भावनात्मक सम्बन्धको कथा उजागर गर्दै मनोरञ्जनसँगै सन्देश दिन खोजेको छ।

प्रदीप खड्का र सुदर्शन थापा फेरि एकसाथ, ‘शुभ विवाह’ निर्माण हुने पक्का

काठमाडौं, असार ४ – निर्देशक सुदर्शन थापा अब अभिनेता प्रदीप खड्कासँग मिलेर नयाँ चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। चलचित्र विकास बोर्डमा नाम दर्ता गर्दा अभिनेता खड्काको नाम मुख्य कलाकारका रूपमा उल्लेख गरिएको छ।

यसअघि दश वर्षअघि सुपरहिट चलचित्र ‘प्रेमगीत’ मा सहकार्य गरेका यी दुईले अब ‘शुभ विवाह’ मा दोस्रोपटक साथ दिने तयारी गरेका हुन्। निर्देशक थापाका अनुसार अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता भइसकेको थियो, तर फिल्मको नाम सार्वजनिक गरिएको थिएन।

थापाले ‘प्रेमगीत’लाई सम्झिँदै भने, “त्यो चलचित्रले धेरै कलाकार तथा प्राविधिकहरूको करियरको बाटो खोल्यो, जसमा प्रदीप खड्का पनि प्रमुख थिए। अहिले उनी नेपाली फिल्म क्षेत्रका स्टार नायक हुन्।”

‘शुभ विवाह’ एक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हुनेछ, जसमा नेपाली धर्म, संस्कृति र सामाजिक मूल्य–मान्यतालाई आत्मसात् गरिएको निर्देशक थापा बताउँछन्। यो चलचित्रले परम्परागत विवाह संस्कारलाई कथानकको केन्द्रमा राख्नेछ।

यद्यपि चलचित्रमा अभिनेत्रीको नाम अझै सार्वजनिक गरिएको छैन। निर्देशक थापाको टोलीले चाँडै नै अभिनेत्रीसहित सम्पूर्ण कलाकार र प्राविधिक टुंगो लगाएर छायांकन सुरु गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

थापा प्रेम कथामा आधारित चलचित्र बनाउन सफल मानिन्छन्। उनका चर्चित फिल्महरूमा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउछु’ जस्ता चलचित्रहरू पर्छन्। उता, अभिनेता प्रदीप खड्का पनि ‘लभर ब्वाई’ भूमिकामा अत्यन्त लोकप्रिय छन्।

अब हेर्न बाँकी छ — प्रेमगीतको जस्तो सफलता ‘शुभ विवाह’ दोहोर्याउन सक्नेछन् कि भन्ने कुरा।

‘झुम्का कानैमा’ सार्वजनिक : सिटामोलको सुरुआती सांगीतिक झलक

काठमाडौं, असार २ – नेपाली फिल्म सिटामोल को पहिलो गीत ‘झुम्का कानैमा’ दर्शकमाझ आएको छ। सांगीतिक शैलीमा देउडा र लोक भाकाको मिठास मिसाइएको यस गीतले पारम्परिक हुड्के नाचको झल्को पनि दिन्छ।

गीतको भिडियोमा मुख्य कलाकारहरू सौगात मल्ल र बेनिशा हमाललाई रमाइला लयमा थिरकिरहेको देख्न सकिन्छ। संगीत र स्वर बाबुल गिरीको छ, शब्द गोविन्द भट्टले लेखेका हुन् भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्।

गीतको छायांकन प्रविन सिंहले गरेका हुन् र नृत्य निर्देशनमा अनुभवी कविराज गहतराजको संयोजन देखिन्छ। गीत राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

फिल्मको निर्देशन राज बहादुर सानेले गरेका हुन्। निर्देशक सानेले उक्त कार्यक्रममा बोलेका कुरा अनुसार, सिटामोल उनको जीवनको खास प्रोजेक्ट हो र यसले चलचित्र क्षेत्रमा उनको बाटो परिवर्तन गर्ने विश्वास छ।

सिटामोल मा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, काजल भुजेल लगायत थुप्रै कलाकारको अभिनय रहनेछ। बालकलाकारका रूपमा करण परियार र आराध्या डिसी पनि देखिनेछन्।

फिल्मको कथा निर्देशक साने र लेखक प्रदीप भट्टार्इको सहलेखनमा तयार भएको हो। निर्माण पक्षमा तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्य रहेको छ। सिनेमामा सिमोस सुनुवारको प्रस्तुति, दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, र रंग संयोजन राजेन्द्र मोक्तानले सम्हालेका छन्।

फिल्म साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउन तयारीमा छ।

गायक युवराज छन्त्यालको नयाँ गीत ‘किन पीर मान्छौँ’ सार्वजनिक

काठमाडौं :-जेठ ३१,गायक युवराज छन्त्यालको स्वर, शब्द र संगीतमा सजिएको नयाँ लोकलयात्मक गीत ‘किन पीर मान्छौँ’ सार्वजनिक गरिएको छ। मायाप्रेम र समर्पण झल्किने भावपूर्ण गीतमा गायक छन्त्याललाई लोकप्रिय गायिका देवी घर्तीले साथ दिएकी छन्।

गीतमा प्रेमिल भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जहाँ प्रेमीले आफ्नी प्रेमिकालाई निराश नहुन, पीर नमान्न आग्रह गरेका छन्। कुमार थापाको एरेन्ज, मिक्सिङ र मास्टरिङमा तयार भएको यस गीतको भिडियो पनि उत्कृष्ट रूपमा निर्माण गरिएको छ।

भिडियोको निर्देशन शिवम पोखरेलले गरेका छन् भने अभिनयमा नविन सिरिस, सगुन शाही, रेनुका आले, वसन्तराज गौतमलगायत कलाकारहरू देख्न सकिन्छ। गीतको भावनालाई अभिनयले राम्रोसँग समर्थन दिएको छ।

सुरज खनाल र राजु घलेको छायांकन रहेको भिडियोलाई सरोज शाहीले सम्पादन गरेका छन्। भिडियो गायक युवराज छन्त्यालकै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

विश्व रक्तदाता दिवस २०८२ को अवसरमा चावहिलमा वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, जेठ ३१ – विश्व रक्तदाता दिवस २०८२ को अवसरमा चावहिल चोकमा एक दिवसीय वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘समुदायकालागि चिकित्सक संस्था’को आयोजनामा गरिएको उक्त शिविरमा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् भने ५०० जना भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

“रक्तदान जीवनदान” भन्ने नारासहित सम्पन्न उक्त शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो। स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप, मधुमेह (सुगर), र अन्य प्रारम्भिक परीक्षणहरू समावेश गरिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका–७ का वडा सदस्य श्री उज्ज्वल अर्याल, श्री सुरेश शाही, गौशाला प्रहरी वृत्तका श्री रामकुमार चौधरी, सामुदायिक प्रहरी केन्द्रकी श्रीमती वालकुमारी थापा क्षेत्री, समाजसेवी श्री रामहरी कार्की, गौरिघाट सुधार समितिका अध्यक्ष श्री राजकुमार खड्की, सल्लाहकार श्री श्यामकुमार बुढाथोकी, मेट्रो ब्लड बैंककी प्रतिनिधि प्रभा कुमारी झा, तथा प्रहरी वृत्त गौशालाका श्री गणेशप्रसाद ढुंगेलको उपस्थिति रहेको थियो।

उक्त शिविरमा गौरीघाट सुधार समितिको सह–आयोजनामा जिल्ला प्रहरी परिसर काठमाडौं, सामुदायिक सेवा केन्द्र गौरीघाट, मेट्रो ब्लड बैंक, काठमाडौं महानगरपालिका वडा नं. ७, ट्राफिक प्रहरी विभाग, अदृश्य सञ्चार, र ‘धागो र सपना’ संस्थाको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको हो।

समुदायकालागि चिकित्सक संस्थाका अध्यक्ष डिल्ली हरिजनले रक्तदान तथा स्वास्थ्य शिविरमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानव सेवा र स्वास्थ्य सचेतनाको सन्देश बोकेको भन्दै सहभागीहरूले समेत यस्ता अभियानलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

समुदायको लागि चिकित्सक संस्था र गौरिघाट सुधार समितिद्वारा विमान दुर्घटनाका दिवंगतप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली

काठमाडौं, जेठ २९ — अहमदाबाददेखि लण्डनका लागि उडेको एयर इन्डिया AL 171 विमान २०८२ जेठ २९ गते दुर्घटनामा परि ज्यान गुमाएका डाक्टरहरू, चालक दलका सदस्यहरू तथा अन्य समस्त यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै समुदायको लागि चिकित्सक संस्था र गौरिघाट सुधार समिति द्वारा संयुक्त रूपमा विशेष शोक कार्यक्रम सम्पन्न गरिएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो। सहभागीहरूले मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

उक्त कार्यक्रममा चिकित्सक, समाजसेवी, स्थानीय बासिन्दा तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले हृदयविदारक उक्त दुर्घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। साथै, हवाई सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना हुनुपर्ने कुरामा समेत जोड दिइयो।

दुःखद घडीमा दिवंगतहरूप्रति सम्मान प्रकट गर्दै मानवताको पक्षमा एकताबद्ध रहन सबैमा अपिल गरिएको छ।

साउथ स्टार प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा, पल शाहका बुवाको भूमिकामा देखिँदै

काठमाडौं, जेठ ३१ – तेलुगु, हिन्दी र तमिल भाषाका चर्चित अभिनेता प्रदीप रावत अब नेपाली फिल्ममा पनि अभिनय गर्दैछन्। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुँदै गरेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा उनी पल शाहका बुवाको भूमिकामा अनुबन्ध भएका हुन्।

निर्देशक पन्तले रावतको अनुबन्धनबारे जानकारी दिँदै भने, ‘यो फिल्म नितान्त नेपाली लोक र परिवेशमा आधारित छ। प्रदीपजीले नेपाली शैलीमै पल शाहका बाबुको भूमिका निर्वाह गर्नुहुनेछ।’

यसअघि रावतले निर्देशक पन्तकै फिल्म ‘ह्रस्व दीर्घ’ मा नीता ढुंगानाकी बुवाको भूमिकामा अभिनय गरेका थिए, जुन क्यारेक्टर दर्शकले मन पराएका थिए। यही सफल सहकार्यलाई निरन्तरता दिँदै उनी अब ‘आ बाट आमा’ मा देखिन लागेका हुन्।

फिल्ममा प्रदीप रावतसँगै अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि अनुबन्ध भइसकेका छन्। विपना थापाले ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् र अब निर्देशक पन्तकै दोस्रो फिल्ममा पुनः सहकार्य गर्दैछिन्।

अभिमन्यू निरवीले लेखेको स्क्रिप्टमा आधारित यो फिल्म भदौदेखि फ्लोरमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिक टिमको टुंगो पनि चाँडै लाग्ने निर्देशक पन्तको भनाइ छ।

फिल्मको थिम पोस्टर दुई साता अघि सार्वजनिक भइसकेको छ भने निर्माण टिमले फागुन १५ गतेलाई प्रदर्शन मितिको रूपमा घोषणा गरिसकेको छ।

📸 तस्बिर: सुरेन्द्र थापा

विश्व रक्तदाता दिवसको अवसरमा चावहिलमा बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने

काठमाडौं, जेठ २९ – विश्व रक्तदाता दिवसको पावन अवसरमा ‘समुदायकालागि चिकित्सक संस्था’को आयोजनामा यही जेठ ३१ गते शनिबारका दिन चावहिल चोकमा बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित यस शिविरमा रक्तदानसँगै उच्च रक्तचाप तथा सुगर परीक्षणजस्ता निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गराइने आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं महानगरपालिका–७, गौरीघाट चावहिलद्वारा कार्यक्रम समन्वय गरिएको हो।

कार्यक्रममा गौरीघाट सुधार समितिको सह–आयोजनामा जिल्ला प्रहरी परिसर काठमाडौं, सामुदायिक सेवा केन्द्र गौरीघाट, मेट्रो ब्लड बैंक, काठमाडौं महानगरपालिका वडा नं. ७ लगायतका निकायको सहयोग रहनेछ। साथै ट्राफिक प्रहरी विभाग, अदृश्य सञ्चार र ‘धागो र सपना’ संस्थाको सहकार्य पनि रहनेछ।

“नियमित रूपमा रक्त र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं” भन्ने सन्देशलाई साथ दिँदै आयोजना गरिएको यो शिविरले सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

स्वास्थ्य चासो लिने सबैलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान र स्वास्थ्य परीक्षणमार्फत मानव सेवा गर्न आयोजक संस्थाले आग्रह गरेको छ।

अलिशा बास्तोला र गौरव हमालको अभिनयमा ‘ढाँट्यो मायाले’ सार्वजनिक हुने तयारीमा

काठमाडौं जेठ-२९, गायिका सुमी पराजुलीको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ सार्वजनिक हुने तयारीमा रहेको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण भएको यस गीतमा अलिशा बास्तोला र गौरव हमालको दमदार अभिनय देख्न पाइनेछ।

गीतको निर्देशन तथा लेखन मुस्कान ढकालले गरेका हुन्। ढाँट्यो मायाले शीर्षकले नै प्रेममा आएको धोका, भावनात्मक उतार–चढाव र विछोडको संकेत गर्दछ। पोस्टरमा देखिएअनुसार गीत ग्रामिण सौन्दर्य, प्रेम र करुणाको संयोजनमा आधारित हुनेछ।

गीतको शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्माले गरेका हुन् भने रेकर्डिङ चन्द्रमान विश्वकर्माले गरेका छन्। सुमी पराजुलीको प्रस्तुति रहेको यस गीतको (BTS) आशिष चापागाईं र सुवास बयलकोटीले गरेका हुन् भने दिपक गिरीले छायांकन सम्हालेका छ्न ।

भिडियोमा अमीर के.सी सहायक निर्देशकका रूपमा रहेका छन्। मेकअप आर्टिस्ट रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, र ड्रेस डिजाइन तानी थापाको रहेको छ। गीतको पोस्टर SD HOUSEले तयार पारेको हो।

‘ढाँट्यो मायाले’ युट्युब, फेसबुक, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्ममा चाँडै सार्वजनिक हुने जनाइएको छ। गीतले दर्शकको मन छुने भावनात्मक कथा र दृश्य प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।