विश्व रक्तदाता दिवस २०८२ को अवसरमा चावहिलमा वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, जेठ ३१ – विश्व रक्तदाता दिवस २०८२ को अवसरमा चावहिल चोकमा एक दिवसीय वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘समुदायकालागि चिकित्सक संस्था’को आयोजनामा गरिएको उक्त शिविरमा ५० जना भन्दा बढीले रक्तदान गरेका छन् भने ५०० जना भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

“रक्तदान जीवनदान” भन्ने नारासहित सम्पन्न उक्त शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो। स्वास्थ्य परीक्षणमा उच्च रक्तचाप, मधुमेह (सुगर), र अन्य प्रारम्भिक परीक्षणहरू समावेश गरिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका–७ का वडा सदस्य श्री उज्ज्वल अर्याल, श्री सुरेश शाही, गौशाला प्रहरी वृत्तका श्री रामकुमार चौधरी, सामुदायिक प्रहरी केन्द्रकी श्रीमती वालकुमारी थापा क्षेत्री, समाजसेवी श्री रामहरी कार्की, गौरिघाट सुधार समितिका अध्यक्ष श्री राजकुमार खड्की, सल्लाहकार श्री श्यामकुमार बुढाथोकी, मेट्रो ब्लड बैंककी प्रतिनिधि प्रभा कुमारी झा, तथा प्रहरी वृत्त गौशालाका श्री गणेशप्रसाद ढुंगेलको उपस्थिति रहेको थियो।

उक्त शिविरमा गौरीघाट सुधार समितिको सह–आयोजनामा जिल्ला प्रहरी परिसर काठमाडौं, सामुदायिक सेवा केन्द्र गौरीघाट, मेट्रो ब्लड बैंक, काठमाडौं महानगरपालिका वडा नं. ७, ट्राफिक प्रहरी विभाग, अदृश्य सञ्चार, र ‘धागो र सपना’ संस्थाको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको हो।

समुदायकालागि चिकित्सक संस्थाका अध्यक्ष डिल्ली हरिजनले रक्तदान तथा स्वास्थ्य शिविरमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानव सेवा र स्वास्थ्य सचेतनाको सन्देश बोकेको भन्दै सहभागीहरूले समेत यस्ता अभियानलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

Share Post on Social media