साउथ स्टार प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा, पल शाहका बुवाको भूमिकामा देखिँदै

काठमाडौं, जेठ ३१ – तेलुगु, हिन्दी र तमिल भाषाका चर्चित अभिनेता प्रदीप रावत अब नेपाली फिल्ममा पनि अभिनय गर्दैछन्। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुँदै गरेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा उनी पल शाहका बुवाको भूमिकामा अनुबन्ध भएका हुन्।

निर्देशक पन्तले रावतको अनुबन्धनबारे जानकारी दिँदै भने, ‘यो फिल्म नितान्त नेपाली लोक र परिवेशमा आधारित छ। प्रदीपजीले नेपाली शैलीमै पल शाहका बाबुको भूमिका निर्वाह गर्नुहुनेछ।’
यसअघि रावतले निर्देशक पन्तकै फिल्म ‘ह्रस्व दीर्घ’ मा नीता ढुंगानाकी बुवाको भूमिकामा अभिनय गरेका थिए, जुन क्यारेक्टर दर्शकले मन पराएका थिए। यही सफल सहकार्यलाई निरन्तरता दिँदै उनी अब ‘आ बाट आमा’ मा देखिन लागेका हुन्।
फिल्ममा प्रदीप रावतसँगै अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि अनुबन्ध भइसकेका छन्। विपना थापाले ‘ह्रस्व दीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् र अब निर्देशक पन्तकै दोस्रो फिल्ममा पुनः सहकार्य गर्दैछिन्।
अभिमन्यू निरवीले लेखेको स्क्रिप्टमा आधारित यो फिल्म भदौदेखि फ्लोरमा जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिक टिमको टुंगो पनि चाँडै लाग्ने निर्देशक पन्तको भनाइ छ।
फिल्मको थिम पोस्टर दुई साता अघि सार्वजनिक भइसकेको छ भने निर्माण टिमले फागुन १५ गतेलाई प्रदर्शन मितिको रूपमा घोषणा गरिसकेको छ।
📸 तस्बिर: सुरेन्द्र थापा
आफ्नो प्रतिक्रिया दिनुहोस्