विश्व रक्तदाता दिवसको अवसरमा चावहिलमा बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने

काठमाडौं, जेठ २९ – विश्व रक्तदाता दिवसको पावन अवसरमा ‘समुदायकालागि चिकित्सक संस्था’को आयोजनामा यही जेठ ३१ गते शनिबारका दिन चावहिल चोकमा बृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित यस शिविरमा रक्तदानसँगै उच्च रक्तचाप तथा सुगर परीक्षणजस्ता निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गराइने आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं महानगरपालिका–७, गौरीघाट चावहिलद्वारा कार्यक्रम समन्वय गरिएको हो।

कार्यक्रममा गौरीघाट सुधार समितिको सह–आयोजनामा जिल्ला प्रहरी परिसर काठमाडौं, सामुदायिक सेवा केन्द्र गौरीघाट, मेट्रो ब्लड बैंक, काठमाडौं महानगरपालिका वडा नं. ७ लगायतका निकायको सहयोग रहनेछ। साथै ट्राफिक प्रहरी विभाग, अदृश्य सञ्चार र ‘धागो र सपना’ संस्थाको सहकार्य पनि रहनेछ।

“नियमित रूपमा रक्त र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं” भन्ने सन्देशलाई साथ दिँदै आयोजना गरिएको यो शिविरले सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

स्वास्थ्य चासो लिने सबैलाई उक्त कार्यक्रममा सहभागी भई रक्तदान र स्वास्थ्य परीक्षणमार्फत मानव सेवा गर्न आयोजक संस्थाले आग्रह गरेको छ।

Share Post on Social media