२०८२ मंसिर २७, शनिबार

‘The Blue Light’ को शुभ मुहूर्त सम्पन्न,

काठमाडौँ, जेठ २० – नेपाली चलचित्र ‘The Blue Light’ को शुभ मुहूर्त आज बिहान काठमाडौँको कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन बलिराम चौहानले गर्ने छन्। मुहूर्त कार्यक्रममा चलचित्रमा संलग्न कलाकार, प्राविधिक टोली तथा मिडिया प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ ,आयुषमान देशराज श्रेष्ठ जोशी ,सुरक्षा इटानी लगायतका कलाकारहरूको अभिनय रहनेछ।

निर्देशक चौहानका अनुसार ‘The Blue Light’ एक सामाजिक र मनोवैज्ञानिक पृष्ठभूमिमा आधारित सशक्त कथासहितको चलचित्र हो, जसले दर्शकलाई भावनात्मक र बौद्धिक रूपमा छुने अपेक्षा गरिएको छ।

मुहूर्त समारोहमा कलाकारहरूले चलचित्रप्रति विश्वास व्यक्त गर्दै दर्शकको साथको अपेक्षा गरे। निर्माण टिमले छायांकन चाँडै सुरु हुने जानकारी दिएको छ।

मिडिया समन्वय:
कार्यक्रम व्यवस्थापन तथा सञ्चार समन्वयको जिम्मेवारी आयुप पौडेलले सम्हालेका थिए।

🎬 पल शाह अनुबन्धित ‘आ बाट आमा’ : विपनापछि दोस्रो स्टार कास्ट सार्वजनिक

काठमाडौँ:- जेठ २०,लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘आ बाट आमा’ मा पल शाह मुख्य भूमिकामा अनुबन्ध भएका छन्। विपना थापापछि सार्वजनिक भएको दोस्रो प्रमुख कलाकारको नाम पल शाहले फिल्मप्रेमीहरूमा उत्सुकता थपेको छ।

पल शाहले स्क्रिप्ट पढेपछि भावुक अनुभव गर्दै फिल्ममा काम गर्न राजी भएको बताएका छन्। उनका अनुसार, “सबैभन्दा पहिले त स्क्रिप्ट एकदमै मन पर्‍यो। निकै इमोसनल थियो। चन्द्र पन्त दाइको ‘ह्रस्व दीर्घ’ हेर्दा उहाँको मेकिङ राम्रो लागेको थियो, त्यसैले यो फिल्म पनि उत्कृष्ट बन्नेमा विश्वस्त छु।”

पलले फिल्ममा आफूले निर्वाह गर्ने भूमिकाबारे भने हाल खुलाउन चाहेका छैनन्। उनले स्क्रिप्ट २–३ पटक सुनिएको र हरेकचोटि आफू सहित उपस्थित सबै भावुक भएको बताए।

यसअघि सार्वजनिक गरिएको थिम पोष्टरमा “आमाको आँखाबाट झर्ने आँसुलाई बच्चाको हातले थाम्ने प्रयास” देखाइएको छ, जसले फिल्मको भावनात्मक गहिराइ झल्काउँछ।

निर्देशक चन्द्र पन्तले यस फिल्ममार्फत आमा र सन्तानबीचको सम्बन्धको संवेदनशील पक्षलाई उजागर गरिने बताएका छन्। पन्तको निर्देशनमा यसअघि आएको ‘ह्रस्वदीर्घ’ दर्शकले निकै मन पराएका थिए, जसपछि यो दोस्रो फिल्म हो जहाँ उनले विपना थापा र अहिले पल शाहसँग सहकार्य गर्दैछन्।

अभिमन्यू निरवीद्वारा लेखिएको स्क्रिप्टमा आधारित यो फिल्म फाल्गुन १५, २०८१ गते प्रदर्शनमा आउने तय भएको छ।

निर्माण पक्षले अन्य कलाकार र प्राविधिकहरूको नाम चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।

सलोन बस्नेत र करिश्मा केसी एकैसाथ म्युजिक भिडियोमा, ‘फिक्का फिक्का’ सार्वजनिक

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेत पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिएका छन्। उनीहरूले गायिका समीक्षा अधिकारी र गायक आमेश भण्डारीको स्वर रहेको गीत ‘फिक्का फिक्का’ मा एकसाथ अभिनय गरेका हुन्। प्रेमभावमा आधारित यो गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

भिडियोमा सलोन र करिश्माको जोडी निकै आकर्षक देखिएको छ। प्रेमिल भाव बोकेको गीतको शब्द र संगीत आमेश भण्डारीले तयार पारेका हुन् भने संगीत संयोजन विश्व अधिकारीले गरेका छन्। गीतको शब्द सुन्दा आमेशले विशेषगरी सलोन र करिश्मालाई ध्यानमा राखेर लेखेको आभास हुन्छ।

यसअघि आमेशले सलोनको डेब्यु प्रोडक्सन फिल्म ‘रंगी’ मा स्वर दिएका थिए। तर ‘फिक्का फिक्का’ गीतमा भने उनले संगीत, शब्द र गायनमा समेत समर्पित भई नयाँ प्रस्तुति दिएका छन्। गायिका समीक्षा अधिकारीको मीठो स्वरले गीतलाई झनै सशक्त बनाएको छ।

भिडियोको कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन ख्यातिप्राप्त कोरियोग्राफर तथा निर्देशक कविराज गहतराजले गरेका छन्। सौरभ लामाको टिमले खिचेको भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्।

भिडियो गायिका समीक्षा अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।