२०८२ मंसिर २५, बिहिबार

‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक, केदार घिमिरेको शीर्ष भूमिकामा डेब्यु

काठमाडौ :-ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ लाई केन्द्रमा राखिएको छ। हास्यकलाकारको पहिचान बनाएका घिमिरे यस चलचित्रमार्फत् पहिलोपटक शीर्ष भूमिकामा देखिएका हुन्। ट्रेलरले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक यथार्थलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

ट्रेलरमार्फत् एक सामान्य गाउँले युवकको धनी बन्ने सपना, त्यसको संघर्ष, र व्यावसायिक लोभका बीचको द्वन्द्व देखाइएको छ। केदारसँगै चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, मिस पबी, र गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली को समेत विशेष भूमिकामा अभिनय रहेको छ। अभिनेत्री वलीलाई चलचित्रमा न्यायाधीशको भूमिकामा देख्न सकिन्छ।

चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष उपस्थितिको संकेत ट्रेलरमै दिइएको छ। सिनेमाको कथा, पटकथा र संवाद सामीप्य राज तिमल्सेनाले लेखेका हुन् भने दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ। छायांकन नरेन्द्र मैनालीले गरेका हुन्।

‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट देशभर रिलिज हुने तयारीमा छ।
चलचित्रले ‘बिना मिहिनेत पैसा कमाउन खोज्दा कस्तो परिणाम आउन सक्छ’ भन्ने यथार्थलाई हास्यव्यङ्ग्य शैलीमा उजागर गर्ने लक्ष्य राखेको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन्।
चलचित्रको वितरण अधिकार RR Films ले लिएको छ।

काठमाडौं — नीता ढुङ्गाना निर्देशित फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन्। निर्माण टिमले बुधबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका थिए, र ‘सुख दुःख’ उनीहरूको दोस्रो सहकार्य बन्न लागेको हो।

विपनाले फिल्म ‘सुख दुःख’ मा जोडिन पाउँदा आफू निकै खुसी भएको बताइन्। कथाले मन छोएको उल्लेख गर्दै उनले नीताको निर्देशनमा काम गर्न पाउनु आफैँमा प्रेरणादायी अनुभव हुने विश्वास व्यक्त गरिन्।

यता, निर्देशक नीताले पनि विपनालाई आफ्नो फिल्ममा अनुबन्ध गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन्। उनका अनुसार फिल्ममा विपनाको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ।

यसअघि नै नीताले फिल्मका लागि वरिष्ठ अभिनेत्री मिथिला शर्मा र कलाकार मदनकृष्ण श्रेष्ठलाई अनुबन्ध गरिसकेकी छन्। बाँकी कलाकार तथा प्राविधिक टिमको जानकारी क्रमशः सार्वजनिक गर्दै जाने योजना निर्देशक अधिकारीको रहेको छ।

‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म ‘सुख दुःख’ आगामी फागुनदेखि छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मको छायांकन चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले गर्नेछन्। निर्माण टिमले फिल्मलाई आउँदो वर्षको दसैंमा, विशेष गरी फूलपातीको अवसरमा सार्वजनिक प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले र उपत्यकाबाहिर एफडी कम्पनीले लिएको जनाइएको छ।

‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुला, QFX मा ३१ शो, देशभर १५० शोको अपेक्षा

काठमाडौं, साउन २१ – आगामी शुक्रबार, साउन २३ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। राजधानीसहित देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा बुकिङ खुल्ने चरणमा छ।

सिनेमाले प्रचार सामाग्रीबाट दर्शक माझ सिर्जना गरेको सकारात्मक हाइपका कारण मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले ‘सिटामोल’लाई राम्रो शो दिएका छन्। अग्रीम बुकिङमार्फत दर्शकको चासो देखिएपछि शो थपिँदै जाने निर्माण पक्षको अपेक्षा छ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन QFX सिनेमाजले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो दिँदै देशभरका आउटलेटमा ३१ शो समावेश गरेको छ। यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना चार आउटलेटमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो र कीर्तिपुर सिनेप्लेक्सले २ शो दिइसकेका छन्।

रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायत काठमाडौंका अन्य हलहरू तथा मोफसलका विभिन्न सहरका हलमा पनि बुकिङ खुल्ने क्रममा रहेको छ। यही आधारमा निर्माण टिमले सिनेमा शुक्रबारसम्म १५० भन्दा बढी शोमा प्रदर्शन हुने विश्वास व्यक्त गरेको छ।

स्टारकास्ट र निर्माण पक्ष

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। यसै फिल्मबाट श्रीकृष्ण र जानुकाले डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमामा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता रहेका छन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमा प्रदीप भारद्धाज र निर्देशक सानेद्वारा लिखित कथामा आधारित छ। कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी, सह-निर्मातामा गंगाराम श्रेष्ठ छन्।

प्राविधिक पक्ष

संगीत : बाबुल गिरी

कोरियोग्राफी : कविराज गहतराज

सम्पादन : बन्दे प्रसाद

DI कलर : राजेन्द्र मोक्तान

साउन्ड डिजाइन : मुकेश शाह

द्धन्द्व निर्देशन : देव महर्जन र शंकर महर्जन

पोस्टर डिजाइन : राकेश दाहाल

प्रोडक्सन म्यानेजर : विकास तामाङ र धनबहादुर राई

छायांकन : दिव्य सुवेदी

‘सिटामोल’ले सार्वजनिक पोस्टर, गीत, टिजर र ट्रेलरबाट दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ। यही कारणले गर्दा बक्स अफिसमा राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको हो।

‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक, मौलिकताले भरिएको भावुक प्रस्तुति

काठमाडौं, साउन २० – आगामी शुक्रबार अर्थात् साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली सिनेमा ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। प्रचार-प्रसारमा आक्रामक शैली अपनाइरहेको निर्माण टिमले सिनेमाको भावनात्मक पक्ष उजागर गर्ने लक्ष्यसहित यस गीतलाई सार्वजनिक गरेको हो।

गीतमा अञ्जना खतिवडा र रवि ओडको सुमधुर स्वर सुन्न सकिन्छ भने बाबुल गिरीले गीतको शब्द, संगीत तथा एरेञ्ज गरेका छन्। नेपाली मौलिकता झल्काउने लय र भावले सजिएको यस गीतलाई दर्शकले सामाजिक सन्देश र भावुकताको संयोजनका रूपमा लिएको प्रतिक्रिया दिइरहेका छन्।

यसअघि सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले समेत राम्रो चर्चा पाएको थियो। ट्रेलरमा नेपाली समाजमा व्याप्त गरिबी, बेरोजगारी, पारिवारिक तनाव, तथा सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा चित्रण गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ।

राज बहादुर साने निर्देशित ‘सिटामोल’ मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै फिल्मबाट नेपाली सिने जगतमा डेब्यु गरेका हुन्।

सिनेमा तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको हो। कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन् भने प्रस्तुति सिमोस सुनुवारको रहेको छ।

फिल्मका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी, कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी, तथा सह-निर्माता गंगाराम श्रेष्ठ रहेका छन्।

प्राविधिक पक्षमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, तथा छायांकन दिव्य सुवेदीले गरेका छन्।

नयाँ नेपाली सेलो गीत ‘च्याङ्बाको बोली सारे मिठो’ सार्वजनिक

काठमाडौं – नेपाली मौलिकता र तामाङ सांगीतिक स्वाद बोकेको नयाँ सेलो गीत ‘च्याङ्बाको बोली सारे मिठो’ सार्वजनिक गरिएको छ। सुनिता कार्कीको प्रस्तुति रहेको यो गीतमा जीवन बम्जन तामाङ र सुनिता कार्कीले स्वर दिएका छन्।

गीतको शब्द पनि गायिका सुनिता कार्कीले नै लेखेकी हुन्। संगीत र एरेन्जमेन्ट बिक्कल खड्काले गरेका छन् भने मिक्सिङ र मास्टरिङ दीप घटानीले गरेका छन्।

सागर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुस्मिता कट्वाल, अस्मिता कार्की र प्रभात लामा सहयोगी कलाकारको रूपमा सहभागी छन्।

सार्वजनिक भएको केही घण्टामै गीतले दर्शक तथा श्रोताको ध्यान तानेको छ। लोकपप धारमा तयार पारिएको यो गीतलाई २०८२ सालको नयाँ सिर्जनाको रूपमा प्रस्तुत गरिएको छ।

गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। निर्माताहरूले गीतले मौलिक नेपाली भाकालाई पुनः लोकप्रिय बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ निर्माण हुँदै, धिरज र उपासना पुनः एकसाथ

काठमाडौं, साउन १९ – ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर अब नयाँ सिनेमा ‘जलाकी’ लिएर आउँदैछन् । गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको ‘खुस्मा’ले सकारात्मक प्रतिक्रिया पाएपछि उनी नयाँ सिर्जनामा जुटेका हुन्।

‘जलाकी’को छायांकनको पहिलो चरण गत चैत्रमा सम्पन्न भइसकेको छ भने असोज २१ गतेबाट दोस्रो चरणको छायांकन सुरु हुने तयारीमा निर्माण टिम व्यस्त रहेको जानकारी दिएको छ।

धिरज मगर र उपासना सिंह ठकुरी पुनः स्क्रिन शेयर गर्दैछन् । ‘खुस्मा’बाट अभिनयको चर्चा कमाएकी उपासनाले यो वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन्। अब उनी ‘जलाकी’मा पनि मुख्य भूमिकामा रहनेछिन्।

सोमबार सार्वजनिक गरिएको दुई पोस्टरमा धिरज र उपासनालाई प्रस्तुत गरिएको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।

नयाँ अनुहारको रूपमा मिस सिक्किम साहारा हाङमा लिम्बुले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जलाकी’मा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खबपु (खड्क बहादुर पुन) लगायत कलाकारको अभिनय रहनेछ। अन्य केही पात्रहरुको चयन प्रक्रिया जारी रहेको निर्माण टिमको भनाइ छ।

‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतीक ढुङगाबाट बनाइने स्मृति स्तम्भलाई जनाउँछ, जुन मायाको प्रतीकको रूपमा मानिन्छ। सिनेमाको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा समेत गरिनेछ।

मगर र गुरुङ समुदायको संस्कृति झल्काउने सिनेमाको निर्माण एम मिडिया प्रालिको ब्यानरमा भइरहेको हो। सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बबिता राना (बेताने मगर), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।

शैलेन्द्र डी कार्कीले छायांकनको जिम्मा सम्हाल्नेछन् भने राजु रेग्मी मगर लाइन प्रोड्युसर, महेश बराल मुख्य सहायक निर्देशक रहनेछन्। संगीतमा एसडी योगी र सरित राई, गीतमा सुरेन्द्र राना र राम अविरल विष्टको योगदान रहनेछ।

याद रहोस्, निर्देशक अशोक थापामगरको डेब्यु निर्देशन ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’ युट्युबमा ५ महिनामा १० करोडभन्दा बढी भ्युज बटुल्ने पहिलो नेपाली गीत बन्न सफल भएको थियो।

© अदृश्य संचार | सम्पादन

‘आँखा’ले अन्तर्राष्ट्रिय फेस्टिभलमा सफलता कमायो, सिओल वेबफेस्ट २०२५ मा सम्मानित

काठमाडौं, साउन १७ – नेपाली फिल्म ‘आँखा – क्रलिङ क्रोज’ ले दक्षिण कोरियामा सम्पन्न ११औं सिओल इन्टरनेशनल वेबफेस्ट २०२५ मा अवार्ड जित्दै अन्तर्राष्ट्रिय सफलता थपेको छ।

निर्देशक जोन योन्जन द्वारा निर्देशित यस फिल्मले हालै इटालीको २९औं इन्टरनेशनल पुलिस आर्ट्स अवार्ड फिल्म फेस्टिभलमा पनि दुई प्रमुख विधामा – ड्रामा र अभिनेत्री को अवार्ड हात पारिसकेको थियो।

अभिनेत्री स्मिता लमिछानेले फिल्ममा दिएको दमदार अभिनयका लागि श्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन्। गत वर्ष नेपालमा प्रदर्शन भएको बेला पनि उनको अभिनय निकै प्रशंसित भएको थियो। तर, प्राकृतिक प्रकोपका कारण फिल्मले नेपाली हलमा लामो समय चल्न नपाएको निर्माता पक्षले जनाएको छ।

‘आँखा’मा विजय बराल, स्मिता लामिछाने निशा अधिकारी, बुद्धि तामाङ, आर.के. मेहता, र पशुपति राईलगायत कलाकारको समेत अभिनय रहेको छ। सामाजिक यथार्थ, मानव मनोविज्ञान र भावनात्मक गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै समीक्षकहरूले फिल्मको निकै प्रशंसा गरेका छन्।

निर्देशक योन्जनले भने, “यो अवार्ड केवल हाम्रो टोलीको मात्र होइन, नेपाली फिल्म उद्योगमा काम गरिरहेका सम्पूर्ण सर्जकहरूको सम्मान हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा र सिर्जनाको मान्यता पाउनु गर्वको कुरा हो।”

यसअघि फिल्मले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि फिचर फिल्म, पटकथा, र अभिनेताको अवार्ड जितिसकेको छ। साथै, भारतको नवादा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि उत्कृष्ट फिल्म र पुरुष निर्देशकको उपाधि पाइसकेको छ।

नायिका बेनिशा हमाल ‘डोम हाउस’ र ‘नेल आर्ट मेशिन’को ब्रान्ड एम्बेसडरमा अनुबन्धित

काठमाडौं — नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका बेनिशा हमाल ‘डोम हाउस’ तथा ‘नेल आर्ट मेशिन’ ब्रान्डका लागि ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित भएकी छिन्। सौन्दर्य, स्टाइल र विश्वसनीयताको प्रतिक बनेकी हमाल अब यी ब्रान्डहरूसँगको सहकार्यमार्फत आफ्नो प्रभाव विस्तार गर्दैछिन्।

उक्त प्रोजेक्टमा व्यवसायिक साझेदार मिस्टर वोन र इन्जिनियर मिस्टर जेसन समेत संलग्न छन्। प्रविधिमा विशेष दख्खल राख्ने खगेन्द्र श्रेष्ठ, जो टेक्निकल तथा मार्केटिङ विभागका प्रमुख (Head of Technical and Marketing Department) हुन्, यस परियोजनाको समन्वय तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

बेनिशा हमालको ब्रान्ड एम्बेसडरको रुपमा सहभागिता ब्रान्डको व्यापक सन्देश प्रसारणमा सहयोगी हुने विश्वास गरिएको छ।

६ वर्षपछि निर्देशनमा फर्किए मुस्कान ढकाल, ‘रत्यौली’ बाट पारिवारिक–सांस्कृतिक कथामा जोड

काठमाडौं, श्रावण १६ – चर्चित निर्देशक मुस्कान ढकाल झण्डै ६ वर्षपछि निर्देशनमा फर्किन लागेका छन्। उनले नयाँ फिल्म ‘रत्यौली’ को निर्देशन गर्दै नेपाली संस्कार, परम्परा र परिवारिक भावनालाई उजागर गर्ने तयारी गरेका हुन्।

‘नाइ नभन्नु ल ३’ र ‘समर लभ’ निर्देशन गरेका ढकालले सन् २०१९ यता निर्देशनबाट विश्राम लिएका थिए। अब भने उनले सांस्कृतिक कथावस्तुमा आधारित फिल्ममार्फत पुनः निर्देशनमा कमब्याक गर्न लागेका हुन्।

‘रत्यौली’ नेपाली विवाह संस्कारसँग जोडिएको परम्परागत लोकगान हो। निर्देशक ढकालले फिल्मको शीर्षकमै नेपालीपन झल्किने ‘रत्यौली’ समेटिएको बताए। “सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म अबको आवश्यकता हो भन्ने लागेर यो विषय रोजिएको हो,” ढकालले भने, “दर्शकको मन छुने कथा र व्यवसायिक सम्भावना दुबैलाई समेटेर अघि बढ्ने लक्ष्य छ।”

फिल्मका निर्माता तथा प्रस्तुतकर्ता रञ्जन रञ्जन रिजाल हुन्, जो पूर्व मोडल तथा सयौं म्युजिक भिडियोका चर्चित अनुहार हुन्। ‘रत्यौली’ रिजालको चलचित्र निर्माणतर्फको पहिलो पाइला हो।

फिल्म नाइट एंगल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ, जसमा नोयन्द्र धिताल, विजयकुमार पाठक र निर्देशक ढकाल स्वयंको समेत लगानी रहनेछ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ भने अहिले कलाकार चयन र लोकेसन फाइनल गर्ने काम भइरहेको छ।