निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ निर्माण हुँदै, धिरज र उपासना पुनः एकसाथ
काठमाडौं, साउन १९ – ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर अब नयाँ सिनेमा ‘जलाकी’ लिएर आउँदैछन् । गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको ‘खुस्मा’ले सकारात्मक प्रतिक्रिया पाएपछि उनी नयाँ सिर्जनामा जुटेका हुन्।

‘जलाकी’को छायांकनको पहिलो चरण गत चैत्रमा सम्पन्न भइसकेको छ भने असोज २१ गतेबाट दोस्रो चरणको छायांकन सुरु हुने तयारीमा निर्माण टिम व्यस्त रहेको जानकारी दिएको छ।
धिरज मगर र उपासना सिंह ठकुरी पुनः स्क्रिन शेयर गर्दैछन् । ‘खुस्मा’बाट अभिनयको चर्चा कमाएकी उपासनाले यो वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन्। अब उनी ‘जलाकी’मा पनि मुख्य भूमिकामा रहनेछिन्।
सोमबार सार्वजनिक गरिएको दुई पोस्टरमा धिरज र उपासनालाई प्रस्तुत गरिएको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।
नयाँ अनुहारको रूपमा मिस सिक्किम साहारा हाङमा लिम्बुले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित ‘जलाकी’मा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खबपु (खड्क बहादुर पुन) लगायत कलाकारको अभिनय रहनेछ। अन्य केही पात्रहरुको चयन प्रक्रिया जारी रहेको निर्माण टिमको भनाइ छ।
‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतीक ढुङगाबाट बनाइने स्मृति स्तम्भलाई जनाउँछ, जुन मायाको प्रतीकको रूपमा मानिन्छ। सिनेमाको छायांकन रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियामा समेत गरिनेछ।
मगर र गुरुङ समुदायको संस्कृति झल्काउने सिनेमाको निर्माण एम मिडिया प्रालिको ब्यानरमा भइरहेको हो। सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बबिता राना (बेताने मगर), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
शैलेन्द्र डी कार्कीले छायांकनको जिम्मा सम्हाल्नेछन् भने राजु रेग्मी मगर लाइन प्रोड्युसर, महेश बराल मुख्य सहायक निर्देशक रहनेछन्। संगीतमा एसडी योगी र सरित राई, गीतमा सुरेन्द्र राना र राम अविरल विष्टको योगदान रहनेछ।
याद रहोस्, निर्देशक अशोक थापामगरको डेब्यु निर्देशन ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’ युट्युबमा ५ महिनामा १० करोडभन्दा बढी भ्युज बटुल्ने पहिलो नेपाली गीत बन्न सफल भएको थियो।
© अदृश्य संचार | सम्पादन

आफ्नो प्रतिक्रिया दिनुहोस्