६ वर्षपछि निर्देशनमा फर्किए मुस्कान ढकाल, ‘रत्यौली’ बाट पारिवारिक–सांस्कृतिक कथामा जोड

काठमाडौं, श्रावण १६ – चर्चित निर्देशक मुस्कान ढकाल झण्डै ६ वर्षपछि निर्देशनमा फर्किन लागेका छन्। उनले नयाँ फिल्म ‘रत्यौली’ को निर्देशन गर्दै नेपाली संस्कार, परम्परा र परिवारिक भावनालाई उजागर गर्ने तयारी गरेका हुन्।

‘नाइ नभन्नु ल ३’ र ‘समर लभ’ निर्देशन गरेका ढकालले सन् २०१९ यता निर्देशनबाट विश्राम लिएका थिए। अब भने उनले सांस्कृतिक कथावस्तुमा आधारित फिल्ममार्फत पुनः निर्देशनमा कमब्याक गर्न लागेका हुन्।

‘रत्यौली’ नेपाली विवाह संस्कारसँग जोडिएको परम्परागत लोकगान हो। निर्देशक ढकालले फिल्मको शीर्षकमै नेपालीपन झल्किने ‘रत्यौली’ समेटिएको बताए। “सांस्कृतिक र पारिवारिक कथामा आधारित फिल्म अबको आवश्यकता हो भन्ने लागेर यो विषय रोजिएको हो,” ढकालले भने, “दर्शकको मन छुने कथा र व्यवसायिक सम्भावना दुबैलाई समेटेर अघि बढ्ने लक्ष्य छ।”

फिल्मका निर्माता तथा प्रस्तुतकर्ता रञ्जन रञ्जन रिजाल हुन्, जो पूर्व मोडल तथा सयौं म्युजिक भिडियोका चर्चित अनुहार हुन्। ‘रत्यौली’ रिजालको चलचित्र निर्माणतर्फको पहिलो पाइला हो।

फिल्म नाइट एंगल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ, जसमा नोयन्द्र धिताल, विजयकुमार पाठक र निर्देशक ढकाल स्वयंको समेत लगानी रहनेछ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ भने अहिले कलाकार चयन र लोकेसन फाइनल गर्ने काम भइरहेको छ।

Share Post on Social media