२०८२ मंसिर २७, शनिबार

‘मायाका मिठा कुरा’ सार्वजनिक: आकाश आचार्यको र मिसेल घिमिरेको अभिनय

काठमाडौं, २५ असार २०८१ –
नेपाली संगीत क्षेत्रमा सक्रिय ‘घामकिरी फिल्म्स’ले नयाँ प्रेमिल गीत ‘मायाका मिठा कुरा’ सार्वजनिक गरेको छ। चर्चित गायिका अस्मिता अधिकारी र गायक आकाश आचार्यको युगल स्वरमा सजिएको यो गीत मंगलबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा मधुसूदन घिमिरेको शब्द, उज्ज्वल सागरको संगीत तथा बिश्व अधिकारीको संगीत संयोजन र मास्टरिङ रहेको छ। नेपाली भावनालाई प्रतिनिधित्व गर्ने गरी तयार गरिएको यस गीतमा हेमन्त कञ्चा रसाइलीको सारंगीले नेपालीपन थपिएको छ।

भिडियो पक्षमा पनि उत्तिकै आकर्षक देखिएको छ।
गीतको निर्देशन र कोरियोग्राफी निर्मल पौडेलले गरेका छन् भने अभिनयमा आकाश आचार्य र मिसेल घिमिरेको केमेस्ट्री दर्शकको ध्यान खिच्न सफल देखिन्छ।

भिडियो छायांकन विवेक खड्काले गरेका हुन् भने सम्पादन तथा कलर भीम विश्वकर्माले गरेका छन्। मेकअप आर्टिस्ट श्रृष्टि थापा मगर, ड्रोन अपरेटर सुसिल डाँगी, तथा पोस्ट प्रोडक्सनको सम्पूर्ण जिम्मेवारी घामकिरी फिल्म्सले सम्हालेको छ।

गीत अहिले Ghamkiri Films को अफिसियल युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

© अदृश्य सञ्चार

‘चोर हो तिमी’ भन्दै आइन् एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानको सशक्त स्वरमा नयाँ गीत ‘चोर हो तिमी’ सार्वजनिक भएको छ। प्रेम, धोका र पारिवारिक संवेदनाको भाव बोकेको यस गीतमा हरि थापाले शब्द र संगीत तयार पारेका हुन्।

गीतको भिडियोमा पुष्कर राउत, श्रृष्टि खड्का र बिना राउतको अभिनय देख्न सकिन्छ। निर्देशक सुरेश पाण्डेले गीतको भावअनुसार नै दृश्य संयोजन गर्दै कथा बुनाइ गरेका छन्। प्रेममा भएको विश्वासघात र त्यसबाट उत्पन्न हुने पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

भिडियोमा बाल कलाकार युवन तिवारीको समेत विशेष उपस्थिति रहेको छ, जसले कथालाई थप भावुक बनाएको छ। देव जोरीले छायांकन गरेका यस भिडियोमा देव महर्जनको द्वन्द निर्देशन छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन्। भिडियोको निर्माण मिरन कुमार पोखरेलले गरेका हुन्।

गीतले सामाजिक सन्देश बोकेको हुनुका साथै दर्शकमा भावनात्मक प्रभाव पनि पार्ने अपेक्षा गरिएको छ। एलिना चौहानको स्वरमा आएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ।

३५ लाख नगद पुरस्कार र फिल्ममा अवसर सहित ‘एक्टिङ स्टार’ निर्णायक मोडमा

काठमाडौं।
देशभरका अभिनयप्रेमी युवाबीच लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरूलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ। शोको मुख्य आकर्षणका रूपमा ३५ लाख रुपैयाँ नगदसहित नेपाली चलचित्रमा अभिनय गर्ने अवसर रहनेछ।

नेपालका हिमाली, पहाडी, तराई क्षेत्र मात्र होइन, सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई र दुबई सम्मका स्थानहरूबाट हजारभन्दा बढी प्रतिस्पर्धीहरू अडिसनमा सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका २० जना प्रतिस्पर्धीहरू फाइनल चरणमा प्रवेश गरेका छन्।

प्रतियोगितामा जजहरू नीर शाह, अनुप बराल र ऋचा शर्मा द्वारा टप २० प्रतिस्पर्धी चयन गरिएको हो। अब उत्कृष्ट १५ को छनोट दर्शकहरूको भोटिङमार्फत हुने भएकोले शोमा अझ रोमाञ्च थपिएको छ।

यसरी दिन सकिन्छ भोट

नेपालभित्रका दर्शकहरूले OSR Connect एप डाउनलोड गरी ‘Acting Star’ मा क्लिक गरेर मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन्।
विदेशमा रहेका दर्शकहरूले भने CineGhar App मार्फत भोटिङ गर्न सक्नेछन्।

विजेताका लागि आकर्षक पुरस्कार

विजेता: नगद रु. २० लाख + नेपाली फिल्ममा अभिनय अवसर

फस्ट रनरअप: नगद रु. १० लाख

सेकेन्ड रनरअप: नगद रु. ५ लाख

यस कार्यक्रमको आयोजना महक मिडिया नेटवर्क ले गरेको हो। अब पहिलो ‘एक्टिङ स्टार’ को उपाधि कसले जित्छ भन्ने निर्णय दर्शककै हातमा छ।

अमेरिकाको २० भन्दा बढी सहरमा ‘सोलफुल यु.एस.ए यात्रा’ गर्दै महेश र अस्मिता 

गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । 

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको  थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए । 

यता महेश र अस्मिताले पनि आफुहरु यो साङ्गीतिक टुरको लागी निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै  खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।  

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्री.ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक, केदार घिमिरे र वर्षा सिवाकोटीको धमाकेदार प्रस्तुति

चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको नेपाली सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ।

मंगलबार सार्वजनिक गरिएको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द-संगीत, रचना रिमाल र सविन सुवेदीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने केदार र वर्षाको जोडीलाई भिडियोमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् भने छायांकन नरेन्द्र मैनालीले गरेका हुन्। गीतको भिडियो आकर्षक बनेको छ, जसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किएका छन्। उनका अनुसार ‘माग्ने राजा’ले अहिलेको युवापुस्ताको सामाजिक अवस्थालाई चित्रण गर्नेछ, जसमा आफूलाई नै ‘राजा’ ठान्ने प्रवृत्ति प्रस्तुत गरिनेछ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता मधुसुदन शर्मा हुन् भने प्रस्तुतकर्ता तथा सहनिर्माता मुनाल घिमिरे हुन्, जो दाङको घोराही उपमहानगरपालिका–४ का वर्तमान वडाध्यक्ष समेत हुन्।

सिनेमामा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मोडल मिस पबी (पवित्रा साकी) को अभिनय छ। विशेष भूमिकामा अभिनेता आर्यन सिग्देल पनि देखिने छन्।

सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाले तयार पारेका हुन् भने संगीत दीपक शर्मा र बाबुल गिरीले दिएका छन्। सिनेमालाई RR Filmsले वितरण गर्नेछ।

सनिशा भट्टराई ‘सकम्बरी’को भूमिकामा, ‘शिरीषको फूल’ मार्फत रंगमञ्चमा डेब्यु

काठमाडौं – अभिनेत्री सनिशा भट्टराई अब रंगमञ्चमा पनि आफ्नो अभिनय यात्रा सुरु गर्न लागेकी छिन्। चलचित्र ‘बाह्रगाउँ’ र ‘नरसिंह अवतार’ मा अभिनय गरेर दर्शकको ध्यान खिचिसकेकी सनिशा अब कान्तिपुर फिल्म एकेडेमी द्वारा निर्माण हुन लागेको नाटक ‘शिरीषको फूल’ मा मुख्य पात्र ‘सकम्बरी’ को भूमिकामा देखिँदैछिन्।

साहित्यकार परिजात द्वारा लिखित उपन्यास ‘शिरीषको फूल’ मा आधारित यस नाटकको निर्देशन तथा मञ्चनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ। पात्रको गहिरो भावभूमिमा प्रवेश गर्न आवश्यक अनुसन्धान, अभ्यास र समर्पणमा अभिनेत्री भट्टराई सक्रिय रहेको टोलीले जनाएको छ।

यस नाटकमार्फत् उनी पहिलोपटक रंगमञ्चमा देखा पर्दैछिन्, जुन कुरा आफैंमा दर्शकका लागि रोमाञ्चक र प्रतीक्षायोग्य बन्न पुगेको छ। उनी रंगमञ्चमा अभिनेता जीवन लुइँटेल (सुयोगवीर) सँग मञ्च साझा गर्दैछिन्।

कान्तिपुर थिएटर टिमले एक औपचारिक वक्तव्य जारी गर्दै भनेको छ, “चरित्रको बुझाइ र तयारीप्रति उनले देखाएको उत्सुकता र तत्परताको उच्च मूल्याङ्कन गर्दै हामी सनिशा भट्टराईलाई ‘सकम्बरी’को भूमिकामा स्वागत गर्दछौं।”

‘शिरीषको फूल’ नाटक साहित्य, सम्वेदना र सामाजिक सन्देशले भरिपूर्ण छ। त्यसमा सकम्बरीको भूमिका गहन मनोवैज्ञानिक तहसम्म पुग्ने संवेदनशील पात्र हो, जसलाई न्याय दिन सक्षम कलाकारको खोजी थिए। टिमले विश्वास लिएको छ कि सनिशाले उक्त भूमिका प्रभावशाली रुपमा प्रस्तुत गर्नेछिन्।

नाटक मञ्चन मिति र स्थान चाँडै सार्वजनिक गरिने जानकारी आयोजक पक्षले दिएको छ।

‘सिटामोल’ले निर्माणकै चरणमै मच्यायो चर्चा, टिजर र गीतले युट्युबमा दस लाख पार दर्शक !

काठमाडौं – आगामी साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली सिनेमा ‘सिटामोल’ अहिले प्रचारको चरम चरणमा पुगेको छ। चलचित्र टिम पछिल्लो समय कमेडी नाइट विद च्याम्पियन मा सहभागी भइसकेको छ भने विभिन्न टेलिभिजन, रेडियो, अनलाइन र डिजिटल मञ्चहरूमा पुग्दै देशभरका दर्शकहरूसँग प्रत्यक्ष संवाद गरिरहेको छ।

सिनेमाका टिजर र ‘झुम्का कानैमा’ बोलको गीत युट्युबमा सार्वजनिक भएसँगै अत्यधिक चर्चा बटुल्न सफल भएका छन्। दुबै सामाग्रीले युट्युबमा १० लाखभन्दा बढी भ्यूज प्राप्त गर्दै दर्शकमाझ उच्च हाइप बनाएको देखिएको छ।

विशेषगरी टिजरमा देखिएको अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल को केमेस्ट्रीलाई दर्शकहरूले अत्यन्तै रुचाएका छन्। ‘झ्यानाकुटी’ पछि पुनः यो जोडीलाई पर्दामा देख्न पाउँदा दर्शकहरू उत्साहित देखिएका छन्।

प्रचार सामाग्रीको सफलता, अबको जिम्मेवारी दोब्बर

सिनेमाका निर्देशक राज बहादुर साने भन्छन्, “गीत र टिजरबाट दर्शकले जुन प्रतिक्रिया दिनुभयो, त्यसले अब आउन लागेका ट्रेलर र गीतलाई अझ परिस्कृत र सशक्त बनाउन चुनौती थपिएको छ।”

निर्माता भूगोल कार्की र विकासराज जोशी ले पनि दर्शकको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दै अबको प्रचार सामग्रीले अझै उच्च स्तरको प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

कथा, पात्र र सामाजिक बिम्ब

‘सिटामोल’ सिनेमा केवल मनोरञ्जनका लागि नभई नेपालको सामाजिक यथार्थ र जरो गाडेका कुसंस्कारहरू माथि चोट पुर्‍याउने प्रयासको रूपमा निर्माण गरिएको निर्देशक तथा निर्माण टिमको भनाइ छ।

चलचित्रमा सौगात र बेनिशासँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ग्यानु मल्ल, काजल भुजेल, पवन भट्टराई, करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी लगायतको सशक्त अभिनय रहनेछ।

श्री कृष्ण निरौला र जानुका विश्वकर्मा यसै चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन्।

सशक्त निर्माण टिम र प्राविधिक पक्ष

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको यो सिनेमा सिमोस सुनुवारको प्रस्तुति हो।
निर्माण टिममा भूगोल कुमार कार्की र विकासराज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता छन्। गंगाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन्।

सिनेमाको कथालेखक प्रदीप भारद्वाज र निर्देशक साने स्वयं हुन्।
संगीतकार बाबुल गिरी, कोरियोग्राफर कविराज गहतराज, सम्पादन बन्दे प्रसाद, कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइन मुकेश शाह, पोस्टर डिजाइन राकेश दाहाल, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन रहेका छन्। सिनेमाको छायांकनमा दिव्य सुवेदी छन्।

विल्सन विक्रम राईको निर्देशनमा ‘मैझारो’ निर्माण हुँदै, धीरज मगर मुख्य भूमिकामा

काठमाडौं, असार २३ — तक्मे प्रोडक्सनको ब्यानरमा नयाँ नेपाली फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता धीरज मगरलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै निर्माण पक्षले फिल्मको औपचारिक घोषणा गरेको हो।

‘तक्मे बुढा’ नामले चर्चामा रहेका विल्सन विक्रम राईले यो फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। बाल्यकालमा अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘साथी’ बाट अभिनय यात्रा सुरु गरेका राईले यसअघि दर्जनौं फिल्म तथा टेलिश्रृंखलामा अभिनय गरिसकेका छन्।

निर्देशक राईका अनुसार ‘मैझारो’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ झल्किनेछ। फिल्मको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा गरिनेछ।

प्राविधिक पक्षहरू यस्ता छन्:

निर्देशक एवं लेखक : विल्सन विक्रम राई

मुख्य अभिनेता : धीरज मगर

संगीत : अनमोल गुरुङ र तोरेम्पा हाङ राई

छायांकन : सौरभ लामा

ब्यानर : तक्मे प्रोडक्सन

शूटिङ सुरु हुने मिति : साउनको पहिलो हप्ता

निर्माण टिमका अनुसार अन्य कलाकारहरूको टुंगो चाँडै लगाइनेछ।

यसअघि ‘मेरी बास्सै’ टेलिश्रृंखलाबाट लोकप्रियता कमाएका विल्सन राईले अभिनयसँगै गायक र संगीतकारका रूपमा पनि सफलता प्राप्त गरिसकेका छन्। उनी नेतृत्वमा निर्माण हुन लागेको ‘मैझारो’ प्रति दर्शक तथा फिल्मकर्मीहरूमा उत्साह देखिएको छ।

तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू निकै चर्चित बनेका थिए। सोही पृष्ठभूमिमा निर्माण हुन लागेको यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।

नेपाल, भारत र पाकिस्तानमा एकैसाथ रिलिज हुँदै ‘कल्ली’

काठमाडौं,असार २३ :-लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘कल्ली’ आगामी फागुन १ गते नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने भएको छ। नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको यो फिल्म नेपालमा नेपाली भाषामा रिलिज हुने भए पनि भारत र पाकिस्तानमा भने हिन्दी भाषामा प्रदर्शन गरिनेछ।

निर्माता किरण नेपालीका अनुसार भारतमा फिल्म एम.के. फिल्म डिस्ट्रीब्युशन र पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्ने छन्। नेपालमा भने काफिया र कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएका छन्। यद्यपि, नेपालमा हिन्दी भर्सन रिलिज हुने छैन।

‘कल्ली’ फिल्मको फस्टलुक सार्वजनिक भएसँगै बजारमा यसको व्यापक चर्चा सुरु भइसकेको छ। अहिले फिल्मको पोष्ट प्रोडक्सनको काम तीव्र गतिमा चलिरहेको निर्माणपक्षले जानकारी दिएको छ।
लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा महेश दवाडीको लेखन रहेको छ।

कलाकारहरूको जमघट :
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय देख्न पाइनेछ।

संगीत पक्ष पनि सबल :
फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत समावेश छ।

फिल्म ‘कल्ली’ लोभको कथा बोकेको बताइएको छ। लोभले मानिसको जीवनलाई कहाँबाट कहाँ पुर्‍याउँछ भन्ने कथामा आधारित यो फिल्म दर्शकलाई जीवन दर्शनको गहिरो सन्देश दिन सफल हुने निर्माणपक्षको विश्वास छ। “फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन,” निर्माता किरण नेपालीले बताए।

नीता ढुङ्गानाको नयाँ निर्देशनमा कबीर लाल र शाहिद लालको सहकार्य

काठमाडौं — अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निर्देशित नयाँ नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल आबद्ध भएका छन्। निर्माण टिम र छायाँकारबीच आइतबार औपचारिक सम्झौता सम्पन्न भएको हो।

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा लामो अनुभव हासिल गरिसकेका कबीर लालले हिन्दी, तेलुगु, तमिल र कन्नड भाषाका ८० भन्दा बढी फिल्ममा छायांकन गरिसकेका छन्। यस्तै, शाहिद लाल मुख्यतया तेलुगु र कन्नड फिल्महरूमा व्यस्त रहँदै आएका छन्।

नीता ढुङ्गानाको दोस्रो निर्देशन रहेको ‘सुख–दुख’ मा प्राविधिक पक्षलाई प्राथमिकतामा राखिएको छ। हालसम्म कलाकारहरूको टुंगो नलागेको निर्देशक ढुङ्गानाले जानकारी दिएकी छिन्। फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेलाई दिइएको छ।

फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले लिएको छ भने उपत्यकाबाहिर एफडी कम्पनीमार्फत वितरण गरिनेछ। निर्देशक ढुङ्गानाले उपत्यकाभित्रका लागि करण श्रेष्ठ र बाहिरका लागि छविराज ओझालाई जिम्मा दिएकी छिन्।

नीता फिल्म्सको ब्यानरमा निर्माणाधीन यो चलचित्र नेपाली सांस्कृतिक भावना र कथामा नवीनता ल्याउने प्रयासस्वरूप निर्माण गरिएको निर्देशक ढुङ्गानाको भनाइ छ। फिल्म दशैंको फूलपाती लक्षित गर्दै आगामी वर्ष रिलिज गर्ने तयारीमा छ।

यसअघि उनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ह्रस्वदीर्घ’ दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको थियो।