२०८२ मंसिर २२, सोमवार

कृषाको जन्मदिनमा नयाँ फिल्म ‘पारस’ निर्माण घोषणा, पुरुषोत्तम प्रधान डिओपी

काठमाडौं । निर्देशक कृषा चौलागाइँको जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘पारस’को निर्माण घोषणा गरिएको छ। बुधबार कालोपुल नजिक एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गरिएको हो।

फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँको हुनेछ। सचिन लदियाले फिल्म लेखेका छन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन (डिओपी) ख्यातिप्राप्त सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचोपैचो’ र ‘पिताम्बर’मा सहकार्य गरिसकेका छन्।

केपी फिल्मस्का ब्यानरमा बन्ने फिल्म फागुनबाट छायांकनमा जाने तयारी छ। निर्देशक कृषाले यो फिल्म एक्सन र लभस्टोरी जनरामा निर्माण हुने जानकारी दिइन्। “नेपालमै आएर सचिन लदियाले लेखन सुरु गर्नुभएको हो, अहिले यत्ति मात्र भन्न मिल्छ, बाँकी पछि भेट्ने बहाना नै हुन्छ,” कृषाले भनिन्।

निर्माता बिशाल चौलागाइँले दिदीको जन्मदिन पारेर फिल्म निर्माण गर्ने योजना बनाएको बताउँदै ‘पिताम्बर’मा भएका कमजोरीलाई ‘पारस’मा सुधारिने जानकारी दिए।

फिल्मको कलाकार तथा अन्य प्राविधिक टोलीबारे भने पछि घोषणा गरिने निर्देशक कृषाले बताएकी छन्। कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामना दिँदै नयाँ फिल्मका लागि बधाई दिएका थिए।

कृषाको पहिलो निर्देशकिय फिल्म ‘ऐचोपैचो’ समिक्षात्मक हिसाबले सफल मानिएको थियो।

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि सुरु

काठमाडौं । नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि २२ गतेसम्म लाजिम्पाटमा मनाउने भएको छ।

पाँच दिनसम्म चल्ने यस उत्सवमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण तथा लेट–नाइट डीजे सेसनको व्यवस्था गरिएको क्लबले जनाएको छ।

कार्यक्रम अवधिभर राजु परियार, ज्योति मगर, पशुपति सर्मा, रोज मोक्तान, फूल कुमार बम्जन, सुनिल क्षेत्री, करिस्मा शाही, सन्चिता बलाखे लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्।

समारोहको उद्घाटन संविधान सभा सदस्य तथा नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री एवं बागमती प्रदेश सदस्य तीर्थ लामाबाट हुने तय भएको छ।

क्लबले गत एक वर्षको उपलब्धि र अनुभवलाई स्मरण गर्दै यस वार्षिकोत्सवलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, यस अवसरमा २० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको प्रबन्ध निर्देशक सुनील छेवाङ लामाले जानकारी दिएका छन्।

उनका अनुसार रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट मात्र नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको छ।

काठमाडौँमा “एक चिहान” नाटक मञ्चन, डाक्टर गोदत्तको भूमिकामा जे.बी. डी.सी. चम्किए

काठमाडौँ — हृदयचन्द्र सिंह प्रधानको चर्चित कृति “एक चिहान” बाट रूपान्तरण गरिएको नाटक आज काठमाडौँको रातो पुलस्थित ओजस थिएटरमा मञ्चन गरिएको छ।

नाटकलाई नाट्य रूपान्तरण तथा निर्देशन सागर कार्कीले गरेका हुन्। मञ्चनमा मदन थापा, जे.बी. डी.सी., सानु पाण्डे, रीता थापा, कल्पना थापा, रश्मि गुरुङ, आशिष श्रेष्ठ, समीर आचार्य, सागर कँडेल, विप्लव खड्का, उज्ज्वल कुलुङ राई, युगल लिम्बु, श्याम कार्की, गोविन्द खड्का र कोहिनुर विश्वकर्मा आदिले विभिन्न पात्र निभाएका छन्।

दर्शकबीच विशेष चर्चित बनेको पात्र डाक्टर गोदत्त मा कलाकार जे.बी. डी.सी. (DC) को अभिनयलाई उच्च प्रशंसा गरिएको छ।

नाटकमा प्रवृत्ति राई, युगल लिम्बु र प्रदीप विश्वकर्माले पार्श्व सङ्गीत दिएका थिए भने प्रकाश व्यवस्थापन सागर कार्की र उज्ज्वल कुलुङ राईले सम्भालेका थिए। सेट डिजाइनमा उज्ज्वल कुलुङ राई, प्रदीप विश्वकर्मा र श्याम कार्की संलग्न थिए। भेषभूषा र श्रृङ्गारको जिम्मा रीता थापाले लिएकी थिइन्।

‘प्रेम गीता’को टिजर सार्वजनिक, लभ स्टोरी र एक्सनको मिश्रण

काठमाडौँ । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेललगायतलाई देख्न सकिन्छ। लभ स्टोरी, बिछोड र एक्सनको मिश्रण रहेको संकेत टिजरमार्फत पाइन्छ। यसले प्रेमपछिको विछोडलाई कथावस्तुको मूल थिम बनाएको अनुमान गर्न सकिन्छ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा बनेको यो फिल्ममा जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेलसँगै आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको पनि अभिनय देख्न सकिन्छ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता रहेका छन्। मौनता श्रेष्ठले कथा लेखेका हुन् भने रामेश्वर हुँमागाईले छायांकन गरेका छन्। साथै, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा विनयराज पौडेल मुख्य सहायक निर्देशकको भूमिकामा रहेका छन्।

यसै चलचित्रमार्फत राजेन्द्र बस्नेतले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। ‘प्रेम गीता’ माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

एकता पौडेलको डेब्यु निर्देशन ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । डेब्यु निर्देशक एकता पौडेलको पारिवारिक ड्रामा चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।

सार्वजनिक दुवै पोस्टरमा प्रमुख कलाकारहरूलाई प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई खुसी भावमा देखाइएको छ भने, सन्तोष पन्त भने केही असन्तुष्ट मुद्रामा छड्के नजरले हेरिरहेको देखिन्छ। यस पोस्टरमा खगेन्द्र र वर्षा आफ्नो छोरासँग रमाइरहेको दृश्यमा देखिन्छन्, जसको भूमिका बाल कलाकार साइमन वादीले निभाएका छन्।

दोश्रो पोस्टरमा पनि खगेन्द्र–वर्षालाई मीठो मुस्कानसहित देखाइएको छ भने नेपथ्यमा सम्भवतः गीतको दृश्य प्रस्तुत गरिएको छ। यसमा सन्तोष पन्तसँगै विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जनलाई नाचगानमा रमाइरहेको देख्न सकिन्छ। सोही पोस्टरमा बाल कलाकार साइमनलाई बाल कृष्णको पहिरनमा प्रस्तुत गरिएको छ भने वरिष्ठ अभिनेता नीर शाहलाई गम्भीर मुद्रामा देखाइएको छ।

यी दुवै पोस्टरबाट फिल्मले पारिवारिक जीवनका उतारचढावलाई कथानकको मूल आधार बनाएको बुझ्न सकिन्छ। यसरी लामो समयपछि नेपाली दर्शकले पारिवारिक ड्रामा हेर्न पाउने अपेक्षा गरिएको छ।

निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा, निर्देशक शिव रेग्मी (जो पारिवारिक चलचित्रका लागि परिचित थिए) को विरासतलाई आफ्नो डेब्यु निर्देशनमा निरन्तरता दिन खोजेको बताएकी छन्। यसअघि उनले टाइटल भिडियो समेत मामालाई समर्पण गर्दै सार्वजनिक गरेकी थिइन्।

न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्ममेकिङ अध्ययन गरेकी पौडेलले आमसञ्चारमा स्नातक र व्यवस्थापन/नेतृत्वमा स्नातकोत्तर गरेकी छन्। उनले यसअघि केही छोटा फिल्महरु निर्माण गरिसकेकी छन्। चितवनमै सम्पूर्ण छायांकन गरिएको ‘हर्ष’ हाल पोस्ट–प्रोडक्सनको चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। फिल्ममा आलोक शुक्ला (छायांकन), समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्की (संगीत), लोकेश बज्राचार्य (सम्पादन) र सुनिल क्षेत्री तथा निर्देशक पौडेल (कोरियोग्राफी) रहेका छन्।

निर्माता प्रशन्न पौडेल र विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माता हिक्मत चोखल हुन्। फिल्ममा स्व. शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काका शब्द समावेश छन्। प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप अधिकारी रहेका छन्।

फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार बुढासुब्बा डिजिटलले खरिद गरिसकेको छ।