२०८२ मंसिर २२, सोमवार

निखिल उप्रेतीको आचार्यमा अञ्जन थापा अनुबन्धित

नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित नायक निखिल उप्रेतीले निर्देशन एवं निर्माण गर्दै गरेको एक्सन फिल्म ‘आचार्य’ आगामी भदौ ५ देखि भारतमा छायांकन सुरु गर्ने भएको छ। करिब ६० दिन सम्म भारत र नेपाल दुवै देशमा गरिने छायांकनका लागि सबै तयारी पूरा भइसकेको छ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा अन्जन थापा अनुबन्धित भएका छन्। फुटबल मैदानबाट आफ्नो करियर सुरु गरेका उनले पछिल्लो समय अभिनय क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन्।

उनले एक्सन फिल्म ‘कालमान्डु’ मा खलनायकको भूमिका निर्वाह गरेका छन्, जुन छिट्टै प्रर्दशनमा आउँदैछ। यस्तै, उनी ‘11 Hrs Section A’ वेब सिरिज, विभिन्न म्युजिक भिडियोहरू लगायतका अन्य प्रोजेक्टमार्फत पनि दर्शकमाझ आइरहेका छन्।

अन्तर्राष्ट्रिय फिल्म डेटाबेस IMDB मा उनले “Portrait of Young Criminal” का रूपमा रेटिङ पाएका छन्, जसले कलाकारितालाई अन्तर्राष्ट्रिय तहमै मान्यता दिएको स्पष्ट हुन्छ।

‘आचार्य’ मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, उषा उप्रेती, सुरेश कोहली, सयानम अधिकारी तथा केही भारतीय कलाकारहरूको अभिनय रहनेछ।

फुटबल मैदानको यात्राबाट सुरु भएको अन्जन थापाको मेहनत र समर्पण अब ठूलो पर्दामा नयाँ मोडमा प्रवेश गर्दैछ। ‘आचार्य’ मार्फत उनको कलाकारितामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ गतेबाट प्रदर्शन

काठमाडौं – माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ को शुभमुहुर्त ललितपुरको बंगलामुखी मन्दिरमा सम्पन्न भएको छ। मंगलबार बिहान क्यामेरा पूजा गर्दै फिल्मको आधिकारिक घोषणा गरिएको हो।

निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने यस फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुनेछ भने चितवनमा पनि खिचाइ गरिनेछ। निर्माणपक्षले चैत्र २७ गते नयाँ वर्षको छेको पारेर फिल्म प्रदर्शन गर्ने घोषणा गरेको छ।

शुभमुहुर्तकै अवसरमा नायक विराज भट्टको एङ्ग्री लुक सार्वजनिक गरिएको छ, जसमा उनको एक्सन छवि स्पष्ट देखिन्छ। ‘१२ गाउँ’ पछि ‘राम नाम सत्य’ मा अभिनय गर्न लागेका भट्टले कथावस्तु निकै पावरफूल रहेको बताए।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको प्रमुख भूमिका रहनेछ। उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुँदै गरेको यस फिल्ममा किशोर भट्ट र डा. डी आर उपाध्याय कार्यकारी निर्माता छन्।

माइकल चन्दकै कथा तथा पटकथामा तयार हुने ‘राम नाम सत्य’ मा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ।

निर्देशक चन्दले यो फिल्म आफ्नो “सपनाको प्रोजेक्ट” भएको बताउँदै शुभकामना र साथको अपेक्षा राखेका छन्। त्यस्तै, नायक सुशिल श्रेष्ठले पनि कथावस्तु उत्कृष्ट भएको उल्लेख गर्दै दर्शकको माया र समर्थनको आशा व्यक्त गरे।

‘राम नाम सत्य’ चैत्र २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।

‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध, फागुन १५ मा प्रदर्शन हुने

काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। यद्यपि, उनको भूमिका बारे थप विवरण खुलाइएको छैन।

यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिम्रन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने रहेको छ र छायांकन भदौ महिनाबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

निर्माण टिमले जनाएको अनुसार, ‘आ बाट आमा’ आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ।

नेपालमा पहिलो पटक: अटोमेटिक नेल आर्ट प्रिन्टरमा ५ दिने निशुल्क तालिम सुरु

काठमाडौं – आइडिया फर वर्ल्डले नेपालमा पहिलो पटक अटोमेटिक नेल आर्ट प्रिन्टर सम्बन्धी ५ दिने निशुल्क तालिम सञ्चालन हुने भएको छ। स्काईवाक कमलादी, काठमाडौंमा सञ्चालन हुन लागेको यस तालिमले सहभागिहरूलाई अत्याधुनिक नेल आर्ट प्रिन्टरको प्रयोग सिकाउने उद्देश्य राखेको छ।

यस तालिममा सहभागीहरूले दैनिक २ घण्टा तालिम प्राप्त गर्नेछन् र तालिम समाप्तिपछि प्रमाणपत्र पनि प्रदान गरिनेछ। तालिमको प्रमुख आकर्षण भनेको भविष्यमा सुनिश्चित रोजगारीको अवसर पनि उपलब्ध हुने रहेको छ।

तालिममा सीमित सीट भएकाले इच्छुक व्यक्तिहरूलाई सक्दो छिटो दर्ता गराउन आग्रह गरिएको छ।

सम्पर्क: सुश्री रुपाली – ९८०१२६६४९३

‘माइतीघर’को शीर्ष गीतमा नृत्य गर्दै ५ लाख जित्ने मौका – फिल्म प्रचार प्रसार अघि बढ्यो

हिन्दुहरुको महान चाड बडा दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘माइतीघर’ को प्रचार प्रसार आक्रामक रूपमा अघि बढिरहेको छ। देशभरका हलमा ठूला पोस्टर राखिएका छन् भने विभिन्न स्थानमा होर्डिङबोर्ड पनि देख्न सकिन्छ। फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी ले प्रचारमा कुनै कमी नहुने घोषणा गरिसकेका छन्।

फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट प्रदर्शन गर्ने व्यक्ति वा समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइने घोषणा गरिएको छ। भदौको पहिलो साता सार्वजनिक हुने गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर OSR Digital को मेल आइडी osrdigitalnp@gmail.com मा पठाउनुपर्नेछ।

पठाइएका भिडियोहरू OSR Digital का युट्युब, फेसबुक, र टिकटक खाताबाट सार्वजनिक गरिनेछन्। सार्वजनिक भिडियोहरू मध्ये सबैभन्दा धेरै भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियो छनोट गरी पुरस्कार दिइनेछ।

गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ मा भारतीय गायिका सञ्जिवनी को स्वर छ। भिडियोहरू भदौ २० गते सम्म पठाइसक्नुपर्नेछ। निर्माणपक्षले असोज १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समूहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्ने बताएको छ।

फिल्म मिलन तामाङ को निर्देशनमा तयार भएको हो। यसमा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ।

कथाकार चन्द्रकुमार दोङ, डोआपी सुशन प्रजापति, पटकथा तथा संवाद रामशरण पाठक, सम्पादन सुरेन्द्र पौडेल, गीतकार किरण खरेल, कुमार स्याङ्बा, राम अविरल, संगीत चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी, स्वर्गीय जयदेव, एक्सन अष्ट महर्जन ले तयार गरेका छन्।

फिल्ममा लगानी रविन शेरचन र धिरज तामाङ ले गरेका हुन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल छन्।

दीपाश्री निरौला ‘पार्वती’मा अनुबन्धित, १२ वर्षपछि नीता ढुंगानासँग सहकार्य

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला औपचारिक रूपमा अनुबन्ध भएकी छन्। मंगलबार निर्माण टिमसँग उनले कागजी सम्झौता गरेकी हुन्।

फिल्मकी निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुंगाना अधिकारीका अनुसार दीपाश्रीसँग मौखिक सहमति पहिल्यै भइसकेको थियो। “हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,” नीताले भनिन्, “आज (मंगलबार) भने फाइनल भएको हो दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो।”

दीपाश्रीले पनि यो सहकार्यलाई विशेष भन्दै १२ वर्षअघिको सम्झना गरिन्। “वि.स. २०७० सालमा ‘छ एकान छ’मा हामीलाई हेल्प गरेकी थिएँ,” उनले भनिन्, “१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई ‘पार्वती’मा अनुबन्ध गराएकी छौ। यो साउनको महिना, शिव–पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ, धन्यवाद छ सम्झनुभएकोमा।”

दीपाश्रीको अनुबन्ध हुनु अघि फिल्ममा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारीलाई सहायक निर्देशकको रूपमा टिममा भित्र्याइएको थियो। आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मका दुई पोस्टर सार्वजनिक भइसकेका छन् भने माघ १ गते प्रदर्शन मिति तय गरिएको छ।

फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। लगानी सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले गर्नेछन्। वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले, उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

नीताले यसअघि ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा हात हालेकी थिइन्। यसपटक भने ‘पार्वती’ र ‘सुख–दुःख’बाट निर्देशनमा पाइला राख्दैछिन्।

भदौ २० गते रिलिज हुने ‘रिमै’को विश्व आदिवासी दिवसमा विशेष सहभागिता

काठमाडौं – आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने नेपाली सिनेमा ‘रिमै’को प्रचार–प्रसारमा निर्माण टिम सक्रिय रूपमा जुटिरहेको छ। गत शनिबार काठमाडौंमा सम्पन्न ३१ औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीका विभिन्न स्थानमा आयोजित र्‍यालीमा ‘रिमै’ टिमको उल्लेखनीय सहभागिता देखियो।

आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता थियो। रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थिति विशेष बनाएको थियो। कलाकार, निर्माता तथा निर्देशकलगायत सम्पूर्ण टिम आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्नाको सन्देशसहित उपस्थित थिए।

सिनेमाका निर्देशक खिल बहादुर गुरुङले ‘रिमै’मार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाए। सहभागी कलाकार तथा निर्माण टिमका सदस्यहरूले अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि विश्व आदिवासी दिवसलाई संघर्षको प्रतीकका रूपमा लिएको बताए।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रा.लि.को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको ‘रिमै’मा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरको अभिनय छ। उपेन्द्र सुब्बाले लेखेको कथालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्।

निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले रहेका यस सिनेमामा वीरबल घले कार्यकारी निर्माता हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता हुन्। दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन तथा किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन रहेको छ।

आभा ढुंगाना र रिद्धी खत्रीको ‘कश्यप’ डेब्यु पक्का

काठमाडौं — फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो।

आभाले यसै फिल्मका लागि विशेष एक्सन प्रशिक्षण लिइरहेकी छिन्, जसले उनको भूमिकालाई थप दमदार र यथार्थपरक बनाउने अपेक्षा गरिएको छ। यसैगरी, बालकलाकार रिद्धी खत्रीले पनि ‘कश्यप’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै फिल्मको महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्। निर्माण पक्षको विश्वास छ— उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिनेछ।

आभा ढुंगाना भन्छिन्, “फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फस्ट लुक पोस्टर सार्वजनिक गरिसकेको थियो, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको छ। एक्सन, प्रेम र म्युजिकल पक्षमा उत्कृष्टता दिने लक्ष्यसहित निर्माण भइरहेको ‘कश्यप’ चाँडै छायांकन थाल्ने तयारीमा छ।

फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक: मध्यम वर्गीय परिवारको संघर्षको कथा समेटिएको

काठमाडौं — आशान्त शर्मा निर्देशित नेपाली फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले सहरमा बस्थापछि मध्यमवर्गीय परिवारले भोग्नु परेको चुनौती र संघर्षलाई मार्मिक रुपमा प्रस्तुत गरेको छ।

फिल्ममा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा देखिएका छन्। साथै आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

फिल्मको कथा निर्देशक आशान्त शर्माले नै लेखेका हुन्। यसअघि फिल्मका ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ नामक गीत र टिजर पनि सार्वजनिक भइसकेका छन्।

छायांकन सरद महतोले गरेका हुन् भने विनोद पाण्डेले सम्पादन गरेका छन्। ‘वेज प्रा.लि.’ को प्रस्तुति रहेको फिल्मका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा छन् भने सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहेका छन्।

फिल्म आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तय भएको छ।

फिल्म ‘मैझारो’ साउनमै इलाममा छायांकन सुरु, प्रेम र पहाडको सौन्दर्यमा आधारित नयाँ नेपाली कथा

काठमाडौं — साउनको पहिलो हप्तादेखि इलाममा छायांकन सुरु गरिएको नेपाली फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भइरहेको यो फिल्मले पूर्वी पहाडका प्राकृतिक दृश्य र मानवीय सम्बन्धको आत्मीयतालाई दर्शाउन खोजेको छ।

फिल्मको मुख्य छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ र पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईले यस फिल्मबाट दर्शकलाई फरक स्वाद र अनुभूति दिन सकिने बताउनु भयो। फिल्मको कथा र पटकथा पनि उहाँले नै तयार पार्नुभएको छ।

माैलिक प्रेम कथामा आधारित ‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ लगायत थुप्रै कलाकारले अभिनय गरेका छन्। ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्वर समावेश छन्।

सौरभ लामाले छायांकन गरेको ‘मैझारो’को वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। चलचित्रको रिलिजको मिति चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।