काठमाडौँ, साउन १ — सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ का लागि देशभर अडिसन धमाधम भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगितामा सहभागी युवतीहरूलाई शुभकामना दिएका छन्।
पूर्वी नेपालका विभिन्न स्थानमा भइरहेको अडिसनका बीच प्रधानमन्त्री ओलीले भद्रपुर विमानस्थलमा प्रतियोगिता आयोजक टिमसँग भेट गर्दै आफ्नो शुभकामना व्यक्त गरेका हुन्। भेटमा ग्लोबल ग्ल्यामर भेन्चरकी संगीता पुरी, मिस युनिभर्स नेपाल २०२४ विजेता सम्पदा घिमिरेसहितको टिम सहभागी थियो।
प्रधानमन्त्री ओलीले भने,
“अन्तर्राष्ट्रिय स्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ। नेपाललाई चिनाउने, नेपालको ब्युटी र ट्यालेन्ट देखाउने उत्कृष्ट अवसर हो यो। हाम्रो चेलीहरूले यसलाई राम्ररी सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास छ।”
यस वर्षको अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भइसकेको छ। आयोजकका अनुसार पूर्वका यी दुई ठाउँमा ४० जनाले अडिसन दिएका छन् भने अब चितवन, पोखरा, बुटवल लगायतका शहरहरूमा अडिसनको तयारी भइरहेको छ।
सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक कथा नबिना रानाभाटको अभिनयमार्फत मञ्चमा जीवित
काठमाडौं । लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’ को पछिल्लो एपिसोडमा एक साहसी महिलाको माया, समर्पण र पीडाले भरिएको जीवनकथा प्रस्तुत गरियो, जसले सम्पूर्ण स्टुडियोलाई भावुक बनायो।
यो प्रस्तुति सृजना सुवेदी र दिवंगत श्रीमान् विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित थियो। विवेक ब्रेन क्यान्सरबाट पीडित थिए, र सृजनाले अन्तिम क्षणसम्म देखाएको समर्पण, माया र साथलाई प्रतियोगी नबिना रानाभाटले यति जीवन्त रूपमा प्रस्तुत गरिन् कि दर्शक, निर्णायक र प्राविधिक टिम सबै स्तब्ध बने।
नाटकीय प्रस्तुति, जीवनको पीडा र प्रेरणा
नबिनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए। विशेषगरी अन्तिम दृश्य — जहाँ सृजनाले विवेकलाई अन्तिम बिदाइ दिइरहेकी छन् — त्यस्तो मार्मिक बन्यो कि केही समय छायांकन समेत रोक्नु परेको आयोजकले जनाएका छन्।
यसअघि, शोको टिमले नबिनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराएको थियो। सृजनाले आफ्नो पीडादायी तर प्रेरणादायी कथा सविस्तार सुनाउँदै मञ्चमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। त्यही भावनाले भरिएको अभिनय देखेपछि धेरैको आँखाबाट आँसु रोकिएनन्।
‘एक्टिङ स्टार’ले सुरु गर्यो यथार्थ र संवेदनशीलताको युग
‘एक्टिङ स्टार’ले केवल अभिनय प्रतियोगिता मात्र नभई जीवनका यथार्थ र संवेदनशील पक्षहरूलाई मञ्चमा ल्याउने माध्यमका रूपमा आफूलाई स्थापित गरिरहेको देखिन्छ। यस्ता प्रस्तुतीहरूले नेपाली दर्शकको मनमा गहिरो प्रभाव पारिरहेको छ।
१३ प्रतिस्पर्धी फाइनलमा, भोटिङ सुरु
महक मिडिया नेटवर्कको आयोजनामा सञ्चालित यस शोका लागि नेपालभरि तथा भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट समेत अडिसन खुलेका थिए। हजारौं प्रतिस्पर्धीमध्ये हाल १३ जना उत्कृष्ट प्रतियोगी फाइनल चरणमा प्रवेश गरिसकेका छन्।
शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे OSR Reality YouTube च्यानल र AP1 HD टेलिभिजनमार्फत प्रशारण भइरहेको छ।
इलाम, साउन १ – नेपाली सिने क्षेत्रका लोकप्रिय हास्य कलाकार विल्सन विक्रम राई (तक्मेबुढा) निर्देशनमा डेब्यु गर्दै आफ्नो पहिलो फिचर फिल्म ‘मैझारो’ को छायांकन इलामबाट औपचारिक रूपमा सुरु गरेका छन्।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले पूर्वी पहाडी भेगको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ प्रस्तुत गर्नेछ। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले सम्हालेका छन्।
छायांकन इलाम र पाँचथरका विभिन्न रमणीय स्थानहरूमा हुने जनाइएको छ। फिल्ममा अभिनय रहने कलाकारहरूमा:
धिरज मगर
मिरुना मगर
दिया पुन
सुनिल थापा
कविता आले
पुस्कर गुरुङ
अभयराज बराल
उदय सुब्बा
बुद्धि तामाङ
रजनी गुरुङ
विशाल लिम्बू
सुभाष सिंह ठकुरी लगायतका कलाकारहरू रहेका छन्।
🎵 संगीत संयोजन अनमोल गुरुङ र तोरेम्पा हाङ राईले गरिरहेका छन्। गीतहरूमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतका गायक-गायिकाको स्वर रहनेछ।
🎥 छायांकन निर्देशक सौरभ लामा रहेका छन्। यसअघिसम्म हास्य तथा सांगीतिक सामग्री निर्माण गर्दै आएको ‘तक्मे प्रोडक्सन’ले ‘मैझारो’मार्फत फिचर फिल्म क्षेत्रमा औपचारिक प्रवेश गरेको हो।
‘मैझारो’ ले पूर्वी पहाडको मौलिकता, कथा र दृश्यमार्फत दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।
काठमाडौं, साउन १ – आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ।
बुधबार सार्वजनिक गरिएको उक्त गीतमा सिनेमाका मुख्य कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, तथा संगीतकार बाबुल गिरीको अभिनय देख्न सकिन्छ।
गीतमा बाबुल गिरीको संगीत तथा स्वर रहेको छ भने शब्द रचना गोविन्द भट्टले गरेका हुन्। भावनात्मक र मर्मस्पर्शी यो गीतमार्फत गायक तथा संगीतकार गिरीले नेपाली रजतपटमा अभिनय डेब्युसमेत गरेका छन्।
यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल बनेपछि दर्शकको माग अनुसार निर्माण टिमले पूरै गीत सार्वजनिक गरेको हो। टिजर र अघिल्लो गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको सन्दर्भमा यो गीतले चलचित्रको हाइप झन् बढाउने निर्माण पक्षको विश्वास छ।
सिनेमाका निर्देशक तथा निर्माता राज बहादुर सानेका अनुसार ‘सिटामोल’ले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेका कुसंस्कार र सामाजिक अन्यायको चिरफार गर्ने प्रयास गरेको छ। फिल्मले बिम्बात्मक शैलीमा नेपाल र आम नेपाली जनजीवनको यथार्थ प्रस्तुत गर्दै दर्शकको मन जित्ने लक्ष्य लिएको निर्देशक सानेले बताएका छन्।
सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै चलचित्रबाट रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्माता छन्।
सिनेमामा बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउण्ड डिजाइन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन तथा दिव्य सुवेदीको छायांकन रहेको छ।
काठमाडौँ, असार ३२ – निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले राम नवमीको अवसर पारेर चैत १३ गते (Ram Navami)लाई चलचित्रको रिलिज मिति घोषणा गरेको हो।
बुधवार काठमाडौँको नारायणथानमा आयोजना गरिएको विशेष समारोहमा चलचित्रका तीन फरक पोस्टरहरू सार्वजनिक गरियो। तीनमध्ये एक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तानिरहेको देखिन्छ, जुन दृश्यले हास्यको संकेत गर्छ। अर्को पोस्टरमा सुरक्षाले बन्दुक बोकेकी छन् भने मुकुनले एउटा हातमा ठेकी र अर्कोमा गुलाबको फूल समातेका छन्। तेस्रो पोस्टरमा भने चलचित्रका लगभग सबै कलाकारहरू देखिएका छन्, जसमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको दृश्य पनि समावेश छ।
पोस्टरहरुले नै चलचित्र कमेडी र सस्पेन्सको समिश्रण रहेको झल्को दिन्छ।
कलाकार र निर्माण टिम:
चलचित्रमा मुख्य भूमिकामा मुकुन भुसाल र सुरक्षा पन्त छन्। साथै नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन्। उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता हुन् भने धनकुमारी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर हुन्।
सह-निर्मातामा यम ओली, सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य र प्रदीपकुमार सापकोटा छन्।
प्राविधिक पक्ष:
छायांकन: शेर बहादुर तामाङ
सम्पादन: बन्दे साह र सुजन वडाल
संगीत: राजनराज सिवाकोटी
कोरियोग्राफी: कविराज गहतराज
एक्सन: कुमार महर्जन
चलचित्रको वितरण अधिकार RR Filmsले लिएको छ।
‘चमेलीको पोई’ एक हास्यरस प्रधान चलचित्र भए पनि कथामा सस्पेन्स र सामाजिक सन्देशको झझल्को पाइने अनुमान गरिएको छ। राम नवमीको उपलक्ष्यमा रिलिज हुन लागेको चलचित्रले पारिवारिक दर्शक र हास्यप्रेमीहरूलाई लक्षित गरेको देखिन्छ।
काठमाडौं:-निर्देशक रोशन दासको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन हालै सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको भव्य सेटमा दुई दिनसम्म चलेको छायांकनमा अभिनेत्री प्रियंका कार्की विशेष प्रस्तुतीमा देखिएकी छन्।
चलचित्रको कथा मधेश क्षेत्रको सामाजिक र राजनीतिक पृष्ठभूमिमा आधारित रहेको छ। निर्देशक दासले भनेका छन्, “मधेशबारे निर्माण हुने धेरै चलचित्रहरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरा सामाजिक–राजनीतिक समस्याहरू। ‘प्रतिवैरम’ मार्फत हामी त्यो अभाव हटाउने कोशिस गर्दैछौं।”
फिल्म रेज इन्टरटेनमेन्ट को प्रस्तुति हो, जसलाई किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्ट सँगको सहकार्यमा निर्माण गरिँदैछ। चलचित्रमा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतको मुख्य भूमिका रहेको छ।
आइटम गीतमा कोरियोग्राफी सुरेन बसेलले गरेका छन् भने गीतको संगीत मनिष अधिकारीको, शब्द रोशन दासकै र स्वर रितिका श्रेष्ठको रहेको छ। छायांकन नितेश घतानले गरेका हुन्।
चलचित्रको कथा स्वयं निर्देशक रोशन दासले लेखेका हुन् भने पटकथा युवराज भट्टराईले तयार पारेका छन्। निर्देशकका अनुसार, चलचित्रको आधा भन्दा बढी छायांकन सकिएको छ भने बाँकी काम बर्खा सकिएपछि अगाडि बढाइनेछ।
काठमाडौं :अदृश्य संचार :-लैंगिक अल्पसंख्यकको कथामा आधारित नेपाली चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को नयाँ गीत सार्वजनिक गरिएको छ। “म फूल हुँ कि काँडा” बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।
गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने गायनमा मनिषा पोखरेलको सशक्त स्वर सुन्न सकिन्छ। प्रेम, आत्मस्वीकृति र स्वाभिमानका भाव समेटिएको गीतमा—”माया गर्ने हो भने भोगेर जान, तर प्रमाण चाहिन्छ” भन्ने गहिरो सन्देश दिइएको छ।
गीतको भिडियोमा अभिनेता नाजिर हुसेनको प्रभावशाली नृत्य प्रस्तुत गरिएको छ। पारालैंगिक महिलाको भेषमा देखिएका उनले आफ्नो गेस्चर र पोस्चरमार्फत उत्कृष्ट अभिनय क्षमता प्रदर्शन गरेका छन्। भिडियोमा सुशील सिटौलाको पनि उपस्थिति रहेको छ।
निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। ‘गुन्यु चालो : द ड्रेस’ आगामी भदौ १३ गते देशभर रिलिज हुने भएको हो।
समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्रमा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी,संचारकर्मी निशा बजगाई लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहनेछ।
नेपालको पहिलो पूर्णरूपमा ट्रान्स स्टोरीमा आधारित यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्लेले खरिद गरिसकेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन काम विदेशमा सम्पन्न गरिएको चलचित्रमा एडिट, कलर ग्रेडिङ, साउन्ड मिक्सिङ तथा ब्याकग्राउन्ड म्युजिक समेत हलिउड शैलीमा तयार गरिएको बताइएको छ।
चलचित्रमा हलिउड गायिका लिजा जेरार्डको स्वर सुन्न सकिनेछ भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका छन्। लिजा जेरार्डले ‘ग्ल्याडिएटर–२’ जस्ता चर्चित हलिउड फिल्ममा समेत गायन गरेकी हुन्।
‘गुन्यु चालो : द ड्रेस’ नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसबीचको संयुक्त सहकार्यमा निर्माण गरिएको चलचित्र हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी रहेको छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माताको रूपमा संलग्न छन्। चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन्।
उल्लेखनीय कुरा के छ भने, यो चलचित्र अमेरिकाको प्रतिष्ठित Tashveer Film Market मा छनोटमा परेको थियो, जसले अन्तर्राष्ट्रिय बजारमा समेत यसको उपस्थितिलाई संकेत गर्छ।
काठमाडौँ, असार ३१ – नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा कोरिया जान सपना बोकेर राजधानी छिरेका एक युवाको संघर्षमय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम र धोका मिसिएको जीवनकथा प्रस्तुत गरिएको छ।
फिल्मका मुख्य पात्र विजय बरालको जीवन संघर्ष टिजरको केन्द्रबिन्दुमा देखाइएको छ। कथाले वैदेशिक रोजगारीका लागि कोरिया जान चाहने युवाको मनस्थितिलाई छिचोल्दै सपना र यथार्थबीचको द्वन्द्व चित्रण गर्छ।
टिजरमार्फत प्रस्तुत गरिएका केही प्रमुख आयामहरू:
कोरियाको मोहमा गाउँबाट सहर छिरेको युवा
सम्बन्ध, प्रेम र भरोसाका धागाहरूमा गाँसिएको कथा
विदेश जाने प्रयासमा आइपर्ने सामाजिक र भावनात्मक उतारचढाव
फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारहरूको अभिनय छ।
फिल्म हिमाल न्यौपानेको निर्देशनमा तयार भएको हो। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्मका असोसिएट निर्देशक मनिष राउत छन् भने कमल न्यौपाने र विमल न्यौपाने निर्माता हुन्। फिल्म पेपरक्लिपको ब्यानरमा निर्माण गरिएको हो।
‘जनै हराएको मान्छे’ यही भदौ ६ गते (२०८२) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं, अदृश्य संचार असार ३०:- धुम्बाराही चोकमा अत्याधुनिक सुविधासहित नयाँ “होटल स्मार्ट” को औपचारिक शुभारम्भ गरिएको छ। करिब ४० करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो होटलको उद्घाटन समारोहमा नेपाली फिल्म क्षेत्रका प्रतिष्ठित कलाकारहरू, गायकगायिका, सञ्चारकर्मीहरू लगायत विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको थियो।
समारोहमा महानायक राजेश हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन गर्दै कार्यक्रमको सुरुआत गरे। उनले पानसमा बत्ती बालेर र रिबन काट्दै होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याए। विशेष कुराकानीमा हमालले यो होटल निर्माण गर्ने समूहले आफू बस्दै आएको नयाँ घर पनि निर्माण गरेको स्मरण गरे।
सो अवसरमा चर्चित गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्वार उद्घाटन गरे भने सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे उद्घाटन गरे। यस्तै, गायिकाद्वय मेलिना राई र मिलन नेवारले वेलनेस सेन्टर, ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्शन र सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरे।
होटल स्मार्टमा १७ ओटा सुविधा सम्पन्न कोठाहरू, ६ सय जनाको क्षमताको भव्य बैंक्वेट हल, १ सय सिटको रेष्टुरेन्ट, छुट्टै क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना, स्टिम, जाकुजी, र रुफ टप गार्डेनसहितका सुविधाहरू उपलब्ध छन्।
यो होटल ३५ वर्षीय युवा उद्यमी सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएका हुन्। सुरेशले उद्घाटन समारोहमा बोल्दै भने, “हाम्रो लक्ष्य एकै स्थानमा विभिन्न सुविधासहित सबै वर्गका ग्राहकलाई सन्तुष्टि दिने हो। होटल स्मार्ट सस्तो, सुविधा सम्पन्न र ग्राहकमैत्री होटेल हो।”
‘द भ्वाइस’ को स्टुडियो नजिकै भएको कारण कलाकारहरूका लागि पनि यो होटल रिफ्रेशमेन्टको उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ।
काठमाडौं — अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा कलाकारहरूको लाइन थपिँदै गएको छ। अभिनेत्री दिया पुनको अनुबन्धनको केही दिनपछि अब अभिनेता सुवास सिंह ठकुरी पनि औपचारिक रूपमा फिल्ममा आवद्ध भएका छन्।
Takme Production र Highlander Crew को सहकार्यमा निर्माण भइरहेको यो फिल्मको कथा पूर्वी नेपालका पहाडी भेगको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित छ। निर्देशक राईका अनुसार कथाको माग अनुसार नै सुवास सिंह ठकुरीलाई छनोट गरिएको हो।
यसअघि नै धिरज मगर, मिरुना मगर, र दिया पुन फिल्मका लागि अनुबन्धित भइसकेका छन्। अब ठकुरीको थपिएसँगै फिल्मको कलाकार टोली अझ व्यापक बनेको छ। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको छनोट प्रक्रियामा रहेको छ र केही दिनभित्रै पूर्ण टिम सार्वजनिक गरिनेछ।
‘मैझारो’ को छायांकन साउनको पहिलो साताबाट सुरु हुनेछ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ। संगीत: अनमोल गुरुङ र तोरेम्पा हाङ राई स्वर: राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ छायांकन: सौरभ लामा निर्देशन/लेखन: विल्सन विक्रम राई (तक्मेबुढा)
‘मैझारो’ मार्फत Takme Production ले पहिलो पटक ठूला पर्दाको फिचर फिल्म निर्माणमा पाइला टेक्दैछ।