घटस्थापनामा ‘मैझारो’को टिजर सार्वजनिक

काठमाडौं – कार्तिक ७ गते प्रदर्शन मिति तय भएको नेपाली फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। बडादशैंको घटस्थापनाको अवसर पारेर निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरमा अभिनेता धिरज मगर, मिरुना मगर र दिया पुन बीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इलामका सुन्दर दृश्य र गाउँले परिवेशमा खिचिएको दृश्यावलीले टिजरलाई अझै आकर्षक बनाएको छ। मिरुनालाई चिया बगानमा डोको बोकेर काम गरिरहेको देखाइएको छ भने धिरजसँग उनको प्रेम देखिन्छ। तर परिस्थितिवश धिरजको नजिक दिया पुन आइपुग्छिन्।
निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) ले यसअघि कमेडी शैलीको छवि बनाएका कारण धेरैले यस फिल्मलाई पनि हास्य प्रधान हुने अनुमान गरेका थिए। तर टिजरले भने उनी मौलिक किराती परिवेशमा आधारित प्रेमकथा प्रस्तुत गर्दै भावनात्मक सम्बन्धलाई उजागर गर्न लागेका छन् भन्ने स्पष्ट हुन्छ। यसले निर्देशकको नयाँ पहिचान निर्माण गर्ने अपेक्षा गर्न सकिन्छ।
फिल्ममा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत रहेको छ। गीतमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्वर सुन्न सकिनेछ। सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्म ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर ले लिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्