अनमोल स्टारर ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक

काठमाडौं: यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युब मार्फत वर्ल्ड प्रिमियर गरेको हो।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। भिडियोमा मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय दृश्यहरू समेटिएका छन्। उच्च मेकिङ र रंगीन दृश्यका लागि कोरियोग्राफी किरण थापाले गरेका हुन्। थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा प्रस्तुत गरेका छन्।

गीतका शब्द र भिडियोका दृश्यहरू प्रेमिल छन् भने अनमोल र आँचलको केमिस्ट्री आकर्षक देखिन्छ। गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको छ भने संगीतकार जयन जे वाइबाले संगीत र शब्द तयार गरेका हुन्। अशोक थानेतले मिक्सिङ र मास्टरिङ गरेका छन्।

सुयोग गुरुङको निर्देशनमा तयार भएको यस फिल्ममा अनमोल र आँचलसँगै जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गी प्रमुख भूमिकामा छन्। सुरक्षा पन्तले फिल्ममा विशेष भूमिका निभाएकी छन्।

फिल्मको प्रस्तुति सरोज न्यौपानेले गरेका छन् भने निर्माणमा न्यौपाने, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको साझेदारी छ। कथा हेमराज बिसीको रहेको छ।

कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने एसोसिएट निर्माता नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई, व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको छ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। कथा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ।

Share Post on Social media