‘जदौ’ निर्माणको औपचारिक घोषणा, जातीय विभेदमाथि उठ्नेछ फिल्मको कथा
काठमाडौं, साउन १ — नेपाली समाजमा अझै गहिरो रूपमा गाडिएको जातीय विभेद र अन्तरजातीय प्रेमका विषयवस्तुलाई समेट्दै नयाँ नेपाली फिल्म ‘जदौ’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको शीर्षक सार्वजनिक गरिएको हो।
समारोहमा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, बिनोद न्यौपाने र सन्ध्या श्रेष्ठ ले फिल्मका गीतकार प्रीति कौर द्वारा लिखित गीत वाचन गर्दा माहोल भावुक र स्तब्ध बनेको थियो। गीतले जातीय भेदभावका पीडाहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्यो।


कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन…’ वाचन गर्दै ‘जदौ’ फिल्मको शीर्षक अनावरण गरे।
फिल्मका निर्देशक काजी लिम्बू र अञ्जन शर्मा हुनेछन्। उनीहरूका अनुसार फिल्म भदौको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ।
निर्देशक लिम्बूले फिल्मको कथा आफूले देखेको, भोगेको समाजमा व्याप्त जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्धका यथार्थ घटनामा आधारित रहेको बताए। अर्का निर्देशक शर्माले यस्ता सामाजिक विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिने बताए।
फिल्ममा मुकुन, नीति, प्रभातपाल, बिनोद, सन्ध्यासँगै ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारको अभिनय रहनेछ। अभिनेत्री नीति शाहले आफू फिल्ममा एक आधुनिक चरित्रमा देखिने जानकारी दिइन्। अभिनेता प्रभातपालले आफूलाई दिइएको भूमिकालाई लिएर उत्साहित रहेको र यसले आफ्नो करिअरमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरे।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा रहेका छन्।
श्याम तामाङ को छायांकन, मिलन श्रेष्ठ को द्वन्द्व निर्देशन, चिरञ्जीवि भण्डारी को कला निर्देशन, र बाबुल गिरी तथा सरोज पोखरेल को संगीत रहेको फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन गरिनेछ।
फिल्म निर्माण टिमले पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरूमध्ये गोलाप्रथामार्फत चयन गरिएका ‘लक्की सेभेन’ सात संचारकर्मीलाई दैनिक प्रयोगका सामाग्रीहरु उपहारस्वरुप प्रदान गरेको थियो। निर्देशक लिम्बूका अनुसार ‘जदौ’ फिल्मलाई सबैका लागि अविस्मरणीय बनाउन यो कन्सेप्ट ल्याइएको हो।
कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी ले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस्