दिया पुनपछि अभिनेता सुवास सिंह ठकुरी पनि ‘मैझारो’मा अनुबन्धित
काठमाडौं — अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा कलाकारहरूको लाइन थपिँदै गएको छ। अभिनेत्री दिया पुनको अनुबन्धनको केही दिनपछि अब अभिनेता सुवास सिंह ठकुरी पनि औपचारिक रूपमा फिल्ममा आवद्ध भएका छन्।

Takme Production र Highlander Crew को सहकार्यमा निर्माण भइरहेको यो फिल्मको कथा पूर्वी नेपालका पहाडी भेगको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित छ। निर्देशक राईका अनुसार कथाको माग अनुसार नै सुवास सिंह ठकुरीलाई छनोट गरिएको हो।
यसअघि नै धिरज मगर, मिरुना मगर, र दिया पुन फिल्मका लागि अनुबन्धित भइसकेका छन्। अब ठकुरीको थपिएसँगै फिल्मको कलाकार टोली अझ व्यापक बनेको छ। निर्माण टिमका अनुसार अन्य कलाकारहरूको छनोट प्रक्रियामा रहेको छ र केही दिनभित्रै पूर्ण टिम सार्वजनिक गरिनेछ।
‘मैझारो’ को छायांकन साउनको पहिलो साताबाट सुरु हुनेछ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ।
संगीत: अनमोल गुरुङ र तोरेम्पा हाङ राई
स्वर: राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ
छायांकन: सौरभ लामा
निर्देशन/लेखन: विल्सन विक्रम राई (तक्मेबुढा)
‘मैझारो’ मार्फत Takme Production ले पहिलो पटक ठूला पर्दाको फिचर फिल्म निर्माणमा पाइला टेक्दैछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्