काठमाडौंमा ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक सुरुवात

काठमाडौं । नेपाली डिजिटल बजारमा नयाँ ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गरे।
यो प्लेटफर्म सुरु भएसँगै हलसम्म पुग्न नसक्ने वा छुटेका फिल्म तथा सिरिज दर्शकले ओटीटीमार्फत हेर्न पाउने नयाँ विकल्प खुलेको आयोजकको भनाइ छ। साथै, ‘युएनए डिजिटल’ ले नेपाली कन्टेन्टलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्य लिएको बताइएको छ।
यस ओटीटीका सीईओ उज्वल गुरागाईं हुन्, जो फिल्म वितरक तथा निर्माता समेत हुन्। उनका अनुसार फेब्रुअरी १ (१८ माघ) देखि दर्शकले फिल्म, शो तथा ओरिजिनल वेब सिरिज हेर्न सक्नेछन्। सोही मितिदेखि एप्पलको आईओएस, गुगल प्ले स्टोर, वेब ब्राउजर र स्मार्ट टिभी संस्करणमार्फत सेवा उपलब्ध हुनेछ।
सीईओ गुरागाईंले ‘युएनए डिजिटल’ नेपाली फिल्म उद्योगलाई सुरक्षित र दिगो बनाउने उद्देश्यले सुरु गरिएको बताए। “यो प्लेटफर्मले निर्माता र सर्जकलाई जोगाउनेछ, डुब्न दिने छैन,” उनले भने, “यसै सोचका साथ नयाँ डिजिटल युगको सुरुवात गरेका हौँ।”
सुरुवाती कन्टेन्टहरू के–के छन् ?
‘युएनए डिजिटल’ मार्फत सुरुवातमै विभिन्न फिल्म र सिरिज प्रदर्शन हुनेछन्। आशिष ढकाल निर्देशित सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, तथा अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘रुम नम्बर ८’ ओटीटीमार्फत रिलिज हुने जानकारी दिइएको छ। यो फिल्म सलोन बस्नेतकै निर्माणमा बनेको हो र ओटीटीमा रिलिज हुने पहिलो फिल्मको रूपमा प्रस्तुत गरिँदैछ।
त्यसैगरी, सीईओ गुरागाईंको निर्माणमा रहेको ‘रियल रिदम’ पनि यही प्लेटफर्ममा समावेश हुनेछ। साथै, ‘युएनए डिजिटल’ले निर्माण गरेका सिरिज ‘चोइस’, ‘सिनेपट न्युज’, आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’, तथा ‘काठमाडौं नाइट’ पनि क्रमशः प्रसारणमा आउनेछन्।
निर्माण पक्षका अनुसार नेपाल र विदेशका दर्शकका लागि छुट्टाछुट्टै ओटीटी विन्डो बनाएर कन्टेन्ट विस्तार गर्ने तयारी गरिएको छ। प्लेटफर्मको नियमित सुरुवात फेब्रुअरी १४ बाट हुने र सब्सक्रिप्सन शुल्कबारे जानकारी चाँडै सार्वजनिक गरिने सीईओ गुरागाईंले बताए।
शुभकामना र प्रतिक्रिया
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले नयाँ ओटीटी प्लेटफर्म सुरु हुनु सकारात्मक कदम भएको बताए। उनले सर्जकलाई चरासँग तुलना गर्दै भने, “हरेक सर्जकको आफ्नै उडान हुन्छ। ‘युएनए डिजिटल’को उडान यहाँबाट सुरु भएको छ, यस यात्राका लागि शुभकामना।”
अभिनेता तथा निर्माता दीपकराज गिरी ले पनि ओटीटी प्लेटफर्म नेपाली फिल्म उद्योगका लागि अत्यन्त आवश्यक भएको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ओटीटीबाट फिल्म उद्योगले ठूलो आम्दानी गरिरहेको उदाहरण प्रशस्त छन्। “यस्ता प्लेटफर्मले निर्माता र निर्देशकलाई लगानी गर्न थप हौसला दिन्छ,” उनले भने।
कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री जगदीश खरेल ले बदलिँदो प्रविधि र दर्शकको रुचिलाई ध्यानमा राख्दै ओटीटीले गुणस्तरीय कन्टेन्ट दिनुपर्ने बताए। “प्लेटफर्म विश्वव्यापी बन्ने सम्भावना छ,” उनले भने, “जे बनाउनुहुन्छ—फिल्म, समाचार, कार्यक्रम—सबैभन्दा महत्वपूर्ण कुरा कन्टेन्ट नै हो।”
६ करोड लगानीसहित सञ्चालन
‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्म सुरुवाती चरणमै ६ करोड रुपैयाँ लगानीसहित सञ्चालनमा आउन लागेको हो। नेपाली भाषाका कन्टेन्टसँगै भविष्यमा भारतीय, बंगलादेशी र जापानी सामग्री पनि क्रमशः समावेश गर्ने योजना रहेको सीईओ गुरागाईंले जानकारी दिए।

Share Post on Social media