नाथमका निरज ढकाल र केशु शेर्पा ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’बाट सम्मानित
काठमाडौं — नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) अन्तर्गतका दुई उत्कृष्ट विद्यार्थी ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन्।
मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (MHM) कार्यक्रम, ११औँ सत्रका टपर निरज ढकाल र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (BTTM) कार्यक्रम, १७औँ सत्रकी टपर केशु शेर्पा लाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मान नेपाल पर्यटन तथा ट्राभल एजेन्ट्स संघ (NATTA) को ५८औँ वार्षिक साधारण सभा (AGM) को अवसरमा प्रदान गरिएको थियो।
ढकालले ३.८५ CGPA सहित MHM कार्यक्रममा र शेर्पाले ३.९० CGPA सहित BTTM कार्यक्रममा सर्वोच्च स्थान हासिल गरेका थिए। उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनको कदरस्वरूप दुवैलाई प्रमाणपत्रसहित जनही नगद रु. ५०,००० प्रदान गरिएको हो।
कार्यक्रममा नाथमका प्रिन्सिपल अजयकुमार ढकाल ले विद्यार्थीहरूको उपलब्धिलाई संस्थाको शैक्षिक गुणस्तर, अनुशासन तथा उद्योगमुखी शिक्षाको प्रतिफलका रूपमा उल्लेख गरे। नाथमका प्रमुख प्रशिक्षक तथा MHM कोअर्डिनेटर अजयराज बखती ले यस्ता सम्मानले संस्थाको शैक्षिक प्रतिष्ठा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
NATTA ले पछिल्ला दुई वर्षदेखि MHM र BTTM कार्यक्रमका टपर विद्यार्थीहरूलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यसले पर्यटन तथा आतिथ्य व्यवस्थापन शिक्षामा शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्नुका साथै शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्य राखेको NATTA ले जनाएको छ।
यसैगरी, नाथमका प्रमुख प्रशिक्षक तथा BTTM कोअर्डिनेटर शुभम् पौडेल ले यस्ता सम्मानले विद्यार्थीहरूलाई अझ उत्कृष्ट बन्न प्रेरणा मिल्ने भन्दै NATTA प्रति आभार व्यक्त गरे।




आफ्नो प्रतिक्रिया दिनुहोस्