‘आ बाट आमा’को चर्चित गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रेकर्ड


काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिकामा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ मा नेवारी भाषाको गीत समावेश गरिने भएको छ। फिल्ममा समावेश चर्चित गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भर्सनमा पनि रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ।
रिलिज भएसँगै दर्शक–स्रोतामाझ लोकप्रिय बनेको यस गीतलाई निर्देशक चन्द्र पन्त ले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा रेकर्ड गराएका हुन्। गीतको नेवारी भर्सन गायक यमन श्रेष्ठ ले गाएका छन्।
बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाइएको यस गीतलाई नेवारी भाषामा गाउन पाउँदा आफू निकै खुशी भएको यमन श्रेष्ठले बताए।
उनले भने, “यो गीत म पहिले नै युट्युबमा सुन्दै आएको थिएँ। अहिले निकै चर्चित पनि छ। ‘आ बाट आमा’ टिमले नेवारी भर्सन गाउन अफर गर्नुभयो र शब्द पनि आफैं मिलाउन भन्नुभयो। त्यसपछि मैले बुबा मदनकृष्ण श्रेष्ठसँग सहकार्य गरेर नेवारी शब्द तयार गर्यौं।”
स्टुडियोमा रेकर्डिङका क्रममा निकै भावुक बनेको अनुभव पनि यमनले साझा गरे।
उनले थपे, “फिल्ममा दृश्य निकै भावुक छ। गाउँदै गर्दा आफू पनि रोइएछ।”
यस गीतको नेपाली भर्सन गायक रवि ओड ले गाएका छन्। चलचित्रले सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनोदशालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
निर्देशक चन्द्र पन्तका अनुसार फिल्ममा नेपालीसँगै नेवारी भाषामा गीत समावेश गर्नु प्रचारशैलीलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास हो। नेवारी गीत मन पराउने दर्शक–स्रोतासम्म पुग्न यो प्रभावकारी माध्यम हुने उनको विश्वास छ। अन्य भाषामा पनि यही गीत रेकर्ड गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यस फिल्ममा विपना थापा, पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै रहेको छ। संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ भने गीतको कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
छायांकन निर्देशक नवराज उप्रेती हुन्।
चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन्। ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्