‘कल्ली’ टिजर सार्वजनिक : मानिसको मनभित्रको देवता–राक्षसको द्वन्द्व

काठमाडौं — फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले चलचित्रको विषयवस्तु गहिरो र फरक रहेको संकेत गर्दै दर्शकको चासो बढाएको छ।
किरण नेपालीको निर्माणमा बनेको चलचित्रलाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन्। सुनारकै कथामा आधारित फिल्मको पटकथा महेश दवाडी ले लेखेका छन्। टिजरमा मानिसको मनभित्र रहने सकारात्मक र नकारात्मक शक्तिबीचको संघर्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको देखिन्छ।
चलचित्र ‘कल्ली’ ले मानिसभित्र बस्ने देवता र राक्षस को कथा भन्छ। देवताले परिश्रम, इमान र मिहिनेतको प्रतिनिधित्व गर्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोकेको देखिन्छ। मानिसले आफ्नो भित्रको देवतालाई दबाएर राक्षसी प्रवृत्तिलाई स्थान दिँदा उत्पन्न हुने परिस्थितिलाई फिल्मले कथाको केन्द्र बनाएको छ।
टिजरमा सौगात मल्ल र बेनिशा हमाल का पात्रहरू रहस्यमय रूपमा प्रस्तुत छन्, जसले उनीहरू देवताको पक्षमा छन् कि राक्षसको—भन्ने प्रश्न खडा गर्छ। ब्याकग्राउन्ड स्कोर, संवाद र दृश्य संयोजनले फिल्मको मनोवैज्ञानिक पक्षलाई मजबुत बनाएको देखिन्छ।
चलचित्रमा उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर लगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा देखिनेछन्।
नायिका परिक्षा लिम्बु टिजरको अन्त्यमा देखिएकी छन्, जसलाई निर्माण टिमले सरप्राइज प्याकेजको रूपमा प्रस्तुत गरेको छ।
चलचित्रको छायांकन निसाल पौडेल, सम्पादन मिलन श्रेष्ठ, संगीत आशिष अविरल, सरित राई र केतन क्षेत्री, तथा एक्सन निर्देशन एनबी महर्जन ले गरेका छन्। चलचित्र लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सन को ब्यानरमा निर्माण भएको हो।
‘कल्ली’ ले विषयवस्तु र प्रस्तुति दुवै हिसाबले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ!

Share Post on Social media