नेपालको स्टार्टअप इकोसिस्टम मजबुत बनाउन ‘अल्फालिङ्क’ सार्वजनिक
काठमाडौं :-नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित ‘अल्फालिङ्क’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। पूँजी, प्रविधि, मार्गदर्शन, परामर्श तथा उद्योगसँगको सहकार्यलाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्यसहित अल्फालिङ्क सञ्चालनमा ल्याइएको हो।





इन्टरप्रेनर हब प्रा. लि.द्वारा विकसित अल्फालिङ्क एक नयाँ पुस्ताको स्टार्टअप इकोसिस्टम प्लेटफर्म हो, जसले स्टार्टअप संस्थापक, लगानीकर्ता, मार्गदर्शक, परामर्शदाता तथा कर्पोरेट साझेदारलाई एकै स्थानमा जोड्नेछ। यस प्लेटफर्ममार्फत नेपाली स्टार्टअपहरूले बजार पहुँच, रणनीतिक मार्गदर्शन तथा दीर्घकालीन विस्तारका अवसर प्राप्त गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा अल्फालिङ्कको अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रमुख वृद्धि अधिकृत (सीजीओ) सुश्री सुप्रिया कंसाकारले अल्फालिङ्क नवप्रवर्तनमा आधारित स्टार्टअपहरूलाई सही मार्गदर्शन, सञ्जाल र स्रोत प्रदान गर्दै दिगो विकासतर्फ अगाडि बढाउन सहयोगी बन्ने बताइन्।
कार्यक्रमका प्रमुख अतिथि वर्ल्डलिङ्क टेक्नोलोजी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सोमनाथ श्रेष्ठले निजी क्षेत्रको सक्रिय सहभागिता बिना स्टार्टअप इकोसिस्टम बलियो हुन नसक्ने उल्लेख गरे। उनले स्पष्ट दृष्टिकोण, अनुशासन र सहकार्य नै सफल उद्यमशीलताको आधार भएको धारणा व्यक्त गरे।
अल्फालिङ्कका संस्थापक तथा अध्यक्ष विशाल श्रेष्ठले आफ्नो उद्यमशील यात्राका अनुभव साझा गर्दै नेपालमा सम्भावना बोकेका धेरै स्टार्टअप भए पनि उचित प्लेटफर्मको अभाव रहेको बताए। अल्फालिङ्कले उक्त खाडल पुरा गर्ने लक्ष्य लिएको उनको भनाइ थियो।
कार्यक्रममा स्टार्टअप उद्यमी, लगानीकर्ता, नीतिनिर्माता तथा इकोसिस्टमसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक डा. समीर क्षेत्रीले अल्फालिङ्कलाई नेपाली स्टार्टअप आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने एक महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।
आगामी दिनमा अल्फालिङ्कले मार्गदर्शन कार्यक्रम, लगानीकर्ता–स्टार्टअप मिलान, स्टार्टअप बुटक्याम्प, डेमो डे, प्रविधि तथा नवप्रवर्तन प्रयोगशाला र नीतिगत संवाद कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
इन्टरप्रेनर हब प्रा. लि.ले अल्फालिङ्कमार्फत नवप्रवर्तन, उद्यमशीलता र दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्दै नेपाललाई क्षेत्रीय स्टार्टअप केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्