‘बलिदान’ ट्रेलर सार्वजनिक : मातृभूमिको रक्षा र नायक समीर भट्टको एक्सन

काठमाडौं – नेपाली चलचित्र ‘बलिदान’को बहुप्रतिक्षित ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। पोस्टर, टिजर र गीतमार्फत पहिले नै चर्को चर्चा कमाइसकेको यो चलचित्रले ट्रेलरमार्फत दर्शकमाझ थप उत्साह जगाएको छ।
ट्रेलरको सुरुवातमा आमाको भूमिकामा देखिएकी ऋचा शर्माले छोरासँग देशको अस्मिता जोगाउने वचन माग्छिन्। यसैबीच नायक समीर भट्टले गर्जनासहित घोषणा गर्छन् – “मेरो शरीरको एक एक थोपा रगत देशलाई अर्पण गर्छु, तर मेरी आमाबारे केही भने सहन्न।” यो संवादपछि उनको तीव्र एक्सन दृश्य देखिन्छ, जसले ट्रेलरलाई दमदार बनाएको छ।


फिल्ममा सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता राय लगायत कलाकारको विशेष उपस्थिति छ। विशेषगरी समीर र सौगातबीचको द्वन्द्व ट्रेलरको मुख्य आकर्षण बनेको छ। दर्जनौँ खलनायकहरूसँग समीर एक्लै भिड्ने दृश्यले चलचित्रलाई अझ शक्तिशाली बनाएको छ।
यसअघि सार्वजनिक टिजर र गीतमार्फत फिल्ममा देशभक्ति, भावुकता र विद्रोहको भावना झल्काइएको थियो। निर्देशक सन्तोष सेन स्वयं पनि विशेष भूमिकामा देखिएका छन्।
फिल्मलाई पवन ब्राडफोर्ड विष्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। लेखन दर्शन जीको रहेको छ। प्राविधिक टिममा महेश पौडेल (डीओपी), सुजन चापागाईं (संगीत), स्टनर साम्बा र श्री श्रेष्ठ (एक्सन), सुनिल क्षेत्री (कोरियोग्राफी) र सञ्जय साक्ला–सन्देश शाह (सम्पादन) रहेका छन्।
फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ (स्वर/संगीत : सुजन चापागाईं, शब्द : हर्क साउद)ले दर्शकमाझ लोकप्रियता पाइरहेको छ।
देशभक्ति, परिवारप्रतिको माया र बलिदानको कथा बोकेको ‘बलिदान’ यस वर्षको बडादसैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्