‘परान’ को फर्स्टलुक सार्वजनिक, फिल्म कात्तिक १४ देखि हलहरूमा

काठमाडौं, असोज २
दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार पोस्टरसँगै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराईलीलाई देखाइएको छ। उनीहरू एकअर्काको अंगालोमा प्रस्तुत भएका छन् भने अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको पात्रमा देखिन सक्ने अनुमान गराइन्छ। महेश गम्भीर मुद्रामा देखिएका छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त भावमा प्रस्तुत भएकी छन्। महेशको गम्भीर आँखाले उनीहरूको सम्बन्धमा उतारचढाव आउने संकेत दिन्छ।
फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ, जसले भौतिक अस्तित्वभन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई उचाल्ने प्रयास गरेको बुझिन्छ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बनेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो। बाइस्कोपको एकल ब्यानरमा बनेको पहिलो प्रोजेक्टका रूपमा ‘परान’ प्रस्तुत गरिएको प्रबन्ध निर्देशक रन्जित आचार्यले जानकारी दिए।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा रहेका छन्। साथै महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहेको छ।
दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। निर्देशक आचार्यले फर्स्टलुकसँगै प्रचारप्रसारको सुरुवात भएको बताउँदै भने, “अहिलेसम्म फिल्मलाई राम्रो बनाउनमै ध्यान दियौं। पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको छ, अब तीव्र गतिमा प्रचारमा लाग्छौं।”
रिदम कंडेलको संगीतमा तयार गीतहरूमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको छायांकन र मित्र डि. गुरूङको सम्पादन रहेको फिल्म दसैं–तिहारलगत्तै कात्तिक १४ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्