‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको वर्कसप सुरु
काठमाडौं – नेपाली कथा साहित्यका प्रतिष्ठित लेखक गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ।
सिनेमालाई अझ प्रभावशाली बनाउन निर्माण पक्षले मुख्य कलाकारहरूलाई एउटै स्थानमा भेला गरी चरित्र निर्माण तथा अभिनय अभ्यासका लागि वर्कसप सञ्चालन गरेको हो।

वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत कलाकारको सहभागिता रहेको छ। उनीहरू आ–आफ्नो भूमिकामा गहिरिएर काम गर्न अभ्यासरत छन्।
निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सहभागी भएका छन्। निर्माता पोखरेलले सिनेमा उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको जानकारी दिएका छन्।
लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको सिनेमाका गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन्।
निर्माण टोलीका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिना अघि उनको निवासमै पुगेर संगीत प्रयोगका लागि औपचारिक सहमति लिइएको हो।
सिनेमाको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका रमणीय स्थानहरूमा सुरु गरिनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। प्राविधिक पक्षमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।
स्मरण रहोस्, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथालाई झण्डै ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल बनेको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने हाल सार्वजनिक गरिएको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस्