‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री
काठमाडौं – आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले उक्त दुई देशका लागि वितरण अधिकार खरिद गरेको निर्माण पक्षले जानकारी दिएको छ।

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा तयार हुँदै गरेको यस फिल्मलाई विदेशमा पनि उल्लेखनीय माग बढ्न थालेको छ। मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने तयारीमा रहेको यस फिल्मका अन्य देशका लागि पनि वार्ता भइरहेको र छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक पन्तले बताए।
निर्माण पक्षका अनुसार पछिल्लो समय नेपाली फिल्मको लोकप्रियता नेपाल मात्र नभई विदेशमा पनि बढिरहेको छ। यो क्रेज बढाउनमा अभिनेता पल शाह र ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेतीको अनुबन्ध पनि प्रमुख कारण हो।
यस फिल्ममा पल शाह र उषा उप्रेतीसँगै सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त, तथा दक्षिण भारतीय चर्चित अभिनेता प्रदीप रावतको अभिनय रहनेछ। उनीहरू सबै फिल्मका लागि फाइनल भइसकेका छन्।
यही महिनाबाट छायांकन सुरु हुने जानकारी दिँदै निर्माण पक्षले अन्य कलाकार तथा प्राविधिक छनोटको काम अन्तिम चरणमा रहेको जनाएको छ।
फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। ‘आ बाट आमा’ आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्