निखिल उप्रेतीको ´आचार्यमा अञ्जन थापा अनुबन्धित

नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित नायक निखिल उप्रेतीले निर्देशन एवं निर्माण गर्दै गरेको एक्सन फिल्म ‘आचार्य’ आगामी भदौ ५ देखि भारतमा छायांकन सुरु गर्ने भएको छ। करिब ६० दिन सम्म भारत र नेपाल दुवै देशमा गरिने छायांकनका लागि सबै तयारी पूरा भइसकेको छ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा अन्जन थापा अनुबन्धित भएका छन्। फुटबल मैदानबाट आफ्नो करियर सुरु गरेका उनले पछिल्लो समय अभिनय क्षेत्रमा उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन्।

उनले एक्सन फिल्म ‘कालमान्डु’ मा खलनायकको भूमिका निर्वाह गरेका छन्, जुन छिट्टै प्रर्दशनमा आउँदैछ। यस्तै, उनी ‘11 Hrs Section A’ वेब सिरिज, विभिन्न म्युजिक भिडियोहरू लगायतका अन्य प्रोजेक्टमार्फत पनि दर्शकमाझ आइरहेका छन्।

अन्तर्राष्ट्रिय फिल्म डेटाबेस IMDB मा उनले “Portrait of Young Criminal” का रूपमा रेटिङ पाएका छन्, जसले उनको कलाकारितालाई अन्तर्राष्ट्रिय तहमै मान्यता दिएको स्पष्ट हुन्छ।

‘आचार्य’ मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, उषा उप्रेती, सुरेश कोहली, सयानम अधिकारी तथा केही भारतीय कलाकारहरूको अभिनय रहनेछ।

फुटबल मैदानको यात्राबाट सुरु भएको अन्जन थापाको मेहनत र समर्पण अब ठूलो पर्दामा नयाँ मोडमा प्रवेश गर्दैछ। ‘आचार्य’ मार्फत उनको कलाकारितामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

Share Post on Social media