अनुप विक्रम शाही र मिलन चाम्स फेरि एकसाथ, ‘सुम्निमा’ मा चौथो सहकार्य

काठमाडौं,साउन ७:-नेपाली सिनेमा जगतका चर्चित अभिनेता अनुप विक्रम शाही र सफल निर्देशक मिलन चाम्सबीच पुनः सहकार्य हुने भएको छ। निर्देशक चाम्सको निर्देशनमा बन्न लागेको नयाँ प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा शाही अनुबन्धित भएका छन्। यो फिल्ममार्फत दुबैले चौथोपटक सहकार्य गर्न लागेका हुन्।

यसअघि शाही र चाम्सले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ जस्ता चर्चित फिल्महरूमा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि उनीहरूबीच पुनः सहकार्य हुन लागेको हो। अभिनेता शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले आफ्नो करिअरकै नयाँ र चुनौतीपूर्ण भूमिका निर्वाह गर्दैछन्, जसका लागि उनी हाल कडा तयारीमा जुटिरहेका छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको ‘सुम्निमा’ को नामले नारीप्रधान लागे पनि चलचित्र भने विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले स्पष्ट पारेका छन्। फिल्ममा प्रमुख अभिनेत्रीको भूमिकामा उपासना सिंह ठकुरी र अर्का अभिनेता कुन्साङ बमजन पहिल्यै अनुबन्धित भइसकेका छन्।
चलचित्रको कथा राजीव थापाले लेखेका हुन्। छायांकन आउँदो अगस्ट महिनाबाट लन्डन र नेपालका विभिन्न स्थानमा हुने जानकारी दिइएको छ। अन्य कलाकार तथा प्राविधिकहरूको चयन प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ।
हालै चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान कायम गरेको छ। निर्देशक चाम्सले ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै उच्चस्तरीय प्रस्तुति दिने योजना रहेको बताए।
–अदृश्य संवाददाता | Adrisya Sanchar
आफ्नो प्रतिक्रिया दिनुहोस्