‘एक्टिङ स्टार’मा उजागर भयो एक साहसी महिलाको प्रेम र समर्पणको जीवनगाथा

सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक कथा नबिना रानाभाटको अभिनयमार्फत मञ्चमा जीवित

काठमाडौं ।
लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’ को पछिल्लो एपिसोडमा एक साहसी महिलाको माया, समर्पण र पीडाले भरिएको जीवनकथा प्रस्तुत गरियो, जसले सम्पूर्ण स्टुडियोलाई भावुक बनायो।

यो प्रस्तुति सृजना सुवेदी र दिवंगत श्रीमान् विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित थियो। विवेक ब्रेन क्यान्सरबाट पीडित थिए, र सृजनाले अन्तिम क्षणसम्म देखाएको समर्पण, माया र साथलाई प्रतियोगी नबिना रानाभाटले यति जीवन्त रूपमा प्रस्तुत गरिन् कि दर्शक, निर्णायक र प्राविधिक टिम सबै स्तब्ध बने।

नाटकीय प्रस्तुति, जीवनको पीडा र प्रेरणा

नबिनालाई अभिनयमा दीपेश खत्री र अनुप भण्डारीले साथ दिएका थिए। विशेषगरी अन्तिम दृश्य — जहाँ सृजनाले विवेकलाई अन्तिम बिदाइ दिइरहेकी छन् — त्यस्तो मार्मिक बन्यो कि केही समय छायांकन समेत रोक्नु परेको आयोजकले जनाएका छन्।

यसअघि, शोको टिमले नबिनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराएको थियो। सृजनाले आफ्नो पीडादायी तर प्रेरणादायी कथा सविस्तार सुनाउँदै मञ्चमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्। त्यही भावनाले भरिएको अभिनय देखेपछि धेरैको आँखाबाट आँसु रोकिएनन्।

‘एक्टिङ स्टार’ले सुरु गर्यो यथार्थ र संवेदनशीलताको युग

‘एक्टिङ स्टार’ले केवल अभिनय प्रतियोगिता मात्र नभई जीवनका यथार्थ र संवेदनशील पक्षहरूलाई मञ्चमा ल्याउने माध्यमका रूपमा आफूलाई स्थापित गरिरहेको देखिन्छ। यस्ता प्रस्तुतीहरूले नेपाली दर्शकको मनमा गहिरो प्रभाव पारिरहेको छ।

१३ प्रतिस्पर्धी फाइनलमा, भोटिङ सुरु

महक मिडिया नेटवर्कको आयोजनामा सञ्चालित यस शोका लागि नेपालभरि तथा भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट समेत अडिसन खुलेका थिए। हजारौं प्रतिस्पर्धीमध्ये हाल १३ जना उत्कृष्ट प्रतियोगी फाइनल चरणमा प्रवेश गरिसकेका छन्।

शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे OSR Reality YouTube च्यानल र AP1 HD टेलिभिजनमार्फत प्रशारण भइरहेको छ।

नेपालबाट भोट गर्न: ‘OSR Connect’ एप डाउनलोड गरी ‘Acting Star’मा क्लिक गर्नुहोस्।

विदेशबाट भोट गर्न: ‘Cinemaghar’ एप प्रयोग गर्न सकिन्छ।

बिजेतालाई नगद २० लाख र चलचित्रको अवसर

शोको विजेताले नगद २० लाख रुपैयाँसहित नेपाली चलचित्रमा अभिनयको अवसर प्राप्त गर्नेछन्।

फर्स्ट रनरअप: १० लाख रुपैयाँ

सेकेन्ड रनरअप: ५ लाख रुपैयाँ

अब “पहिलो एक्टिङ स्टार को बन्ने?” भन्ने निर्णय दर्शकको भोटले तय गर्नेछ। महक मिडिया नेटवर्कले सबैलाई आ–आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न आग्रह गरेको छ।

Share Post on Social media