नीता ढुङ्गानाको नयाँ निर्देशनमा कबीर लाल र शाहिद लालको सहकार्य
काठमाडौं — अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निर्देशित नयाँ नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल आबद्ध भएका छन्। निर्माण टिम र छायाँकारबीच आइतबार औपचारिक सम्झौता सम्पन्न भएको हो।

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा लामो अनुभव हासिल गरिसकेका कबीर लालले हिन्दी, तेलुगु, तमिल र कन्नड भाषाका ८० भन्दा बढी फिल्ममा छायांकन गरिसकेका छन्। यस्तै, शाहिद लाल मुख्यतया तेलुगु र कन्नड फिल्महरूमा व्यस्त रहँदै आएका छन्।

नीता ढुङ्गानाको दोस्रो निर्देशन रहेको ‘सुख–दुख’ मा प्राविधिक पक्षलाई प्राथमिकतामा राखिएको छ। हालसम्म कलाकारहरूको टुंगो नलागेको निर्देशक ढुङ्गानाले जानकारी दिएकी छिन्। फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेलाई दिइएको छ।
फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले लिएको छ भने उपत्यकाबाहिर एफडी कम्पनीमार्फत वितरण गरिनेछ। निर्देशक ढुङ्गानाले उपत्यकाभित्रका लागि करण श्रेष्ठ र बाहिरका लागि छविराज ओझालाई जिम्मा दिएकी छिन्।
नीता फिल्म्सको ब्यानरमा निर्माणाधीन यो चलचित्र नेपाली सांस्कृतिक भावना र कथामा नवीनता ल्याउने प्रयासस्वरूप निर्माण गरिएको निर्देशक ढुङ्गानाको भनाइ छ। फिल्म दशैंको फूलपाती लक्षित गर्दै आगामी वर्ष रिलिज गर्ने तयारीमा छ।
यसअघि उनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ह्रस्वदीर्घ’ दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस्