२०८२ मंसिर २२, सोमवार

पूर्व मिस नेपाल उषा खड्गी चलचित्र यात्रामा सक्रिय, ‘जेरी अन टप’ मा दमदार आमाको भूमिकामा

पूर्व मिस नेपाल २००० उषा खड्गी हाल नेपाली चलचित्र क्षेत्रमा अभिनयको नयाँ यात्रामा सक्रिय बन्दैछिन्। म्युजिक भिडियोमा कहिलेकाहीँ देखिँदै आएकी उनी अब ठूला पर्दामा निरन्तर उपस्थित हुन थालेकी छिन्।

उनले आफ्नो अभिनय यात्रा महानायक राजेश हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ बाट सुरु गरेकी हुन्, जहाँ उनले कलाकार सरोज खनालकी श्रीमती र नायिका सनिशा भट्टराईकी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

त्यसपछि सार्वजनिक भएको फिल्म ‘माग्ने राजा’ मा उनले व्यङ्ग्यात्मक राजनीतिक भाउजुको भूमिकामा छोटो तर प्रभावशाली अभिनय प्रस्तुत गरेकी थिइन्।

हालै प्रदर्शनमा आएको र ब्लकबस्टरको यात्रामा अघि बढिरहेको चलचित्र ‘जेरी अन टप’ मा उनले सुपरस्टार भुवन के.सी.की श्रीमती र अनमोल के.सी.की आमाको भूमिका निभाएकी छिन्। दर्शकहरूले उनको अभिनयको प्रशंसा गर्दै “जेरीको मामु कति राम्रो!” भन्ने प्रतिक्रिया दिएका छन्, जसले उनलाई अत्यन्त उत्साहित बनाएको उनले बताएकी छिन्।

उनी भन्छिन् — “राम्रो स्क्रिप्ट आइरहेका छन्, अहिले केही अध्ययन गर्दैछु। यदि छोटो भए पनि इम्प्याक्ट पार्ने भूमिका भयो भने म अवश्य खेल्छु।”

उषा खड्गीले हालै २–४ वटा नयाँ चलचित्रका प्रस्तावहरू प्राप्त गरेकी छन् र उनी स्क्रिप्ट अध्ययनको चरणमा रहेकी छिन्। उनका अनुसार, अबको लक्ष्य “गहिरो अभिनय र सशक्त चरित्र” प्रस्तुत गर्ने हो।

अदृश्य संचारको तर्फबाट अभिनेत्री उषा खड्गीलाई सफल अभिनय यात्राका लागि हार्दिक शुभकामना।

चलचित्र प्रचार–प्रसार र प्रवर्द्धनमा समर्पित नाम — रुबि श्रेष्ठ

काठमाडौं:-नेपाली चलचित्र क्षेत्रको पछिल्लो पुस्तामा प्रचार–प्रसार, प्रवर्द्धन र समन्वयमा समर्पित एक परिचित नाम हुन् — रुबि श्रेष्ठ। करिब आठ वर्षदेखि नेपाली सिने क्षेत्रको प्रचार–प्रसारमा सक्रिय रहेकी उनी पछिल्ला सफल र प्रभावकारी चलचित्रहरूसँग जोडिएकी छिन्।

रुबिले आफ्नो सिनेजगतको यात्रा ‘मेरि मामु’ चलचित्रबाट सुरु गरेकी थिइन्। यही फिल्ममार्फत उनी आसुसेन फिल्म प्रोडक्सनसँग आवद्ध भइन्, जहाँबाट उनलाई चलचित्र क्षेत्रको व्यावसायिक ज्ञान, अनुभव र दिशानिर्देश प्राप्त भयो। उनी भन्छिन्, “मेरो पहिलो फिल्म नै मेरो विद्यालय थियो — म त्यहीँबाट धेरै कुरा सिकेँ।”

त्यसपछि रुबिले ‘इन्टु मिन्टु लन्डनमा’, ‘प्रेम गीत–३’, र ‘बेहुली फ्रम मेघौली’ जस्ता सफल चलचित्रहरूको प्रचार–प्रसारमा पनि उल्लेखनीय योगदान दिइन्। यी सबै चलचित्रहरूले प्रदर्शनपछिको बजारमा राम्रो प्रभाव पारेका थिए र रुबिको योजनाबद्ध प्रचार–रणनीतिले त्यसमा विशेष भूमिका खेलेको मानिन्छ।

रुबिको प्रचार यात्रा पछिल्लो वर्षहरूमा झन् प्रभावकारी बन्दै गएको छ। दिवाकर भट्टराईद्वारा निर्देशित चलचित्र ‘मायावी’ र निर्देशक सागर खनालको डेब्यु फिल्म ‘११:५५ (Do Not Trust Anyone)’ दुबै चलचित्रहरू उनले प्रचार–प्रसारमा सघाएको करिब ६–७ महिना अगाडि रिलिज भएका थिए। यी दुबै फिल्मले सिनेमा हलमा राम्रो प्रतिक्रिया पाएका थिए र रुबिको पेशागत निष्ठा र टीमवर्क त्यसमा स्पष्ट रूपमा झल्किएको थियो।

यस वर्षको दशैं (२०८२ असोज) मा प्रदर्शनमा आएको ‘बलिदान’ चलचित्रमा पनि रुबि श्रेष्ठ सक्रिय रूपमा प्रचार–प्रसारमा संलग्न थिइन्। अभिनेता समीर भट्टको मुख्य भूमिका र निर्माता/निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रको प्रचार अभियानमा उनको भूमिका विशेष प्रशंसा योग्य रह्यो।

रुबिले बताएकी छिन् कि निर्माता सन्तोष सेनसँगको सम्बन्ध र अनुभव उनको जीवनको सबैभन्दा महत्वपूर्ण अध्याय हो। उनी भन्छिन्, “सन्तोष सेन दाइबाट मैले व्यावसायिकता मात्र होइन, जीवनको दृष्टिकोण पनि सिकेँ। उहाँ मेरो लागि अभिभावक जस्तै हुनुहुन्छ।”

सामाजिक सञ्जालमा सक्रिय रुबि बाल्यकालदेखि नै मिडिया र अभिनयप्रति आकर्षित थिइन्। काठमाडौँमा बसोबास गर्दै आएकी उनले BHM अध्ययन पूरा गरेकी छन्। एक वरिष्ठ चलचित्रकर्मीमार्फत पहिलो पटक फिल्म क्षेत्रमा प्रवेश गर्ने अवसर पाएकी उनी ‘कडा दस’ नामक चलचित्रबाट पर्दामा देखिएकी थिइन्।

त्यसपछि उनले ‘रानी’ चलचित्रको गीत हेरेर नायक स्वर्गीय सारुक ताम्राकारप्रति रुचि जनाइन्, र यही सम्बन्धमार्फत उनी आसुसेन फिल्म प्रोडक्सनमा पुगेकी थिइन्। रुबि भन्छिन्, “सारुकको कारण नै म आजको ठाउँमा छु। उहाँ अहिले हामीमाझ हुनुहुन्न, तर उहाँकै प्रेरणाले म अझै पनि यस क्षेत्रमा निरन्तर छु।”

उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छिन्। विशेषगरी भाइ आभासको साथ र हौसला बिना यो यात्रा सम्भव नहुने बताउँछिन्। “परिवारको समर्थनले नै मलाई बलियो बनाएको हो। म हरेक निर्णय अघि भाइसँग सल्लाह गर्छु,” उनी भन्छिन्।

सरल, सभ्य र मेहनती स्वभावकी रुबि श्रेष्ठको विचारमा —
“काम सानो वा ठूलो हुँदैन, मिहिनेत र लगनशीलता नै सफलताको कुञ्जी हो।”

नेपालको चलचित्र प्रचार–प्रसार क्षेत्रलाई व्यावसायिक, योजनाबद्ध र प्रभावकारी बनाउन रुबिले पुर्याएको योगदान उल्लेखनीय छ। उनी जस्ता समर्पित व्यक्तित्वहरूको कारण अहिले नेपाली सिने उद्योगमा ‘पर्दापछाडिका नायिका’ हरूको भूमिकाको सम्मान र मूल्याङ्कन बढ्दै गएको देखिन्छ।

सम्पादकको टिप्पणी:
रुबि श्रेष्ठ जस्ता युवाहरूले चलचित्र उद्योगमा ल्याएको व्यावसायिक सोच, ऊर्जा र समर्पणले भविष्यको नेपाली सिने क्षेत्र अझ सुदृढ, योजनाबद्ध र विश्वसनीय बन्ने स्पष्ट सङ्केत दिन्छ।

‘मैझारो’को ट्रेलर सार्वजनिक, प्रेम र संघर्षको कथामा धिरज–मिरुनाको जोडी

काठमाडौं । विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार तीन मिनेट ४९ सेकेण्डको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा प्रेमका लागि गरिएको संघर्ष र त्यसपछि उत्पन्न भएका समस्याहरूलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, र दयाहाङ राई प्रमुख भूमिकामा देखिएका छन्। निर्देशक विल्सन आफैं पनि अभिनयमा छन्।

यसअघि निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसकेको छ — एउटा रोमान्टिक लभ सङ र अर्को पूर्वमा प्रचलित नाच ‘साकेला’मा आधारित गीत। दुवै गीतले सोशल मिडियामा उल्लेखनीय हाइप पाएको छ।

पूर्वको इलाम–पाँचथर आसपासमा खिचिएको यो फिल्म विल्सन राईकै कथा हो। तक्मे प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा धिरज र मिरुनासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय समावेश छ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ भने राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको आवाज रहेको छ। छायांकन सौरभ लामाले गरेका छन्।

आरआर फिल्म्सले फिल्मको वितरण जिम्मा लिएको छ भने ओएसआर डिजिटलले डिजिटल अधिकार लिएको छ।
फिल्म आगामी तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

‘माइतीघर’पछि निर्देशक मिलन तामाङको नयाँ फिल्म ‘कहाँ भेटिएला’ घोषणा

काठमाडौँ — सफल फिल्म ‘माइतीघर’ का निर्देशक मिलन तामाङले आफ्नो नयाँ चलचित्र ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन्। निर्माण टिमका अनुसार, फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना रहेको छ।

यसअघि ‘माइतीघर’ मार्फत डेब्यु निर्देशन यात्रा सुरु गरेका तामाङ अहिले देशभरका दर्शकमाझ चर्चित नाम बनेका छन्। सोही फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्दै २०८२ सालको नम्बर १ डेब्यु निर्देशक को उपाधि समेत उनलाई दिलाएको छ।

निर्देशक तामाङले भने, “अहिले हामीले फिल्मको टाइटल मात्र सार्वजनिक गरेका हौं। केही दिनमा फिल्मका कलाकार र प्राविधिक टिमबारे सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौं।” उनका अनुसार, फिल्मका गीत दृश्यहरू माघ महिनामा छायांकन गरिने छन् भने प्रदर्शन मिति भने हाललाई तय गरिएको छैन।

दशैंको फुलपातिमा प्रदर्शनमा आएका ‘हरि बहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ मध्ये दर्शकले निर्देशनका हिसाबले ‘माइतीघर’ लाई उत्कृष्ट मानेका थिए। सो फिल्मले नेपाली फिल्म निर्देशनमा नयाँ स्तर स्थापित गरेको भन्दै तामाङको प्रशंसा भइरहेको छ।

फिल्म विश्लेषकहरूका अनुसार, हाल ‘माइतीघर’ र निर्देशक मिलन तामाङ दुवै देशभरका चोक–चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेका छन्।

आफ्नो नयाँ परियोजनाबारे उत्साहित देखिएका निर्देशक तामाङ भन्छन् —

“‘माइतीघर’ बाट पाएको माया र भरोसालाई अझ सुदृढ बनाउँदै, ‘कहाँ भेटिएला’ लाई नेक्स्ट लेभलमा लिएर जानेछु। दर्शकले यसमा नयाँ अनुभूति पाउनेछन्।”

‘माइतीघर’ अहिले पनि देशभर प्रदर्शनरत छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अब दर्शकहरूलाई मिलन तामाङको अर्को सिर्जना ‘कहाँ भेटिएला’ को प्रतीक्षा छ।

‘मुगलान’को फस्ट लुक सार्वजनिक, पुस १० गतेबाट प्रदर्शनमा

काठमाडौं :-रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५) देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। पोस्टरमा प्रभात बासुरी बजाउन लागेको दृश्यमा देखिन्छन् भने स्मारिका लजालुपनमा प्रस्तुत भएकी छन्, जसले उनीहरूबीचको प्रेमकथाको संकेत गर्दछ। पोस्टरले नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमिमा आधारित कथाको झल्को दिएको छ।

फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब. पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको लेखन र निर्देशन आशिष ढकालले गरेका हुन् भने गोमन सिंह निर्माता र रिता चौधरी सह–निर्मात्री रहेकी छन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, कोरियोग्राफी देवेन्द्र कुँवर, र छायांकन (DOP) अजय रेग्मीले सम्हालेका छन्।

संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) रहेका छन्। गीतका शब्दहरू आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी)ले लेखेका हुन्।

निर्माण टिमका अनुसार, ‘मुगलान’ ले युवाहरूको परदेश जाने सपना, गाउँघरको प्रेम र जीवनका संघर्षहरूलाई सशक्त रूपमा चित्रण गर्नेछ। अहिले फिल्मको प्रचार–प्रसार तीव्र गतिमा अघि बढाइएको छ। फिल्मको वितरण जिम्मा आर आर फिल्म्सले लिएको छ!

‘परान’को पोएटिक टिजर सार्वजनिक : बाबुको छोराप्रतिको अमर विश्वास

– निर शाहको जन्मदिन पारेर टिजर रिलिज

काठमाडौं । आगामी कार्तिक १४ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘परान’ले आफ्नो पोएटिक टिजर सार्वजनिक गरेको छ।
वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस टिजरमा कवि नवराज पराजुलीका शब्द र आवाजमार्फत फिल्मको भावनात्मक गहिराइ प्रस्तुत गरिएको छ।

कविता मार्फत जीवनको उत्तरार्धमा पुगेका एक बाबुले आफ्ना छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने मर्म व्यक्त गरेका छन्। पराजुलीका मन छुने पंक्तिहरू यसरी गुञ्जिएका छन् —

“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन।”

“ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए,
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन।”

यी कवितात्मक पंक्तिहरूमा ‘परान’ शब्द स्वयं बाबु–छोराको सम्बन्धको प्रतीक बनेको छ।

टिजरमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका कलाकार देख्न सकिन्छ।
टिजरले फिल्मले बाबु–छोराबीचको सम्बन्ध, सामाजिक दबाब र जीवनका उकाली–ओराली उजागर गर्ने संकेत दिएको छ।

‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो।
फिल्ममा रिदम कंडेलको संगीत, शिवराम श्रेष्ठको छायांकन (DOP) र मित्र डि. गुरुङको सम्पादन रहेको छ।
गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर सुन्न सकिन्छ।

‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो, जसमा गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको छ।
देशकै प्रतिष्ठित व्यापारिक समूहको निर्माणमा बनेकाले पनि यो फिल्मलाई दर्शकले विशेष उत्साहका साथ पर्खिरहेका छन्।

‘मैझारो’ प्रचारमा ताते विल्सन विक्रम राई, अटोदेखि इ–रिक्सासम्म ‘मैझारो’मय वातावरण

काठमाडौं ।कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को प्रचार–प्रसार देशभर तात्न थालेको छ। फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राई (तक्मे बुढा) स्वयम् देशका विभिन्न शहरमा पुगेर सांगीतिक प्रस्तुति दिँदै आफ्नो फिल्मलाई दर्शकमा पुर्‍याउन व्यस्त छन्।

पूर्वका सहरहरूमा अहिले ‘मैझारो’को माहोल व्यापक देखिन्छ। धरान, इटहरी, बेलबारी, दमक र बिर्तामोडलगायत क्षेत्रका इ–रिक्सा र अटोहरू फिल्मका पोस्टरले भरिएका छन्। सडकदेखि बजारसम्म ‘मैझारो’मय वातावरण सिर्जना भएको छ।

निर्देशक राईले आफ्नो टिमसहित सांगीतिक धमाका गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने अभियान थालेका हुन्। उनीसँगै ‘राई इज किङ’ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ, र फिल्मका मुख्य कलाकारहरूले बेजोड प्रस्तुति दिइरहेका छन्।

बिहीबार धरानमा भएको कन्सर्टमा हजारौँ दर्शकको उपस्थितिले ‘मैझारो’ टीमको उत्साह बढाएको थियो। आज (असोज २५) भने निर्देशक राईको गृह जिल्ला झापाको बिर्तामोडस्थित मुक्तीचोकमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ।

“हामी प्रचारमा कुनै कमी गर्न चाहँदैनौं,” निर्देशक राईले भने, “सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनका साथ फिल्म हलमा दर्शकलाई ल्याउने हाम्रो प्रयास हो। यो नयाँ र प्रभावकारी तरिका पनि हो।”

यसअघि फिल्मका पोस्टर, टिजर र दुईवटा गीतले दर्शकको मन जितिसकेका छन्। तर निर्देशक राई अझ बढी प्रभाव पार्न चाहँदै देशभर ‘मैझारो’को रौनक फैलाइरहेका छन्।

उनकै लेखन र लगानीमा बनेको यो डेब्यु निर्देशन मौलिक प्रेमकथामा आधारित छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ भने स्वरमा राजेश पायल राई, मेलिना राई, झुमा लिम्बू र अस्मिता अधिकारी छन्।
सौरभ लामाले खिचेको यो फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्दैछ भने ओएसआर डिजिटल ले यसको डिजिटल अधिकार लिएको छ।

तिहारमा सार्वजनिक हुँदै छोटो चलचित्र ‘ऐना (Mirror)’

काठमाडौं :-निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना (Mirror)’ यस वर्षको तिहारमा सार्वजनिक हुने भएको छ। निर्माण पक्षले यस चलचित्रलाई युएनए डिजिटल युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा रिलिज गर्न लागेको हो।

केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो छोटो चलचित्रको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईंले बताएकी छन्। उनी भन्छिन्, “‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र क्षणमा एउटा कथा लुकेको हुन्छ — यही नै यस चलचित्रको सार हो।”

चलचित्र ‘ऐना (Mirror)’ ले तिहारको उज्यालो, आत्मचिन्तन र माया–संबन्धको गहिरो भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइएको छ। चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको छ।

यस छोटो चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीको सशक्त अभिनय रहेको छ। उनीहरूको संवेदनशील र यथार्थपरक प्रस्तुतीले दर्शकको मन छुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन्।
केपी फिल्म्सको प्रस्तुतिमा तयार गरिएको यो चलचित्र युएनए डिजिटलमार्फत तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ।

निर्देशक कृशा चौलागाईं यसअघि ‘पिताम्बर’, ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्। उनी फिल्म निर्देशनमा आउनु अघि निर्माताका रूपमा परिचित थिइन्।

नयाँ मोडेल स्वाती पञ्जियार म्युजिक भिडियोमार्फत डेब्यु गर्दै

जनकपुरकी प्रतिभाशाली चेली स्वाती पञ्जियार नेपाली संगीत क्षेत्रमा आफ्नो कलात्मक यात्रा प्रारम्भ गर्न लागेकी छिन्। केही समयअघि उनले मिस नेपाल २०२५ मा मिथिला–मधेश प्रदेशको राजधानी जनकपुरको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गरेकी थिइन्। प्रतियोगिताका विभिन्न चरणसम्म पुग्दै उनले आफ्नो आत्मविश्वास, व्यक्तित्व र आकर्षक उपस्थितिद्वारा न्यायाधीश तथा दर्शक दुवैको ध्यान तान्न सफल भएकी थिइन्।

अब उनी मिथिलाको महान पर्व छठलाई केन्द्रमा राखी तयार हुन लागेको म्युजिक भिडियोमार्फत मनोरञ्जन क्षेत्रमा औपचारिक डेब्यु गर्न तयारी अवस्थामा छिन्।

शाह इन्टरटेनमेन्ट कम्पनीका अनुसार स्वाती पञ्जियार अभिनीत उक्त म्युजिक भिडियोको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। कम्पनीले गत १० वर्षको सफल यात्रापछि यो प्रोजेक्टलाई अझ भव्य, सशक्त र सांस्कृतिक रूपमा गहिरो सन्देशयुक्त बनाउने लक्ष्य राखेको जनाएको छ। उनिलाई हालसालै भएको मिस नेपाल २०२५ को प्रतिस्पर्धाको अनुभव पनि छ। उनी प्रतिस्पर्धि मध्य कि एक हुन।।

शाह इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यस भिडियोले मिथिला–मधेश क्षेत्रको संस्कृति, आस्था र सौन्दर्यलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार दर्शकहरूले यसलाई एक उच्चस्तरीय दृश्य–श्रव्य अनुभवका रूपमा ग्रहण गर्ने विश्वास गरिएको छ।

हाल स्वाती पञ्जियार भिडियोका लागि अन्तिम तयारीमा व्यस्त छिन् र आफ्नो पहिलो डेब्युलाई अविस्मरणीय बनाउने दृढ संकल्पसहित मेहनत गरिरहेकी छिन्।

उदीयमान मोडेल स्वाती पञ्जियारलाई आगामी कलात्मक यात्राका लागि हार्दिक बधाई तथा शुभकामना।

उदाउँदा सिनेमाटोग्राफर – जसले अस्ट्रेलिया त्यागेर फर्किए

हामी प्रायः चलचित्रमा देखिने कलाकारहरूलाई मात्रै चिन्छौँ, तिनीहरूको संघर्ष सुन्छौँ।
तर पर्दा पछाडि रहने ती हातहरू जसले एउटा दृश्यलाई जादुजस्तो देखिन्छ बनाउँछन् — तिनको कथा भने प्रायः अनसुनी रहन्छ।
निर्देशकदेखि लिएर टेक्निसियन, मेकअप आर्टिस्टदेखि क्यामेरा असिस्टेन्टसम्म — हिरोलाई ‘हिरा’ बनाउनेमा उनीहरूको हात बराबरको हुन्छ।

आजको अंकमा हामी त्यही पर्दापछाडिका एक प्रेरणादायी व्यक्तित्व — कृष्णबहादुर थापा — का कुरा गर्दैछौँ, जसले अस्ट्रेलियाको रङ्गीन जीवन त्यागेर आफ्नै देशमा सम्भावनाको नयाँ कथा लेखिरहेका छन्।

क्यामेराको क्लिकबाट कथा जन्माउने मानिस

“क्यामेराको प्रत्येक क्लिकले कथा जन्माउँछ, दृश्यले आत्मा बोलाउँछ।”
यी शब्दहरूलाई आफ्नो कामबाट साकार पार्दै आएका कृष्णबहादुर थापाको यात्रा संघर्ष र आत्मविश्वासले भरिएको छ।
लमजुङको बेसिसहरबाट यात्रा सुरु गरेका उनले १५ वर्षअघि काठमाडौँ आएर अस्लेसा फिल्म्स मा क्यामेरा टेकरको रूपमा आफ्नो सिनेमाजगतको बाटो सुरु गरे।
त्यो समय उनले लाइट र क्यामेराको आधारभूत ज्ञान सिक्दै अघि बढे।
तर उनको सपना मात्र ‘क्यामेरा टेकर’ बन्ने होइन, एकदिन नेपालकै अग्रणी Director of Photography (DOP) बन्ने थियो।

शून्यबाट सुरु भएको यात्रा

क्यामेरा टेकरदेखि सिनेमाटोग्राफरसम्मको यात्रामा उनले नेपाली, भारतीय र अमेरिकी छायाङ्कारहरूसँग काम गर्ने अवसर पाए।
उनीहरूबाट सिकेका सीप, दृष्टिकोण र कार्यशैलीलाई आत्मसात गर्दै उनले आफ्नो काममा निरन्तर सुधार ल्याइरहे।

काममा समर्पण, क्रु सदस्यप्रतिको सद्भावपूर्ण व्यवहार र विनम्रता — यी गुणहरूले नै उनलाई आज नेपालको प्रतिष्ठित फिल्म निर्माण कम्पनीहरूसँग जोडिदिएका छन्।
आज उनी त्यही कम्पनीका स्थायी र विश्वसनीय DOP मध्ये एकका रूपमा स्थापित छन्।
‘हुक्का’ बाट प्रारम्भ भएको सिनेमाटोग्राफीको अध्याय

करियरको दसौं वर्षमा उनले पहिलोपटक सन्तोष कुमार आत्रे को कथा र शम्भु थापाको निर्देशनमा बनेको चलचित्र ‘हुक्का’ (2022) बाट मुख्य सिनेमाटोग्राफरको रूपमा आफूलाई प्रमाणित गरे।
त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।

केही उल्लेखनीय कामहरू:

घर (2019) – AC

परस्त्री (2022) – AC

के घर के डेरा (2023) – Chief AC

भस्मे डन (2025) – Chief AC

प्रेमा (2023) – Cinematographer

के घर के डेरा: घर नम्बर २ – Cinematographer

ह्रस्व दिर्घ – Cinematographer

हरिबहादुरको जुत्ता – Cinematographer

मेयर सा’ब (Pending) – Cinematographer

हन्टर (Shooting) -Cinematographer
अस्ट्रेलिया छोडेर आफ्नै माटोमा फर्किने निर्णय

‘भस्मे डन’ पछि केही समयका लागि उनी अस्ट्रेलिया पुगे।
तर त्यहाँको आरामदायी जीवनले उनलाई रोक्न सकेन।
“यदि मैले नेपालमै संघर्ष गरेर केही गर्न सकेँ भने, यहीं अनगिन्ती अवसर छन्,” भन्ने सोचका साथ उनले देश फर्कने निर्णय गरे।

फर्किएपछि छोटो समयमै उनले चारवटा चलचित्रको छायांकन पूरा गरे — जसले उनको समर्पण र पेशाप्रतिको प्रतिबद्धता प्रष्ट देखाउँछ।

अवार्ड र संस्थागत संलग्नता:-

कृष्णबहादुर थापा पछिल्ला वर्षहरूमा National Inclusive Music Awards 2023 र Kids Model of the Year 2022 मा जुरी सदस्यको रूपमा संलग्न भइसकेका छन्।
त्यसैगरी उनी हाल NEFTA (Nepal Film Technicians Association) का कोषाध्यक्ष पनि हुन्।

अब्बल DOP बाट ब्रान्ड बन्ने यात्रातिर

हालै उनले छायांकन गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आएको छ र दर्शकबाट राम्रा प्रतिक्रिया पाइरहेको छ।
उनको व्यावसायिकता, विनम्रता र दृष्टिकोणले उनलाई दर्शक र सहकर्मीबीच ‘विश्वसनीय नाम’ बनाएको छ।

विश्वास गर्न सकिन्छ — एकदिन कृष्णबहादुर थापा केवल एउटा नाम होइन,
नेपाली सिनेमाको ब्रान्ड बन्नेछन्।