२०८२ मंसिर २१, आइतवार

खुल्यो ‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन, गरियो औपचारिक घोषणा

अघिल्ला दुई सिजन सफलता पूर्वक सम्पन्न भएपछि र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ तेस्रो संस्करणसहित फर्किएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा ‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा गर्दै डिजिटल अडिसन सुरु गरिएको छ। अडिसन कार्तिक २५ गतेसम्म खुला रहनेछ।

नेपाली टेलिभिजनमा र्‍याप विधामा स्थापित एक मात्र चर्चित नामको रूपमा रहेको ‘नेपहपको श्रीपेच’ को यस सिजनको टाइटल स्पोन्सर ‘रेड बुल’ रहनेछ भने के.आई.ई.सी. कन्सल्टेन्सी सह–स्पोन्सरका रूपमा रहनेछ।

सहभागी हुन इच्छुक प्रतियोगीहरूले आफ्नो प्रस्तुतिको भिडियो www.nepalirap.com मार्फत अपलोड गर्न सक्नेछन्। साथै ‘नेपहपको श्रीपेच’को अफिसियल फेसबुक पेज, WhatsApp नम्बर 9707259961 र nephopkoshreepech@gmail.com मा पनि भिडियो पठाउन सकिनेछ। प्राप्त अडिसनहरूबाट जज राउन्डमार्फत उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ।

डिजिटल अडिसनका लागि आवश्यक बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ। सहभागीहरूले कपिराइट–फ्री बिट प्रयोग गरी पनि भिडियो बनाउन सक्नेछन्।

यस सिजनको विजेताले रु. १० लाख नगद, वर्ल्ड टुरको अवसर, तथा विभिन्न ब्रान्ड इन्डोर्समेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले रु. ५ लाख नगद तथा विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्।

‘नेपहपको श्रीपेच’को पहिलो सिजनका विजेता भाइबर साइमन, र दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन्। दामी मिडियाको प्रस्तुति रहेको कार्यक्रमको कन्सेप्ट र डिजाइन सुदिप पोखरेलले गरेका हुन्।

अघिल्लो संस्करणमा निर्णायकका रूपमा मानस घले, गिरिश खतिवडा, र महेश तामाङ ‘दोङ’ रहेका थिए। यस सिजनका लागि भने हालसम्म मानस घले र गिरिश खतिवडा मात्र सार्वजनिक भएका छन्। तेस्रो निर्णायक चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

कार्यकारी निर्माता आदर्श विष्ट, र निर्देशक टिमको नेतृत्व विक्रम खनालले गर्नेछन्। कार्यक्रम मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण हुनेछ। ब्राडकास्टिङ र भोटिङ पार्टनर केही दिनमै सार्वजनिक गरिने बताइएको छ।

रातो पुलमा नयाँ फिल्मकर्मी जक्सन: Metup Cafe & Restro

रातो पुलको ग्राउन्ड फ्लोरमा रहेको Metup Cafe & Restro अब मोन्स्टर र ओजस थिएटरसँगको सहकार्यमा फिल्मकर्मीहरूको लागि नयाँ जक्सनको रूपमा तयार हुँदैछ। यसको सफ्ट ओपनिङ कार्तिक २१ गते हुने जानकारी संचालक राम शरण थापाले दिनुभयो।

अदृश्य संचार यस मेटअप क्याफेको मिडिया पार्टनर रहेको छ। यहाँ सस्तो, सुलभ खाना, खाजा र अन्य परिकारहरू शान्त वातावरणमा आनन्द लिन सकिनेछ। कफि पारखीहरूका लागि पनि स्पेशल कफिहरू उपलब्ध हुनेछन्।

संचालकका अनुसार करिब २५ लाख भन्दा बढी लगानी भएको यस स्थानमा भविष्यमा ग्राहकहरूको रुचि अनुसार अझ सेवा थप्ने योजना रहेको छ। साथै, ओपनिङको जानकारी नभएका बेला पनि फिल्मकर्मी र अन्य ग्राहकहरू यहाँ आउन थालेका छन्, र उनीहरू हाम्रो सेवाबाट खुशी भएकोमा हामी पनि अत्यन्तै उत्साहित छौं।

फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक, देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने तयारी

काठमाडौं। आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसरमा निर्माण टिमले सार्वजनिक गरेको टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश देख्न सकिन्छ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा फिल्मका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने, “अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।”

विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक विजय केरुङका अनुसार टिजरमार्फत फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ। शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

प्रमोद खरेलको नयाँ गीत ‘रहरसँगै बाध्यता’ सार्वजनिक

काठमाडौं। लोकप्रिय आधुनिक गायक प्रमोद खरेलको स्वरमा नयाँ नेपाली गीत ‘रहरसँगै बाध्यता’ सार्वजनिक गरिएको छ।
गीतको प्रीमियर शो काठमाडौंको सुन्धारास्थित सिभिल ट्रेड सेन्टर, सि.डि.सि सिनेमाज हलमा सम्पन्न भएको हो। कार्यक्रममा चर्चित कलाकार जय किशन बस्नेत, चलचित्र कोसेढुङ्गा’ का निर्माता दिनेश खड्का, साथै समाजसेवी र वरिष्ठ कलाकारहरूको उपस्थिति रहेको थियो।

गीतमा संगीत रमेश खड्का र शब्द बिशाल केसीको रहेको छ। जीवनका यथार्थपरक भावनाहरू — रहर र बाध्यताको दोधारमा अड्किएको मानवीय मनोविज्ञानलाई गीतमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

भिडियोमा कृष्ण भक्त महर्जन, बिशाल केसी, परी शाक्य, शान्ता प्रजापति, क्रिस्टिना तम्राकार, सुनिल श्रेष्ठ, मनोज शाही, सुबिन महर्जन र सुसिल करञ्जितको सशक्त अभिनय देख्न सकिन्छ।

गीतको निर्देशन राजेन्द्र डंगोलले गरेका हुन् भने निर्माता सबिना दाहाल के.सी रहेकी छिन्। क्यामेरा तथा ड्रोन सञ्चालन सुमन शाक्य, कलर र सम्पादन इन्द्र मानन्धर, मेकअप बिन्दिरा श्रेष्ठ, र प्रोडक्सन म्यानेजर सुनिल श्रेष्ठ रहेका छन्।

भिडियो हाइलाइट्स नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतका भावनात्मक शब्द, मधुर संगीत र सशक्त प्रस्तुतीका कारण ‘रहरसँगै बाध्यता’ले श्रोतामाझ छिट्टै विशेष स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

Monster Films र Ojas Theatre मा ६ महिनाको थिएटर र फिल्म अभिनय कोर्स सुरु

काठमाडौं ।थिएटर र फिल्म अध्ययनमा सक्रिय संस्था Monster Films and Ojas Theatre ले ६ महिनाको ‘थिएटर अभिनय र फिल्म अभिनय कोर्स’ का लागि भर्ना खुला गरेको छ।

संस्थाले ‘Enhance your acting skills through intensive, practical training’ भन्ने नाराका साथ यो कोर्स सञ्चालन गर्न लागेको हो। यस प्रशिक्षणमार्फत विद्यार्थीहरूले अभिनयसँग सम्बन्धित व्यावहारिक ज्ञानका साथै नाट्य, चलचित्र, र चरित्र निर्माणका विविध विधा सिक्न पाउनेछन्।

कोर्सका मुख्य विषयहरू:

१. Theatre History and Performance
– नाटकको इतिहास, आवाज र उच्चारण, improvisation, र नाट्य संस्कृतिको अध्ययन। (Note: Culture drama show)

२. Theatrical Exercise
– शारीरिक चलन, समूह अभ्यास, मार्शल आर्ट, मिरर एक्टिङ, र एक्रो थिएटर। (Note: Play of body drama)

३. Theatre Craft
– स्टेज क्राफ्ट, लाइट र म्युजिकको ज्ञान, पोशाक निर्माण, स्क्रिप्ट रिडिङ, मोनोलग र म्युजिकल थिएटर। (Note: Monologue competition)

४. An Actor’s Preparation Techniques
– मेथड एक्टिङ, Meisner, Grotowski र Hagen प्रविधि अध्ययन।

५. Drama Making
– लेखन, निर्देशन, उत्पादन समयरेखा, मार्केटिङ र प्रमोशन।

६. Aayani Theatre
– कथा सङ्कलन, प्रस्तुति, कचहरी थिएटर र फील्ड भिजिट। (Note: School drama and Aagani theatre play)

७. Theatre Production and Drama Show
– रिहर्सल र मञ्चन अभ्यास।

८. Building a Character
– सिनेमाटिक क्यारेक्टरको प्रकार, चरित्र निर्माण प्रक्रिया, स्क्रिप्ट विश्लेषण, body language र imagination अभ्यास।

९. Acting on Stage and Camera
– दैनिक जीवनमा अभिनय, भूमिका खेल्ने कला, फिल्म र स्टेज अभिनयबीचको फरक, आन्तरिक–बाह्य तयारी र अभिनयका सूक्ष्म पक्षहरूको अध्ययन।

१०. Basic Scenarios of Film and Television
– निर्देशन, लेखन, सम्पादन, छायांकन, ध्वनि डिजाइन (Diegetic & Non-Diegetic) का आधारभूत ज्ञान।

कोर्स संयोजक र प्रशिक्षक टोली:
यस कोर्सको प्रमुख संयोजन सागर कार्कीले गरेका छन्। प्रशिक्षणमा सागर कार्की, चेतन शर्मा, रामबाबु रेग्मी, कुमार गजुरेल, अमीर के.सी लगायतका अनुभवी प्रशिक्षकहरूको सहभागिता रहनेछ।

स्थान: रातोपुल, काठमाडौं
फोन: 9844069106
WhatsApp: 9861181111

‘परान’ फिल्मले गर्यो १ लाख पुरस्कार दिने घोषणा, यस्तो छ पाउने तरिका

काठमाडौँ ।
आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरु लेख्न पाउनेछन् । साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।

निर्माणपक्षले सो तस्बिरमा आफ्नो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुबै वा श्रीमान, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शोको टिकट पाउने छन् ।

यसैगरी ‘परान’ फिल्मको प्रचारमा केही स्वयंसवकहरु फिल्मको क्यूआरसहित शहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्यूआर स्कान गरी ‘परान’ फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यस दुबै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म अर्थात कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।

गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएकोले पनि ‘परान’लाई नेपाली रजतपटले विशेष रुपमा हेरेको छ । यस्तै फिल्ममा शेखर गोल्छासँगै तीनदशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ । नेपाली बिजनेशको मार्केटमा छुट्टै पहिचान बनाएका यि दुई ब्यक्तिको आगमनका कारण पनि एउटा सशक्त फिल्म बनेको अपेक्षासमेत दर्शकहरुमा छ ।

फिल्मले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गरेका छन् । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो।

केहि समयअघि सार्वजनिक फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।

अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित, लक्ष्मीपुजाको दिनबाट नयाँ यात्रा प्रारम्भ

काठमाडौँ । तिहारको लक्ष्मीपुजाको शुभ दिन अभिनेत्री पूजा शर्मा आगामी नेपाली फिल्म ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो।

सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यस अवसरमा आफू फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्। उनका अनुसार ‘महादशा’ले फरक कथा र सशक्त भूमिकाको अवसर प्रदान गर्नेछ।

निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यस फिल्ममा यसअघि निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर, र एलिज पुन लगायतको अभिनय रहनेछ।

फिल्ममा ‘दर्पणछाया’को चर्चित जोडी निरुता सिंह र उत्तम प्रधान पुनः एकसाथ देखिँदैछन्। उनीहरूका साथमा अब पूजा शर्माको दमदार अभिनय पनि दर्शकले हेर्न पाउने भएका छन्। पछिल्ला वर्षहरूमा निरन्तर हिट र लोकप्रिय फिल्महरू दिँदै आएकी पूजा अहिलेकी चर्चित र व्यस्त अभिनेत्री हुन्।

निर्देशक किरण नेपालीका अनुसार ‘महादशा’ले समाजका विविध पक्ष, जीवनका चुनौतीपूर्ण परिस्थितिहरू, र मानिसका आन्तरिक द्वन्द्वलाई कथा र भावनात्मक ढंगले प्रस्तुत गर्नेछ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा मनिष गौतमको पटकथा रहेको छ। फिल्मका निर्मातामा राजेन्द्र शाह, श्याम मगर, र अमलादेवी राई रहेका छन् भने सुरज आचार्य कार्यकारी निर्माता हुन्।

फिल्मको छायांकन मंसिरको दोस्रो साताबाट सुरु हुने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

‘पीआर’ मंसिर २६ गतेदेखि प्रदर्शनमा, विदेशिएका युवाको कथा बोल्ने फिल्म

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘पीआर’ आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले काग तिहारको अवसरमा फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका रहेको छ।

फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग सम्बन्धित भावनात्मक कथामा निर्माण गरिएको छ। प्रस्तुतकर्ताका रूपमा रञ्जित साह र सन्तोष तिवारी रहेका छन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता हुन्।

निर्माण पक्षका अनुसार ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मूल विषय बनाएको छ।

फिल्मको लेखन गणेश बुढाथोकीले, सम्पादन बन्दे प्रसादले, र नृत्य निर्देशन राम्जी लामिछानेले गरेका छन्। संगीतमा मानस राज र भिम बीसी रहेका छन् भने छायांकन सौरव मानन्धर र सौरव लामाले गरेका हुन्।

फिल्मका निर्देशक शोभित बस्नेतले ‘पीआर’मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,

“‘पीआर’ नेपालकै कथा हो— नेपाली युवाको सपना र संघर्षको कथा। हामीले दर्शकलाई फरक स्वाद दिन खोजेका छौं।”

चलचित्रको वितरण जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

फिल्म ‘कल्ली’का ३ पोस्टर सार्वजनिक, सौगात–नाजिर–वर्षा र सुलक्षण फरक–फरक गेटअपमा

काठमाडौँ । फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कल्ली’ ले तीन आकर्षक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको छ । किरण नेपालीको प्रस्तुतिमा बनेको यस फिल्मको पोस्टरमा कलाकारहरूलाई फरक–फरक गेटअपमा प्रस्तुत गरिएको छ, जसले दर्शकको उत्सुकता अझ बढाएको छ ।

महेश दवाडीको लेखनमा तयार यो फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनार ले गरेका हुन् । सार्वजनिक तीन पोस्टरमध्ये एकमा नाजिर हुसेन र वर्षा राउत ले बाल कलाकार मञ्जिला बानियाँ लाई काखमा समाइरहेका देखिन्छन्, जसले पारिवारिक भावनालाई झल्काउँछ । अर्को पोस्टरमा सुलक्षण भारती भिन्न रूप र भावमा देखिएका छन् भने तेस्रो पोस्टरमा सौगात मल्ल गम्भीर र प्रभावशाली लुकमा देखिएका छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

त्यस्तै, उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा प्रस्तुत छन् । फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्री को संगीत, एनवी महर्जन को एक्सन निर्देशन, र निसाल पौडेल को छायांकन रहेको छ ।

पोस्टर डिजाइनर राकेश दाहाल हुन् भने फिल्म लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सन को संयुक्त प्रस्तुतिमा तयार गरिएको हो ।

‘कल्ली’ ले सामाजिक तथा पारिवारिक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ र पोस्टर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो अझ बढेको देखिन्छ ।

निखिल उप्रेती र वर्षा शिवाकोटी एकसाथ ‘कस्तुरी’मा

काठमाडौं।
नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार आयोजित एक विशेष समारोहमार्फत निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।

कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवाल अब मनोरञ्जन क्षेत्रमा पनि पाइला चाल्दैछन्। उनी टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरबाट फिल्म ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्।

फिल्मको कथा र निर्देशन ऋत बोहोराले गर्नेछन्। सस्पेन्स–थ्रिलर विधामा निर्माण हुने यो चलचित्रले रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गर्ने निर्देशक बोहोराको भनाइ छ। उनका अनुसार फिल्ममा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्र जस्ता विषय समेटिनेछन्।

‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटी पहिलोपटक पर्दा सेयर गर्ने भएका छन्। उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट कार्य जारी रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको कथा ब्रजेश खनालले लेखेका हुन्।
निर्माता धिरज कुमार अग्रवाल, सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्।
छायांकन आलोक शुक्ला, प्रमुख सह–निर्देशन ललित बिष्ट, संगीत प्रशान्त शिवाकोटी, र गीत लेखन युवराज काफ्लेले गर्नेछन्।

फिल्मको प्रचार–प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहनेछन्।

निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रहरूमा सुरु हुनेछ। साथै, फिल्मको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने तयारी भइरहेको छ।