२०८२ मंसिर २२, सोमवार

देशको पर्व, देशकै फिल्मलाई प्राथमिकता देऊ – दर्शकको माग

काठमाडौँ – यस वर्षको दशैं फूलपातीमा नेपाली फिल्म उद्योग असाध्यै व्यस्त हुँदैछ। एकै दिन चार बहुप्रतिक्षित चलचित्र रिलिज हुँदैछन् – अभिमन्यु च्याप्टर वान, बलिदान, हरि बहादुरको जुत्ता र माइतीघर।

पहिले अभिमन्यु च्याप्टर वान भदौ २७ गते सार्वजनिक हुने तयारीमा थियो। तर जेन–जेड आन्दोलन र मुलुकको राजनीतिक अवस्थाका कारण यसको रिलिज मिति पछाडि सारिएको हो।

यसैबीच, दशैंकै समय आसपास बलिउड फिल्म कान्तारा २ पनि प्रदर्शनमा आउन लागेको छ। यसले नेपाली फिल्मलाई शो टाइम र व्यापार दुवैमा चुनौती पुर्याउन सक्ने अनुमान गरिएको छ।

तर सामाजिक सञ्जालमा भने आवाज बलियो बनेको छ – “विदेशी फिल्मले त विश्व बजारबाट कमाउँछन्, तर नेपाली फिल्मलाई आफ्नै बजारमै स्पेस पाउन गाह्रो छ। देशकै चाड हो भने देशकै फिल्मलाई प्राथमिकता दिनुपर्छ।”

समर्थकहरूले थपे, “हलिउड र बलिउडका फिल्म केही दिन ढिलो भए पनि ठूलो असर पर्दैन। तर नेपाली चलचित्रलाई आफ्नै माटोमै शो टाइम नदिँदा कलाकार मात्र होइन, सम्पूर्ण उद्योग निराश हुन्छ।”

फिल्म समीक्षकहरू पनि यस मागसँग सहमत छन्। उनीहरूको भनाइमा, “दशैंजस्तो ठूलो पर्वमा नेपाली कथालाई ठूलो पर्दामा देखिनु दर्शक र उद्योग दुवैका लागि गर्वको विषय हो। यही बेला सहयोग गरेर नेपाली चलचित्रलाई उचाल्नु सबैको जिम्मेवारी हो।”

दशैंको फूलपातीमा रिलिज हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक

दशैंको फूलपातीको अवसर पारेर असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ।

मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरमा कमेडी, प्रेम, विछोड र सांस्कृतिक पृष्ठभूमि प्रष्ट देखाइएको छ। ट्रेलर पावरफूल बनेको छ र विशेषगरी कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) को कमेडी बलियो रूपमा प्रस्तुत भएको छ।

फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारको अभिनय छ।

रविन शेरचन र धिरज तामाङले लगानी गरेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन्। रामशरण पाठकले लेखन गरेको फिल्मको छायांकन सुशन प्रजापति ले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेल (सह–सम्पादक अंकित तिवारी) ले गरेका हुन्।

स्व. जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, समिर मिया र सत्यम रानाको भीएफएक्स, र साहिल खानले तयार गरेको ट्रेलर समावेश छ।

रोहित अधिकारी फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको यो फिल्मले विशेषगरी तामाङ संस्कृतिको कथालाई बलियो रूपमा उठाएको छ। दशैंको समयमा पारिवारिक कथा रुचाइने भएकाले ‘माइतीघर’ दर्शकमाझ अझै प्रतिक्षित बन्ने देखिन्छ।

‘परान’ को फर्स्टलुक सार्वजनिक, फिल्म कात्तिक १४ देखि हलहरूमा

काठमाडौं, असोज २
दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार पोस्टरसँगै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराईलीलाई देखाइएको छ। उनीहरू एकअर्काको अंगालोमा प्रस्तुत भएका छन् भने अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको पात्रमा देखिन सक्ने अनुमान गराइन्छ। महेश गम्भीर मुद्रामा देखिएका छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त भावमा प्रस्तुत भएकी छन्। महेशको गम्भीर आँखाले उनीहरूको सम्बन्धमा उतारचढाव आउने संकेत दिन्छ।

फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ राखिएको छ, जसले भौतिक अस्तित्वभन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई उचाल्ने प्रयास गरेको बुझिन्छ।

देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बनेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो। बाइस्कोपको एकल ब्यानरमा बनेको पहिलो प्रोजेक्टका रूपमा ‘परान’ प्रस्तुत गरिएको प्रबन्ध निर्देशक रन्जित आचार्यले जानकारी दिए।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा रहेका छन्। साथै महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहेको छ।

दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। निर्देशक आचार्यले फर्स्टलुकसँगै प्रचारप्रसारको सुरुवात भएको बताउँदै भने, “अहिलेसम्म फिल्मलाई राम्रो बनाउनमै ध्यान दियौं। पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको छ, अब तीव्र गतिमा प्रचारमा लाग्छौं।”

रिदम कंडेलको संगीतमा तयार गीतहरूमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको छायांकन र मित्र डि. गुरूङको सम्पादन रहेको फिल्म दसैं–तिहारलगत्तै कात्तिक १४ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने छ।

‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा, अब कार्तिक ६ गतेदेखि रिलिज

असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन हुने तय गरिएको बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण पर्याप्त प्रचार–प्रसार गर्न समय नपाएकाले सिनेमा रिलिज मिति सारिएको निर्देशक उपेन्द्र सुब्बा ले जानकारी दिएका छन्।

निर्माण टिमले मंगलबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते? (भाइटीका दिन) लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।

कवि सुब्बाको लेखन र निर्देशनमा बनेको यस सिनेमाको पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर लाई परम्परागत लिम्बु पहिरनमा देखाइएको छ। उनीहरूलाई खुशी मुद्रामा प्रस्तुत गरिएको छ भने दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ र विजय बराल लाई पनि समेटिएको छ। यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको कथा सिनेमा केन्द्रित रहने संकेत गर्छन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्स को ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन्। फिल्ममा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु को अभिनय रहेको छ।

उपेन्द्र सुब्बाको नै डेब्यु निर्देशनमा बनेको ‘जारी’ (२०८०) ले नेपाली बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै ब्लकबस्टर बनेको थियो। त्यसैले यसको सिक्वेल ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई पनि अत्यधिक प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ।

मुस्कान ढकालसँग ४ निर्माता, तर चलचित्र अझै फ्लोरमा पुगेन

‘समर लभ’ र ‘नाई नभन्नु ल’का निर्देशक मुस्कान ढकाल चाँडै नयाँ फिल्म बनाउने तयारीमा छन्। तर निर्माण पक्षहरुमा देखिएको अन्योलले चर्चा कमाएको छ।

हालै एक जना निर्माताले सामाजिक सञ्जालमा निर्देशक ढकालसँगको फोटो सार्वजनिक गर्दै ४ फरक–फरक चलचित्रका निर्मातासँग छलफल भएको भन्दै—“कस्को शुटिङ चाँडै जाने?” भनेर टिप्पणी गरेका छन्। तर अदृश्य सञ्चारलाई प्राप्त जानकारीअनुसार उक्त पोस्टमा नदेखिएका अर्का एक निर्माता पनि ढकालसँगै नयाँ चलचित्रका लागि कन्ट्र्याक्ट साइन गरिसकेका छन्।

यसरी ५ जना निर्माताले अनुबन्ध गरे पनि कुनै पनि चलचित्र अझै फ्लोरमा पुगेको छैन। यसले निर्माण टोलीभित्रको समन्वय र व्यवस्थापनप्रति प्रश्न उठाएको छ। अब यो ढिलाइ निर्माता पक्षको कमजोरी हो वा निर्देशककै कारण भन्ने बहस सुरु भएको छ।

फिल्महरुको औपचारिक घोषणा र शुटिङ मिति भने अझै तय गरिएको छैन।

सोमवारदेखि फेरि प्रदर्शनमा आउने ‘कोशेढुङ्गा’

काठमाडौं – जेन–जी आन्दोलनका कारण बन्द भएका सिनेमा हल सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। त्यससँगै भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कोशेढुङ्गा’ पनि फेरि निरन्तर प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्ष नरदेवी फिल्म्सले आइतबार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन सोमबारदेखि पुनः सुरु हुने जानकारी दिएको हो। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, सामान्य जनजीवनमा फर्किनुको विकल्प नरहेको भन्दै ‘कोशेढुङ्गा’लाई फेरि हलमा निरन्तरता दिन लागिएको उल्लेख छ।

फिल्मका कार्यकारी निर्माता दिनेश खड्काले भने, “फिल्म चलिरहेको समयमा देश जटिल अवस्थामा पुगे पनि अहिले निकास पाएको छ। अब सबै मिलेर आफ्नो–आफ्नो क्षेत्रमा अघि बढ्नुपर्छ। सोमबारदेखि ‘कोशेढुङ्गा’ फेरि सिनेमा हलमा लाग्दैछ, दर्शकको माया पुनः पाउने आशा गरेका छौँ।”

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म नरदेवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा बनेको हो। निर्माता प्रेवील कँडेल र किशोर अनुराग रहेका यस कृतिमा छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, र संगीत आशिष अविरल तथा रिदम कँडेलको रहेको छ।

‘कोशेढुङ्गा’ स्वदेशमै आशा र संघर्षको कथा बोकेको फिल्म भएको निर्माण पक्षले जनाएको छ।

खगेन्द्र श्रेष्ठ द्वारा आर्थिक सहयोग

काठमाडौं – IDEA For World का खगेन्द्र श्रेष्ठ, Head of Technical Department & Marketing, ले मास्क, फलफुल र जुसका लागि ५००० रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हिजो घाइते भएकाहरुलाई केही राहत पाउन भन्ने उदेश्यले सहयोग गरेको जानकारी दिनु भयो।

उहाँले भन्नूभएको छ कि उक्त सहयोगलाई आवश्यक स्थानमा वितरण गरेर सेवा र सहयोगमा प्रयोग गरिनेछ। खगेन्द्र श्रेष्ठको यो पहल समाजमा सहयोग र मानवतामा प्रतिबद्धताको उदाहरण भएको बताइएको छ।

IDEA For World ले भविष्यमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिने तयारीमा रहेको छ।

एमाले सरकारको अत्याचारमा मौन बसेको काँग्रेस पनि दोषी : नेविसंघ नेता रोशन श्रेष्ठ

काठमाडौं । नेविसंघ केन्द्रीय सदस्य रोशन श्रेष्ठले हालैको आन्दोलनमा भएको जनहत्या र दमनप्रति तीव्र आक्रोश प्रकट गरेका छन्। उनले एमाले नेतृत्वको सरकारमाथि मात्र नभई सत्ता साझेदार कांग्रेसमाथि पनि कठोर प्रहार गर्दै मौनता र सत्ता मोहकै कारण निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएका छन्।

श्रेष्ठले भने, “एमालेको सरकारमा बसेर गृहमन्त्रीले गरेको अत्याचारमाथि चुप लागेर पनि सत्ता नछोड्ने काँग्रेस, यो हत्याको जिम्मा तिम्रो काँधमा पनि पर्छ। ‘हामीलाई थाहा भएन’ भन्दै पन्छिन मिल्दैन।”

६२/६३ को जनआन्दोलनलाई स्मरण गर्दै उनले भने, “त्यो आन्दोलनमा हामी आफ्ना भाइबहिनीले यस्तो अवस्था नदेखून् भनेर सडकमा उत्रेका थियौँ, गोली खान तयार भएका थियौँ। १५ जना सहिद भए, सयौँ घाइते भए। तर आज फेरि तिमीहरूको मौनता र सत्ता मोहले हामीलाई लज्जित बनाएको छ।”

मतदाता भएर आफू पनि दोषी ठहरिएको उल्लेख गर्दै उनले भने, “माफ गर भाइबहिनी—आज यो दिन देख्नुपर्दा लाग्छ, मैले दिएको मत पनि दोषी छ। त्यही हातमा थुक्न मन लाग्छ। हामीले आन्दोलन गरेको पीडा यसरी तिमीहरू माथीको बर्बरता लागि थिएन।”

आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

‘मितज्यु’मा जोडिए अरुण पुन

काठमाडौं — अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’ मा अभिनेता अरुण पुन मगर अनुबन्ध भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यसअघि उनले फिल्म ‘खुश्मा’ मा अभिनय गरेका थिए।

यसअघि नै यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माता जनक घर्ती मगर हुन्। उनले यसअघि ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए। निर्देशक अनिल र निर्माता जनकको यो दोस्रो सहकार्य हो।

फिल्मको छायांकन शिशिर बिशङ्खेले गर्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा निर्माण हुने फिल्मको छायांकन मंसिरको दोस्रो सातादेखि रोल्पा लगायतका स्थानमा हुने बताइएको छ।

आगामी चैत २७ गते प्रदर्शनमा आउन लागेको फिल्मलाई आर आर फिल्म्सले वितरण गर्नेछ। फिल्मको निर्माण व्यवस्थापक धन बहादुर राई हुन्।

दर्शकको मागसँगै नाटक ‘कर्तव्य’को नियमित शो

काठमाडौं — कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘कर्तव्य’मा आधारित नाटक अब नियमित रूपमा मञ्चन हुने भएको छ। राजधानीको रातोपुलस्थित मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) मा भाद्र २१ गते शनिबारदेखि ३१ गतेसम्म प्रत्येक दिन (बिहीबार बाहेक) साँझ ५:३० बजे नाटक मञ्चन गरिनेछ।

करिब १ घण्टा १५ मिनेट लामो यो नाटक हेर्नका लागि टिकट दर रु. ३०० र ५०० तोकिएको छ। विशेष अफरअन्तर्गत दाजुभाइ वा दिदीबहिनी मिलेर नाटक हेर्न आउँदा एउटै टिकटमै दुबैजनाले प्रवेश पाउने व्यवस्था गरिएको छ। तर, दुबैजनाले आफ्नै नागरिकताको फोटो साथमा ल्याउनुपर्नेछ।

नाटकले सुदूरपश्चिमको सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर दाजुभाइबीचको भावनात्मक कथा प्रस्तुत गर्नेछ। भेषभूषा, गीत–संगीत, रीतिरिवाजदेखि बोलीचालीसम्म सुदूरकै शैलीमा उतारिएको यस नाटकलाई विद्यालयमा पाठ्यपुस्तकमा पढिएको ‘कर्तव्य’सँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको छ।

कथा तथा निर्माण टोली

कथा : गुरु प्रसाद मैनाली

नाट्य रूपान्तरण : पुरु लम्साल

व्यवस्थापक : सागर कार्की

निर्देशक : पुष्पराज अवस्थी

कलाकार

रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुनहाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ र हिमा जिसी लगायतका कलाकारहरूको अभिनय हेर्न सकिनेछ।

नाटक मञ्चन व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएका छन् भने प्रकाश, संगीत र भेषभूषामा पनि युवा रंगकर्मीहरूको सक्रियता देखिएको छ।