२०८२ मंसिर २१, आइतवार

दशैं विशेष : ‘तेल भिसा’ अब अमेजन प्राइम भिडियोमा

काठमाडौं । यस दशैंदेखि नेपाली दर्शकले बहुप्रतिक्षित नेपाली चलचित्र ‘तेल भिसा’ अमेजन प्राइम भिडियोमार्फत विश्वभर हेर्न पाउने भएका छन्।

नेपालका हलमा लगातार ५१ दिनसम्म प्रदर्शन भई सफलतापूर्वक व्यवसायिक यात्रा पूरा गरेको यो चलचित्र यस वर्षको सर्वाधिक चर्चित नेपाली फिल्ममध्ये एक बनेको छ।

‘तेल भिसा’ मा बिपिन कार्की, पूजा चन्द, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ, समारोह मैनाली लगायतका चर्चित कलाकारको दमदार अभिनय रहेको छ। साथै हल्युवुड कलाकारको समेत सहभागिता रहेकाले यसले अन्तर्राष्ट्रिय स्तरमै विशेष चर्चा पाएको छ।

एशियाली आप्रवासी परिवारको जीवनकथामा आधारित यो चलचित्रले विदेशिएका पात्रहरूको संघर्ष, त्याग, पहिचान र आत्मसम्मानलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। सांस्कृतिक भिन्नता, कानुनी जटिलता र आप्रवासी जीवनका कठिनाइलाई चलचित्रमा वास्तविक रुपमा देखाइएको छ।

उल्लेखनीय उपलब्धि

विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा प्रतियोगितामा पुरस्कार विजेता

प्रतिष्ठित महोत्सवहरूमा आधिकारिक छनोट र प्रदर्शन

नेपालका हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शन

अब अमेजन प्राइम भिडियोमार्फत डिजिटल प्रिमियर

चाँडै अन्य हल्युवुड OTT तथा नेपाली दर्शकले मन पराउने OTT सेवामा समेत रिलिज हुने तयारी

वेल डन क्रियसनस् द्वारा निर्माण गरिएको चलचित्रलाई निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन्!

२५ दिनमै सकियो ‘आ बाट आमा’को छायांकन, पल शाहसँग अर्को फिल्मका लागि अनुबन्ध

काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ को छायांकन २५ दिनमै पूरा भएको छ। तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरी चितवनबाट सुरु गरिएको छायांकन एक महिनाको सेड्युल तोकिए पनि कलाकार तथा प्राविधिकको मेहनतले निर्धारित समयभन्दा पाँच दिनअघि नै सकिएको हो।

फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ। आमा र सन्तानबीचको माया, ममता र स्नेहको कथा यसले बोल्ने निर्देशक पन्तले बताएका छन्।

छायांकन सकिएलगत्तै निर्देशक पन्तले अभिनेता पल शाहलाई अर्को अनटाइटल्ड (नाम खुलाइएको छैन) फिल्मका लागि अनुबन्ध गरेका छन्। उनले केही दिनमै नयाँ फिल्मको नाम र अन्य कलाकारबारे जानकारी दिने जनाएका छन्।

फिल्मबारे आशावादी रहेका अभिनेता पल शाह भन्छन् :
“म आशावादी छु तपाईं भगवान रूपी दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैंझैँ माया र समर्थन गर्नुहुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।”

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको डिओपी नवराज उप्रेती हुन् भने संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्।

फिल्मको विदेश प्रदर्शन अधिकार पहिले नै बिक्री भइसकेको छ। अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले खरिद गरेको हो। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्स ले लिनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल को हुने भएको छ।

‘माइतीघर’ फिल्मले पायो ‘यूनिभर्सल’ सर्टिफिकेट, दशैंमा पारिवारिक मनोरञ्जन

काठमाडौं – असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ ले चलचित्र जाँच पास समितिबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। बुधबार बेलुकी सम्पन्न सेन्सर प्रक्रियापछि सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी फिल्म स्वीकृत भएको हो।

फिल्मलाई दशैंको फूलपातिको अवसरमा रिलिज गर्न लागिएको छ, जसले व्यापारिक रुपमा उत्साहजनक ओपनिङ गर्ने अपेक्षा राखिएको छ। सेन्सरमा फिल्म हेरेका सदस्यहरूले यसलाई पारिवारिक, मनोरञ्जनात्मक र भावनात्मक प्रस्तुति भएको भन्दै प्रशंसा गरेका छन्।

निर्माता रोहित अधिकारीले दर्शक यसपटक निराश नहुने दाबी गरेका छन्। उनका अनुसार, ट्रेलर र गीतले नै दर्शकको ध्यान तानेको छ भने, रिलिजअघि नै सयभन्दा बढी हलमा शो सुनिश्चित भइसकेको छ। बिहानदेखि बेलुकासम्मको समयावधि व्यापकरुपमा शो पाएको भन्दै दर्शकमाझ उत्सुकता बढेको देखिन्छ।

रामशरण पाठकले लेखेको कथामा बनेको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ र शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा र प्रस्तुति दर्शकले रुचाउने र ‘वर्ड अफ माउथ’ बलियो हुने अपेक्षा निर्माणपक्षले व्यक्त गरेको छ।

घटस्थापनामा ‘मैझारो’को टिजर सार्वजनिक

काठमाडौं – कार्तिक ७ गते प्रदर्शन मिति तय भएको नेपाली फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। बडादशैंको घटस्थापनाको अवसर पारेर निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरमा अभिनेता धिरज मगर, मिरुना मगर र दिया पुन बीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इलामका सुन्दर दृश्य र गाउँले परिवेशमा खिचिएको दृश्यावलीले टिजरलाई अझै आकर्षक बनाएको छ। मिरुनालाई चिया बगानमा डोको बोकेर काम गरिरहेको देखाइएको छ भने धिरजसँग उनको प्रेम देखिन्छ। तर परिस्थितिवश धिरजको नजिक दिया पुन आइपुग्छिन्।

निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) ले यसअघि कमेडी शैलीको छवि बनाएका कारण धेरैले यस फिल्मलाई पनि हास्य प्रधान हुने अनुमान गरेका थिए। तर टिजरले भने उनी मौलिक किराती परिवेशमा आधारित प्रेमकथा प्रस्तुत गर्दै भावनात्मक सम्बन्धलाई उजागर गर्न लागेका छन् भन्ने स्पष्ट हुन्छ। यसले निर्देशकको नयाँ पहिचान निर्माण गर्ने अपेक्षा गर्न सकिन्छ।

फिल्ममा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राई को संगीत रहेको छ। गीतमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्वर सुन्न सकिनेछ। सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्म ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर ले लिएको छ।

अनमोल स्टारर ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक

काठमाडौं: यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्युब मार्फत वर्ल्ड प्रिमियर गरेको हो।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। भिडियोमा मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय दृश्यहरू समेटिएका छन्। उच्च मेकिङ र रंगीन दृश्यका लागि कोरियोग्राफी किरण थापाले गरेका हुन्। थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा प्रस्तुत गरेका छन्।

गीतका शब्द र भिडियोका दृश्यहरू प्रेमिल छन् भने अनमोल र आँचलको केमिस्ट्री आकर्षक देखिन्छ। गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको छ भने संगीतकार जयन जे वाइबाले संगीत र शब्द तयार गरेका हुन्। अशोक थानेतले मिक्सिङ र मास्टरिङ गरेका छन्।

सुयोग गुरुङको निर्देशनमा तयार भएको यस फिल्ममा अनमोल र आँचलसँगै जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गी प्रमुख भूमिकामा छन्। सुरक्षा पन्तले फिल्ममा विशेष भूमिका निभाएकी छन्।

फिल्मको प्रस्तुति सरोज न्यौपानेले गरेका छन् भने निर्माणमा न्यौपाने, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको साझेदारी छ। कथा हेमराज बिसीको रहेको छ।

कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने एसोसिएट निर्माता नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई, व्रिजेश श्रेष्ठको संगीत, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको छ।

फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्। कथा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ।

बडादशैंको पहिलो दिन पशुपतिनाथमा ‘लज्जावती’ सिनेमाको शुभमुहूर्त, ३० दिनको छायांकन सेड्युल

काठमाडौं – राज बहादुर सानेको निर्देशनमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को शुभमुहूर्त सोमबार, बडादशैंको पहिलो दिन, घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ।

सिनेमाको शुभमुहूर्त सट लेखक तथा निर्देशक प्रदीप भारद्धाज ले निर्देशन गरेका थिए। मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि, जानुका विश्वकर्मा ले मुहूर्त सट दिएका थिए। यस अवसरमा सिटामोल निर्माता विकास राज जोशी ले नारिवल फोडेर शुभकामना दिएका थिए।

निर्देशक सानेका अनुसार, सिनेमाको छायांकन पशुपति आर्यघाटमा सुरु भई ३० दिनको सेड्युल तय गरिएको छ।

सिनेमाको निर्माण आहा फिल्म्सको व्यानरमा, प्रस्तुतकर्ता सौरभ वली, निर्माता कमल प्रसाद शर्मा र सन्दीप रोकाया, कार्यकारी निर्माता दीपक भण्डारी, सह-निर्माता भिमराज रोकाया, छायांकन निर्देशक दिव्यराज सुवेदी, सह छायांकार प्रवीन सुवेदी, सहायक निर्देशक विशाल बराल, र मेकअप आर्टिष्ट रवी केसी रहेका छन्।

सिनेमामा मुख्य कलाकारहरू मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि, जानुका विश्वकर्मासहित माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतको अभिनय रहनेछ।

निर्माण टिमले जानकारी दिएका छन् कि, सिनेमाको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम सकिएपछि मात्र प्रदर्शन मिति घोषणा गरिनेछ।

सुशीलको एक्सन अवतारमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक, माघ ९ बाट प्रदर्शन

काठमाडौं – दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरसँगै फिल्म आउँदो माघ ९ (जनवरी २३) देखि प्रदर्शन हुने घोषणा गरिएको छ।

पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ। उनले हातमा बोकेको तरबारमा देखिएको आगोको झल्कोले फिल्ममा सस्पेन्स, लडाइँ र प्रतिशोधको कथा समेटिएको संकेत गर्छ। पोस्टरमा देखिने पृष्ठभूमिबाट देशको सीमा र नेतृत्वसँग जोडिएको संघर्षलाई पनि संकेत गरिएको छ।

चलचित्रलाई विजय केरुङले निर्देशन गरेका छन् भने कथा र निर्माण दीपक सिवाकोटीको हो। फिल्ममा सुशील श्रेष्ठसँगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन् भने छायांकन शिव ढकाल, सम्पादन बन्दे प्रसाद, सह–सम्पादन उमेश थापा, र कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन्। ब्याकग्राउण्ड संगीत बलिउडका कालाचरणले तयार गरेका हुन्। फिल्मको संवाद शिवम् अधिकारीले लेखेका हुन्।

निर्माण टिमका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। चलचित्रलाई आर.आर. फिल्म्सले वितरण गर्नेछ भने डिजिटल साझेदारको जिम्मेवारी ओएसआर डिजिटलले लिएको छ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपाती (असोज १३) मा रिलिज हुने तयारीमा रहेको यो वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यस चलचित्रले कमेडीसँगै समसामयिक राजनीतिक यथार्थलाई पनि समेट्ने संकेत ट्रेलरमार्फत दिएको छ।

दिपेन्द्र के. खनाल निर्देशित चलचित्रमा कलाकार हरिवंश आचार्य आफ्नै चर्चित पात्र हरिबहादुर को भूमिकामा देखिएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल मानिएको यो पात्रको जीवनमा आउने उतार–चढाव र नयाँ पुस्ताले खोजेको राजनीतिक परिवर्तनबीच उत्पन्न हुने परिस्थितिलाई ट्रेलरले झल्काएको छ।

यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्य ले निर्माण गरेका हुन्। चलचित्रको छायांकन कृष्ण बहादुर थापा ले गरेका हुन् भने सम्पादन नकुल खड्का ले गरेका छन्।
संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत को योगदान छ भने गीतमा आशिष अविरल, समीक्ष्या अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईं का स्वर सुन्न सकिन्छ।

👉 ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्: हरिबहादुरको जुत्ता – Official Trailer

‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

नेपाली चलचित्र ‘महादशा’ ले आफ्ना मुख्य कलाकारको रूपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंह लाई अनुबन्ध गरेको छ। निर्माण पक्षले दुवै कलाकारलाई स्वागत गरेको छ।

उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारहरूको सहभागिताले नेपाली चलचित्र उद्योगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पछिल्ला केही वर्षमा उद्योगमा देखिएका उतार–चढावबीच, यस्ता अनुभवसंपन्न कलाकारहरूको आगमनले दर्शकलाई पुनः हलसम्म तान्ने विश्वास गरिएको छ।

किरण नेपालीको निर्देशनमा बन्ने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिहरूलाई चित्रण गरिने बताइएको छ। कलाकार घोषणा भएपछि चलचित्रप्रति दर्शकको उत्सुकता थप बढेको छ।

चलचित्र लेकाली इन्टरटेन्मेन्ट अन्तर्गत निर्माण हुने छ, जसमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ ले पनि अभिनय गर्नेछन्। कथा मनिष गौतम ले लेखेका हुन् भने लगानी राजेन्द्र के. शाह, श्याम मगर, र अमला देवी राई ले गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

‘बलिदान’ ट्रेलर सार्वजनिक : मातृभूमिको रक्षा र नायक समीर भट्टको एक्सन

काठमाडौं – नेपाली चलचित्र ‘बलिदान’को बहुप्रतिक्षित ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। पोस्टर, टिजर र गीतमार्फत पहिले नै चर्को चर्चा कमाइसकेको यो चलचित्रले ट्रेलरमार्फत दर्शकमाझ थप उत्साह जगाएको छ।

ट्रेलरको सुरुवातमा आमाको भूमिकामा देखिएकी ऋचा शर्माले छोरासँग देशको अस्मिता जोगाउने वचन माग्छिन्। यसैबीच नायक समीर भट्टले गर्जनासहित घोषणा गर्छन् – “मेरो शरीरको एक एक थोपा रगत देशलाई अर्पण गर्छु, तर मेरी आमाबारे केही भने सहन्न।” यो संवादपछि उनको तीव्र एक्सन दृश्य देखिन्छ, जसले ट्रेलरलाई दमदार बनाएको छ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता राय लगायत कलाकारको विशेष उपस्थिति छ। विशेषगरी समीर र सौगातबीचको द्वन्द्व ट्रेलरको मुख्य आकर्षण बनेको छ। दर्जनौँ खलनायकहरूसँग समीर एक्लै भिड्ने दृश्यले चलचित्रलाई अझ शक्तिशाली बनाएको छ।

यसअघि सार्वजनिक टिजर र गीतमार्फत फिल्ममा देशभक्ति, भावुकता र विद्रोहको भावना झल्काइएको थियो। निर्देशक सन्तोष सेन स्वयं पनि विशेष भूमिकामा देखिएका छन्।

फिल्मलाई पवन ब्राडफोर्ड विष्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्। लेखन दर्शन जीको रहेको छ। प्राविधिक टिममा महेश पौडेल (डीओपी), सुजन चापागाईं (संगीत), स्टनर साम्बा र श्री श्रेष्ठ (एक्सन), सुनिल क्षेत्री (कोरियोग्राफी) र सञ्जय साक्ला–सन्देश शाह (सम्पादन) रहेका छन्।

फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ (स्वर/संगीत : सुजन चापागाईं, शब्द : हर्क साउद)ले दर्शकमाझ लोकप्रियता पाइरहेको छ।

देशभक्ति, परिवारप्रतिको माया र बलिदानको कथा बोकेको ‘बलिदान’ यस वर्षको बडादसैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।