२०८२ मंसिर २१, आइतवार

‘सेल्फ फेसन शो २०२५’ सम्पन्न, रञ्जु घर्ती मगर र पेम्बा लामा विजेता घोषित

काठमाडौं । राजधानीको जमलस्थित ‘राजा लाउन्ज एन्ड क्लब’ मा गत शुक्रबार भव्य रूपमा सम्पन्न ‘सेल्फ फेसन शो २०२५’ ले फेसन क्षेत्रको नयाँ धार प्रस्तुत गरेको छ।

नेपालमा फेसन क्षेत्रको उच्चतम प्रस्तुति मानिने यस कार्यक्रममा फेसनप्रेमी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा रञ्जु घर्ती मगर र पेम्बा लामाले उत्कृष्ट प्रस्तुति र आत्मविश्वासका आधारमा विजेताको उपाधि जित्न सफल भए। निर्णायक मण्डलले उनीहरूको प्रस्तुति शैली र व्यक्तित्वलाई उच्च मूल्यांकन गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली चलचित्रका चर्चित अभिनेता प्रमोद अग्रहरि प्रमुख अतिथिका रूपमा उपस्थित थिए। लामो अन्तरालपछि ऊर्जाशील पुनरागमन गरेका अग्रहरिको उपस्थिति स्वयंमा नै कार्यक्रमको गरिमा वृद्धि भएको टिप्पणी गरिएको छ।

त्यस्तै, ‘नाइ नभन्नु ल ३’, ‘समर लभ’ र हाल चर्चामा रहेको ‘रत्यौली’ अब चाडै छायांकनमा जाने निर्देशक मुस्कान ढकाल, समाजसेवी तथा शिक्षाविद् डा. नवीन शाह, आइडिया फर वर्ल्डका टेक्निकल हेड,रत्यौली चलचित्रका निर्मता रन्जन रिजाल सहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आयोजक ‘शाह स्टुडियो एन्ड कम्पनी’ का अध्यक्ष मोनु शाहले निकट भविष्यमै अझ सशक्त र सिर्जनात्मक कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार, सेल्फ फेसन शो केवल फेसन प्रदर्शन मात्र नभई युवा प्रतिभा, सृजनशीलता र सांस्कृतिक चेतनाको साझा मंच हो।

‘भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक, सनिशा भट्टराई र आशिर्वाद क्षेत्रीको केमेस्ट्री दर्शकसमक्ष

काठमाडौं । सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित नयाँ गीत ‘भो नबोलाउ मलाई’ को भिडियो सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भिडियो रिलिज गरिएको हो।

भिडियो सार्वजनिक गर्दै मदनकृष्ण श्रेष्ठले गीत निकै मन पराएको उल्लेख गर्दै गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतको प्रशंसा गरे। उनले यो गीत श्रोता तथा दर्शकबीच लोकप्रिय हुनेमा विश्वास व्यक्त गर्दै निर्माण टिमलाई बधाईसमेत दिए।

गीतलाई चर्चित एरेञ्जर बाबुल गिरीले एरेञ्ज गरेका छन्। निर्देशन दिपा शाक्य श्रेष्ठको रहेको भिडियोलाई रंग संयोजन प्रकाश मानन्धरले गरेका छन् भने छायांकन उत्तम हुमागाईंले गरेका हुन्। मिक्सिङ/मास्टरिङ राजेश शाहले गरेका यस गीतमा मेकअप डिपा पौडेलको रहेको छ भने प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन्।

कार्यक्रममा अभिनेत्री सनिशा भट्टराईले सह-अभिनेता आशिर्वाद क्षेत्रीको अभिनय र व्यक्तित्वको तारिफ गर्दै भविष्यमा समेत उनलाई साथमा लिएर काम गर्न चाहेको बताइन्।

भिडियोमा सनिशा र आशिर्वादको आकर्षक केमेस्ट्री देख्न सकिन्छ। गीतलाई निर्माण पक्षले चाँडै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन र अमेजन प्राइम म्युजिकमा पनि रिलिज गर्ने जनाएको छ।

एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतलाई एसएस प्रोडक्सन लण्डनले नै निर्माण गरेको हो।

श्याम मगरको अभिनयदेखि निर्माणसम्म, नयाँ यात्रामा ‘भाइरल’ कलाकार

नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रका उदाउँदा कलाकार श्याम मगर पछिल्लो समय दर्शकमाझ ‘भाइरल’ पात्रका कारण निकै चर्चामा छन्। उनी अभिनित भूमिका र प्रस्तुतिको कारण मात्र नभई मेहनती र लगनशील कलाकारको रूपमा चिनिन थालेका छन्।

पहिले नै एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेका मगरले हालसम्म ६/७ वटा चलचित्रमा अभिनय गरिसकेका छन्। अभिनयसँगै मोडलिङ र निर्माणमा पनि सक्रिय बन्न थालेका उनी, आगामी दिनमा निर्माता–कलाकार दुवै रूपमा दर्शक समक्ष आउने तयारीमा छन्।

चलचित्र ताराहरु मा भाइरल रोल गरेर चर्चामा आएका उनी, पछि शो कम हुनु र चलचित्रले अपेक्षित सफलता नपाउँदा केही समय छायामा पर्न पुगे। तर, दर्शक र समीक्षक दुवैबाट राम्रै प्रतिक्रिया पाएका मगर अहिले पुनः नयाँ परियोजनासहित फर्कन लागेका छन्।

आगामी चलचित्र महादशा मा उनी निर्माताको भूमिकामा देखिँदैछन्। चर्चित निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहेको यस चलचित्रमार्फत श्याम मगरले अभिनयसँगै निर्माण यात्रा पनि अघि बढाएका हुन्। यसले उनलाई बहुआयामिक कलाकार मात्र होइन, चलचित्र उद्योगमा दीर्घकालीन योगदान दिने व्यक्तित्वको रूपमा चिनाउने अपेक्षा गरिएको छ।

‘श्याम मगर भन्दा पनि भाइरल श्याम मगर’ भनेर चिनिने उनी, आगामी महादशामा फरक र दमदार प्रस्तुति ल्याउने संकेत गरिरहेका छन्। अभिनयमा देखाएको लगनशीलता र निर्माणमा देखाएको पहलले उनलाई नेपाली चलचित्र क्षेत्रमा अझ मजबुत बनाउने अनुमान गरिएको छ। उनले अभिनय गरेका कल्ली ,ताराहरु,मि.फन्टुस,प्रेम गीता,जिवन साथि केही रिलिज भए केही छायांकनमा र केही रिलिज हुने तयारीमा छ्न

निर्माता किरण नेपालीको निर्देशनमा ‘महादशा’, नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक

काठमाडौं — निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलमा रहेको राजा लाउन्ज मा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको हो।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ सफल फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन्।

सार्वजनिक प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि सार्वजनिक गरिनेछ।

मनिष गौतमले लेखेको कथा समेटिएको फिल्ममा राजे के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् भने सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्। फिल्मको प्राेडक्सन म्यानेजरमा अनिश अधिकारी र समर चाैलागाई रहेका छन्।

फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ। फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिएको छ

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ टिजर सार्वजनिक

काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा सार्वजनिक गरिएको छ। निर्माण ब्यानर अनन्या फिल्मस् ले आयोजना गरेको कार्यक्रममा फिल्मका प्रमुख कलाकार अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङसँगै हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी मिडियाको केन्द्रमा रहेका थिए।

निर्देशक सुयोग गुरुङले टिजरमार्फत सम्पूर्ण टिमको अथक परिश्रमलाई दर्शक सामु ल्याउन लागेको उल्लेख गर्दै साथको अपेक्षा व्यक्त गरे।

१ मिनेट ५२ सेकेन्ड लामो टिजरले सगरमाथा आरोहण र यात्राको क्रममा प्रेमकथामा आधारित फिल्मको कथा–वस्तु खुलाउने प्रयास गरेको देखिन्छ।

सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यस फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सहनिर्माता छन्। कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। दुलिप रेग्मीले छायांकन गरेका छन्।

कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्मातामा छन्। संगीतमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको योगदान छ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (अष्ट्रेलियाबाहेक) हङकङको एलजी एसोसिएट्स ले खरिद गरेको छ। नेपालमा भने वितरण अधिकार रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले लिएका छन्।

महंगो लागतमा बनेको ‘जेरी अन टप’ लाई वर्ष २०८२ को प्रतिक्षित फिल्मका रूपमा हेरिएको छ।

📸 तस्वीर: सुरेन्द्र थापा

चलचित्र ‘माग्ने राजा’को हाउसफुल शो दर्शकको मन जित्यो

निर्माण घोषणादेखि नै चर्चा बटुलेको नेपाली चलचित्र ‘माग्ने राजा’ले अपेक्षाअनुरूप हलमा दर्शक पाएको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक भए पनि मध्यान्नतिर चलचित्रले हाउसफुल दर्शक पाएको थियो। शनिबार बिहानदेखि नै हाउसफुल व्यापार निरन्तर कायम रह्यो।

चलचित्रको निर्देशक ऋषि लामिछाने मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीसहित काठमाडौंका विभिन्न हलमा पुगेका छन् र दर्शकसँग साक्षात्कार गरिरहेका छन्। दर्शकहरूले चलचित्रले प्रस्तुत गरेको सन्देश मन परेको प्रतिक्रिया दिएका छन्।

चलचित्रका मुख्य अभिनेता केदार घिमिरेलाई दर्शकले ‘माग्ने राजा’ भन्दै नारा लगाउँदै स्वागत गरेका छन्। उनले भने, “दर्शकको यो उत्साहले मलाई अझ राम्रो काम गर्ने प्रेरणा दियो। आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने चुनौती थपिएको छ।”

चलचित्रका वितरक रोहितकुमार कट्टेलका अनुसार, ‘माग्ने राजा’ले ‘उनको स्वेटर’पछि राम्रो प्रारम्भिक दर्शक पाएको हो। उनले भने, “सिर्फ प्रमुख हलमा मात्र नभई चाडबाडमा हाउसफुल हुने हलमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ। तीजको बिदा बाँकी भएकाले आगामी दिनमा अझ आकर्षक कमाइ हुने अपेक्षा छ।”

निर्देशक ऋषि लामिछानेले पनि तीजपछि चलचित्रमा महिला दर्शकको उपस्थिति बढ्ने विश्वास व्यक्त गरे। उनले भने, “परिवारसहित हलमा आउन मिल्ने चलचित्र भएकाले तीजपछि पारिवारिक दर्शक अझ बढ्ने विश्वास छ।”

चलचित्रमा मनोरञ्जन र सन्देशको सन्तुलन उत्कृष्ट रहेको दर्शकको प्रतिक्रिया रहेको छ। छक्का पञ्जा सिरिजपछि पहिलो पटक सोलो अभिनय गर्ने केदार घिमिरेको कमेडीले दर्शकको मन जितेको छ। चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि मुख्य अभिनेता केदारको यात्रा सँगै मज्जाले प्रस्तुत गरेका छन्।

मिस नेपाल २००० उषा खड्गी, राजनीतिक व्यङ्ग्यात्मक भाउजूको भूमिकामा

काठमाडौं । चलचित्र ‘माग्ने राजा’ मा पूर्व मिस नेपाल २००० उषा खड्गी विशेष भूमिकामा देखिएकी छन्। सानो भूमिकामै भए पनि उनले प्रभावकारी अभिनय प्रस्तुत गरेकी छन्।

सिनेमामा उनी व्यङ्यात्मक शैलीमा प्रस्तुत गरिएको राजनीतिको “भाउजू” पात्रमा देखिएकी छन्। उनको यो चरित्र राजनीतिको किङ्ग मेकरको रुपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।

यसअघि उषा खड्गीले अभिनेता सरोज खनालसँगै ‘नरसिंहा अवतार’ मा अभिनय गरेकी थिइन्। त्यहाँ उनले सरोज खनालको श्रीमती र नायिका सनिशा भट्टराईकी आमा बनेर पर्दामा देखिएकी थिइन्। सो चलचित्रलाई महानायक राजेश हमालको कमब्याक फिल्मको रुपमा पनि चिनिन्छ।

लामो समय सौन्दर्य प्रतियोगिता, समाजसेवा र विभिन्न सार्वजनिक गतिविधिमा सक्रिय रहेकी उषा हाल फेरि पर्दामार्फत दर्शकमाझ फर्किएकी छन्।

निर्देशक ऋषि लमिछानेले निर्देशित ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा शिवाकोटी, विल्सन विक्रम राई,शिशिर वाङ्ग्देल, शारदा गिरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

‘काजी’को शुभमुहूर्त, लक्ष्मण रिजाल फर्किए निर्देशनमा

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘काजी’को शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ ।

निर्देशक रिजालका अनुसार फिल्मको छायांकन आगामी भदौ ८ गते आइतबारदेखि औपचारिक रूपमा सुरु हुने छ । करिब आठ वर्षपछि निर्देशनमा फर्किएका उनले “आफ्नो खोजी अनुरूपको स्क्रिप्ट पाएपछि पुनः निर्देशनमा कमब्याक गर्न तयार भएको” बताएका छन्।

यसअघि उनले ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरिसकेका छन् भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माणमा संलग्न रहेका थिए।

आरएण्डआर प्रोडक्सनको ब्यानरमा बन्ने यस सोसल लभस्टोरी फिल्मलाई राम प्रसाद रिजालले निर्माण गर्दैछन् । उनले यसअघि बनेका आफ्ना फिल्मका कमजोरीलाई सच्याउँदै ‘काजी’लाई उत्कृष्ट बनाउन लाखौँ खर्च गरेर स्याङ्जामा नै गाउँको सेट तयार गरिएको जानकारी दिए।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायत कलाकारको अभिनय रहने छ भने अन्य कलाकारबारे चरणबद्ध रूपमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

प्रदीप भारद्धाजको लेखनमा तयार हुने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन् । गीत–संगीत कालिप्रसाद बास्कोटाले तयार पार्दैछन् । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने छ।

संस्कारको आडमा संस्कृतिविरोधी अभ्यास ?

वर्तमान समयमा तीव्र आधुनिकताको नाममा हाम्रो समाजका अमूल्य सम्पदा, धर्म, संस्कार, रीतिरिवाज, मूल्य मान्यता र परम्परागत सभ्यता बिस्तारै विस्मृत हुँदै गएको देखिन्छ । यसै सन्दर्भमा महिलाहरूको महान् पर्व हरितालिका तीज बारे चर्चा गर्नु आवश्यक छ।

तीज केवल धार्मिक व्रत मात्र नभई नारीहरूको आस्था, श्रद्धा, भक्ति र आत्मबलको प्रतीक हो । तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ, जहाँ दिदीबहिनीबीच भेटघाट, आत्मीयता र स्नेह आदानप्रदान हुन्छ । पौष्टिक र गह्रौँ भोजन ग्रहण गरेर व्रत बस्ने तयारी गर्ने परम्परा नै यसको मौलिक स्वरूप हो।

तर पछिल्लो समय यो संस्कार आफ्नो मौलिक स्वरूपबाट भड्किँदै गएको छ । दर खाने नाममा महिनौँअगाडि नै पार्टी गर्ने, शुद्ध सात्त्विक भोजनको सट्टा मांसाहार र अशुद्ध पदार्थ सेवन गर्ने, यहाँसम्म कि दारुजस्ता अनुचित अभ्यासलाई पनि “संस्कार”को नाममा जोड्ने विकृति मौलाउँदै गएको छ।

धर्म र संस्कारको आडमा संस्कृतिविरोधी यस्ता प्रचलन स्थापित हुनु दुःखद मात्र होइन, समाज र संस्कृतिप्रति अपमान पनि हो। दरलाई भक्ति, शुद्धता र संस्कारको प्रतीकको रूपमा मनाउनुपर्नेमा, मनोरञ्जन र उच्छृङ्खलतामा बदल्नु संस्कृतिको अवमूल्यन हो।

हामीले बिर्सनु हुँदैन—रीतिरिवाज र संस्कारहरू केवल बुढापाकाको कथा होइनन्; ती हाम्रो अस्मिता, परिचय र गौरव हुन्। यदि यी परम्परा मासिए भने हामी अनुकरण मात्र गर्ने, जरा विहीन समाज बन्न पुग्छौं। त्यसैले विकृति हटाउने, मौलिकता जोगाउने र संस्कृतिलाई भावी पुस्तामा सुम्पने जिम्मेवारी हामी सबैको हो।

अन्ततः, हरितालिका तीजलाई नारीहरूको श्रद्धा र संस्कारको प्रतीक मात्र नभई हाम्रो सांस्कृतिक गौरवको रूपमा संरक्षण गरौँ। दरलाई दरमै सीमित राखौँ, दारुमा होइन। अशुद्ध आचरणको बहिष्कार गर्दै, दिदीबहिनीबीचको स्नेह र धार्मिक भावनालाई नै मुख्य ध्येय बनाऔँ।

समाजमा जागरण ल्याउँदै, विकृतिलाई सच्याउँदै, तीजलाई यसको मौलिक स्वरूपमै जोगाउन हामी सबै एकजुट हुनैपर्छ। आजको हाम्रो सानो प्रयास भोलिको ठुलो इतिहास बन्न सक्छ।

‘कोशेढुङ्गा’ ट्रेलर सार्वजनिक : सुरक्षाको दमदार उपस्थिति

काठमाडौं – चर्चित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेलले नयाँ प्रस्तुति ल्याएका छन्। उनी निर्देशित नवीनतम फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ।

भदौ १२ गतेदेखि रिलिज हुने फिल्मको झलकसहितको ३ मिनेट ४४ सेकेन्ड लामो ट्रेलर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

ट्रेलरको मुख्य आकर्षण अभिनेत्री सुरक्षा पन्त बनेकी छन्। सुरुदेखि अन्त्यसम्म उनी केन्द्रमा देखिन्छिन्— कहिले खुसी र चुलबुले भूमिकामा, त कहिले गम्भीर र संघर्षशील पात्रको रुपमा।

फिल्मले पारिवारिक सम्बन्ध, आर्थिक चुनौती, समाजको दृष्टिकोण र दाम्पत्य जीवनका उतारचढावलाई चित्रण गर्ने संकेत ट्रेलरमै देखिन्छ। “नत्र भने जिन्दगी व्यर्थ छ है बाटुली” बोलको चर्चित गीत समावेश गरिएको छ, जसले ट्रेलरलाई अझै प्रभावशाली बनाएको छ।

यसमा सुरक्षा पन्तसँगै आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, मन्जिल कुमार,स्नेहा जोशि लगायतका कलाकारको अभिनय देख्न पाइन्छ।

फिल्मको कथा निर्देशक पौडेलकै हो भने लेखनमा सुनिल निउरे र सुबलमणि सापकोटाले सहयोग गरेका छन्।
नरदेवी फिल्म्स र सारङ्गी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको ‘कोशेढुङ्गा’ का निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन्। कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्।

छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, र संगीत निर्देशन आशिष अविरल र रिदम कँडेल को रहेको छ।
फिल्म नेपालसँगै ४२ भन्दा बढी मुलुकमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ।