काठमाडौं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रिमियर अष्ट्रेलियामा हुने भएको छ। निर्माण पक्षका अनुसार फिल्मको प्रिमियर आगामी अगस्ट ९ मा सिड्नी र अगस्ट १२ मा न्यू क्यासल सहरमा आयोजना गरिनेछ।

सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा अगस्ट ९ मा र न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा अगस्ट १२ मा प्रिमियर शो हुनेछ।
फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ।
शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी छन्।
फिल्मका निर्माता प्रदीप दाहाल (ए वान ग्रुप सर्भिस) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुप) हुन्। फिल्मको कथा निर्देशक बस्नेतकै हो भने पटकथा र संवाद गणेश बुढाथोकीले लेखेका छन्।
सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, र मानस राज तथा भीम बीसीको संगीत रहेको छ।
निर्माण व्यवस्थापन केवलमान सिंह बस्नेतले सम्हालेका छन् भने रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ प्रमुख सहायक निर्देशकको रूपमा छन्।
निर्देशक बस्नेतका अनुसार फिल्मको करिब ६० प्रतिशत छायांकन अष्ट्रेलियाका विभिन्न सहरमा र बाँकी ४० प्रतिशत नेपालमा गरिएको हो।
फिल्म ‘पीआर’ विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष र नेपालमा रहेका आमाबुवाको पीडा समेटिएको एक सशक्त पारिवारिक कथामा आधारित रहेको निर्देशक बस्नेतले बताए। “अहिले अष्ट्रेलियाका विभिन्न सहरहरूमा ‘पीआर’ प्रति उच्च माग देखिएको छ,” निर्देशक बस्नेतले भने, “अब चाँडै यो फिल्मलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं।”
फिल्मको अन्तर्राष्ट्रिय वितरणका लागि विभिन्न वितरकहरूसँग छलफल भइरहेको निर्माण टिमले जनाएको छ।














