२०८२ मंसिर २१, आइतवार

‘झिँगेदाउ २’ को नयाँ गीत ‘आजलाई नाई नभन’ रेकर्ड भयो

काठमाडौं:-निर्देशक र निर्माता ज्ञानेन्द्र देउजाबाट बनिरहेको चर्चित नेपाली फिल्म ‘झिँगेदाउ २’ को नयाँ गीत ‘आजलाई नाई नभन’ बुधबार रेकर्ड गरिएको छ। पछिल्लो समयका लोकप्रिय गायिका शान्तिश्री परियार र गायक बसन्त थापा को आवाजमा सजिएको यो गीतमा संगीतकार अर्जुन पोखरेल ले शब्द, संगीत र एरेन्जको भूमिका सम्हालेका छन्।

शान्तिश्री परियार र अर्जुन पोखरेलले योभन्दा पहिले पहिलो भागको हिट गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सँगै काम गरिसकेका थिए। ‘झिँगेदाउ २’ का निर्देशक देउजाले यस सफल सहकार्यलाई ‘लक्कि चार्म’ मान्दै पुनः गीतमा शान्तिश्री परियारलाई आमन्त्रण गरेको जानकारी दिएका छन्।

बसन्त थापाका लागि यो पार्श्व गायनमा ‘छ माया छपक्कै’ पछि दोस्रो अनुभव हो। “झिँगेदाउ २ को म्युजिक टीमसँग काम गर्न पाउँदा निकै उत्साहित छु,” भन्छन थापा।

निर्माण टिमका अनुसार यस गीतसहित सम्पूर्ण प्रि–प्रोडक्सन काम आगामी १० दिनभित्रै पूरा हुनेछ। दशैं–तिहारको उत्सवपछि छायांकन सुरु गर्ने तयारी रहेको छ।

फिल्मले पहिलो भागको अन्त्य बिन्दुबाटै कथा सुरू गर्ने भएकाले पूर्ण रूपमा सिक्वेलको रुपाकँन गरिएको छ। मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट लगायतका पुराना कलाकारहरू फिर्ता देखिन्छन्। त्यस्तै, एक अभिनेता र एक अभिनेत्री नयाँ अनुहारले भरिनेछन्।

‘झिँगेदाउ २’ कपनगढी सिनेमा प्रालि अन्तर्गत शुलभ प्रतिक देउजा र समीक्षा देउजा यादवले निर्माता र सह–निर्माताको जिम्मेवारी निभाउँदैछन्। ईश्वर घिमिरे उत्पादन प्रमुख, बिष्णु कल्पित छायांकन निर्देशक, अर्जुन पोखरेल संगीत निर्देशक, रोशन श्रेष्ठ द्वन्द्व निर्देशक, र मित्र डी गुरुङ सम्पादक रहेका छन्।

‘भद्रगोल’ का पाँडे अब निर्देशक, ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न

काठमाडौं, साउन १५ – चर्चित टेलिभिजन सिरियल भद्रगोल र सक्किगोनी मार्फत दर्शकमाझ लोकप्रियता कमाएका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गरेका छन्। उनले आफ्नो पहिलो निर्देशकीय सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा खीर खाने दिनको अवसर पारेर गरेका हुन्।

यसअघि टेलिभिजन क्षेत्रमा सफल यात्रा तय गरेका पाँडेले गत वर्ष फागुन १३ गते प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ मार्फत फिल्म अभिनयको क्षेत्रमा पाइला चालेका थिए। सो चलचित्र बक्सअफिसमा सफल भएपछि उनी निर्देशनमा प्रवेश गरेका हुन्।

सक्किगोनी टिमबाट मुन्नी मात्रै

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनी टिमबाट प्रियाना आचार्य ‘मुन्नी’ मात्र रहनेछिन् भने अन्य कलाकारहरू कथा अनुसार छानिने निर्देशक घिमिरेले जानकारी दिए। फिल्ममा गणेश उप्रेती, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रमार्फत करिब ९ वर्षपछि कलाकार गणेश उप्रेती नेपाली रजतपटमा फर्कंदैछन्। “एउटा राम्रो टिमबाट कमब्याक गर्न पाउँदा उत्साहित छु,” उप्रेतीले शुभमुहूर्तमा प्रतिक्रिया दिए।

कथावस्तु र निर्माण पक्ष

पारिवारिक कथावस्तुमा निर्माण हुने यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ। चलचित्रको कथा कुमार व्यञ्जनकार ‘कुमार बेन’ले लेखेका हुन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेको रहेको छ।

४५ दिनको छायांकन सेड्युल तय गरिएको यो सिनेमा पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ। फिल्ममा छायांकन बुद्ध थापाले गर्नेछन् भने लगानी सुशील कडरियाको रहनेछ।

बालेन शाहको र्याप र गणेश कार्कीको गीत

चलचित्रका गीतमा रास्वपाका नेता गणेश कार्कीको रचना समावेश गरिएको छ भने एउटा गीतमा काठमाडौं महानगर प्रमुख बालेन शाहको र्याप समेत प्रस्तुत गरिने जनाइएको छ। शुभमुहूर्त कार्यक्रममा बालेन शाहकी पत्नी सविना काफ्लेको उपस्थिति उल्लेखनीय रह्यो। उनले फिल्म युनिटलाई सफलताको शुभकामना दिएकी थिइन्।

अर्जुन घिमिरे स्वयंले चलचित्रमा अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा भने हालसम्म खुलाइएको छैन।

‘रेलको बाटो’ फिल्म घोषणा : कर्णालीको राजनीतिक र सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास

काठमाडौं,साउन १५ – कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली फिल्म ‘रेलको बाटो’ निर्माण हुने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।

फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ब्यानर देखिन्छ, जसले कर्णालीलाई ‘दर्शनीय प्रयोगशाला’ बनाइने आलोचनात्मक सन्देश दिन खोजिएको बुझिन्छ।

पोस्टरमा उल्लेख गरिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने भावनात्मक संवादले राज्यको बेवास्ताप्रति तीव्र संकेत गरेको छ। निर्देशक सुनारका अनुसार फिल्ममा एक सामान्य नागरिकको संघर्ष, श्रीमान–श्रीमतीबीचको सम्बन्ध र राज्यको उपेक्षा मुख्य कथा बन्नेछ।

फिल्ममा कर्णालीका सडक अभाव, स्वास्थ्य सेवाको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप र शक्ति केन्द्रबाट हुने नजरअन्दाज जस्ता विषयलाई उठान गरिने जनाइएको छ।

फिल्मको संगीत सुरज पण्डितले तयार पार्नेछन् भने छायांकन निसाल पौडेलले गर्नेछन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्। कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।

निर्माण टिमका अनुसार, फिल्मको छायांकन यस वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा गरिनेछ र फिल्म २०८३ सालमा प्रदर्शनमा ल्याउने योजना रहेको छ। हाल फिल्मको पटकथा अन्तिम चरणमा पुगेको र कलाकार छनोट प्रक्रिया अघि बढिरहेको जानकारी दिइएको छ।

यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोलाई व्यापक चर्चा मिलिसकेको थियो। निर्माण पक्षका अनुसार फिल्मले “दुरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशा”लाई पर्दामा जीवन्त रूपमा उतार्नेछ।

‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि कि’ निर्माण घोषणा, दशैको भोलिपल्ट छायांकन सुरु

काठमाडौं – चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारि फिल्म ‘क का कि कि’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो।

पोस्टरअनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, ऋचा शर्मा र मदनकृष्ण श्रेष्ठको प्रमुख भूमिका रहनेछ। त्यस्तै, टिकटक स्टार पवित्रा, पवन खत्रीलाई, हिशिर भट्ट, सुजाता थापा, विजय बराल, विशाल अधिकारीलगायतको पनि विशेष भूमिका रहनेछ।

घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारहरूको भाव, फिल्मको टाइटल र मेकिङ टिमको जनराअनुसार यो फिल्म पूर्ण कमेडी शैलीमा निर्माण हुनेछ।

फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्धा प्रसाईँ र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेको हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र राजेश भन्टेलको सहकार्य रहनेछ।

छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन्। फिल्मको थिमपोस्टर रोयल भिज्युअल्सले तयार पारेको हो।

फिल्मको वितरण आई वान्टेनेइन, अन्तर्राष्ट्रिय वितरण सेवन रिजल्ट र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएको छ। हाल टेलिभिजनमा प्रशारण भइरहेको ‘कमेडी दरबार’ सफलताको निर्देशन गरेका विक्की अग्रवालको यसै फिल्मी प्रोजेक्ट हो।

निर्माता टिमले भनेको छ, ‘कमेडी दरबार’ मार्फत हामीले दर्शकको मन जित्न सफल भयौं। त्यही विश्वास र भरोसालाई हामी फिल्ममा पनि उस्तै रुपमा प्रस्तुत गर्दैछौं। दर्शकसँग यति साँचोमा यो उत्कृष्ट अवसर पाएका छौं। ‘क का कि कि’ को यस यात्रामा हामीलाई दर्शकले साथ दिनुहुन्छ भन्ने पुर्ण रुपमा आशावादी छौ।

‘ढाट्यो मायाले’ गीतका लागि सुमी पराजुलीलाई “Best Emotional Vocalist – Global Star Award 2025”

काठमाडौं, श्रावण १२।
नेपाली संगीत क्षेत्रकी उदीयमान गायिका सुमी पराजुलीले चर्चित गीत ‘ढाट्यो मायाले’ बाट “ग्लोबल स्टार अवार्ड २०२५” अन्तर्गत Best Emotional Vocalist को अवार्ड प्राप्त गरेकी छन्।

यस प्रतिष्ठित सम्मान कार्यक्रममा उनलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट सम्मानित गरियो। गायनमा देखिएको गहिरो भावना, मिठो स्वर र प्रस्तुति शैलीका कारण सुमीले सो अवार्ड प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ।

‘ढाट्यो मायाले’ बोलको गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न सफल भएको थियो। गीतको भावनात्मक गहिराइ र सुमीको समर्पित गायनले दर्शक तथा श्रोताको मन जितेको छ। यही गीतका कारण उनले Best Emotional Vocalist को रूपमा यो वर्षको अवार्ड हात पारेकी हुन्।

सम्मान ग्रहण गरेपछि गायिका सुमी पराजुलीले आफ्नो सामाजिक सञ्जालमा लेखिन्:

“पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको हातबाट ‘ढाट्यो मायाले’ बोलको गीतबाट ‘Best Emotional Vocalist – Global Star Award 2025’ ग्रहण गर्ने अवसर पाउँदा गर्व र खुशी छु। यो सम्मान तपाईंहरू सबैको माया र विश्वासको उपहार हो। सधैं साथ र समर्थनका लागि धन्यवाद।”

नेपाली संगीतप्रेमीहरू माझ आफ्नो स्वभाविक गायन र सरल प्रस्तुति शैलीका कारण लोकप्रिय बन्दै गरेकी सुमी पराजुलीको यो सफलता आगामी दिनमा उनको सांगीतिक यात्राका लागि थप प्रेरणादायी बन्ने विश्वास लिइएको छ।

ग्लोबल स्टार अवार्ड ले हरेक वर्ष कला, संगीत, साहित्य, अभिनय लगायतका विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। आयोजकका अनुसार यो अवार्ड सुमी पराजुलीलाई ‘ढाट्यो मायाले’ गीतमा देखिएको भावनात्मक गायनका लागि प्रदान गरिएको हो।

मिलन चाम्स निर्देशित ‘सुम्निमा’ मा अनिकेत पाख्रिन लामा अनुबन्धित, अडिसनमार्फत चयन

काठमाडौं।
निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नयाँ अनुहारको रूपमा अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। उनले अडिसन प्रक्रिया पार गर्दै यो फिल्ममा स्थान बनाएका हुन्।

अनिकेत पाख्रिन लामा भारतीय चर्चित रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ को १४औं सिजनका प्रतिस्पर्धी थिए, जहाँ उनी उत्कृष्ठ आठ प्रतिस्पर्धीमा पर्न सफल भएका थिए। नेपाली मुलका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई प्रभावित पारेको निर्देशक चाम्सले जानकारी दिएका छन्।

अनिकेतले यस चलचित्रमार्फत नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेका हुन्। निर्देशक चाम्सका अनुसार, ‘सुम्निमा’ विशुद्ध प्रेम कथामा आधारित फिल्म हो। यद्यपि नामले नारीप्रधान कथा जस्तो लागे पनि, फिल्म प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित हुनेछ।

चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारीमा छ। फिल्म गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्नेछ।

यसअघि नै उपासना सिंह ठकुरी, कुन्साङ बमजन र अनुप विक्रम शाही चलचित्रमा अनुबन्ध भइसकेका छन्। बाँकी कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया पनि क्रमशः जारी रहेको जनाइएको छ।

निर्देशक मिलन चाम्सको पछिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हात पार्दै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान राखेको थियो। त्यसैले ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गर्न लागिएको चाम्सको भनाइ छ।

‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध, नीता ढुङ्गानाको निर्देशनमा दशैंमा प्रदर्शन हुने

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’ मा बरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। निर्देशक ढुङ्गानाले आइतबार अभिनेत्री शर्मासँग कागजी सम्झौता गर्दै यो जानकारी सार्वजनिक गरेकी हुन्।

फिल्ममा शर्मालाई अनुबन्ध गरेपछि ढुङ्गानाले भनिन्, “चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।”

यसअघि फिल्मका लागि भारतका चर्चित छायाँकार कवीरलाल र शाहिदलाललाई डिओपीका रुपमा अनुबन्ध गरिएको निर्माण पक्षले जानकारी गराएको छ। यद्यपि, फिल्मका अन्य मुख्य कलाकारको नाम भने केही सातापछि सार्वजनिक गर्ने योजना रहेको नीता ढुङ्गानाले बताएकी छन्।

ढुङ्गानाको डेब्यु निर्देशन रहने यस फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेले सम्हाल्नेछन्। ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको दसैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले लिएका छन्। फिल्मको अन्य टोली र प्राविधिक पक्षबारे निर्माण पक्षले छिट्टै विस्तृत जानकारी दिने बताइएको छ।

‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक, प्रवासी नेपालीको पीडा बोल्ने प्रयास

काठमाडौं, साउन ११ — साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्ने मानसिक र भावनात्मक संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गायक रामचन्द्र काफ्लेको आवाज सुन्न सकिन्छ। मदन पुरस्कार विजेता अमर न्यौपानेले लेखेको यस गीतमा संगीत पनि काफ्लेकै रहेको छ भने संगीत संयोजन किरण तुलाधरले गरेका छन्।

गीतमार्फत प्रवासी युवाहरूको मनोदशा, आमाको सम्झना, र परदेशमा बितेका कठिन पलहरूलाई गहिरो भावनासहित चित्रण गरिएको छ। गीतले फिल्मको मूल कथा र भावनालाई उजागर गर्ने उद्देश्य बोकेको निर्माण पक्षको भनाइ छ।

‘रियाल रिङ्गेट’ फिल्मको नाम खाडी मुलुक तथा मलेसियाको मुद्रा रियाल र रिङ्गेटबाट प्रेरित छ। यी दुई मुलुकमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्, र फिल्ममा उनीहरूको यथार्थ जीवनका संघर्षहरू उतारिएको छ।

फिल्ममा प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, रामचन्द्र अधिकारी, रियर राई, सन्दीप तामाङ, सीमा केसी, विमला गिरी लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।

फिल्मको निर्देशन विभोर पोखरेलले गरेका हुन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर र कोरियोग्राफी राजीव समरको रहेको छ।

‘रियाल रिङ्गेट’ ले परदेशमा पसिना बगाउँदै आस्थाले भरिएका नेपालीहरूको कथा दर्शकसमक्ष पुर्‍याउने अपेक्षा गरिएको छ।‘रियाल रिङ्गेट’ को ‘आमा’ गीत सार्वजनिक, प्रवासी नेपालीको पीडा बोल्ने प्रयास

काठमाडौं, साउन ११ — साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्ने मानसिक र भावनात्मक संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गायक रामचन्द्र काफ्लेको आवाज सुन्न सकिन्छ। मदन पुरस्कार विजेता अमर न्यौपानेले लेखेको यस गीतमा संगीत पनि काफ्लेकै रहेको छ भने संगीत संयोजन किरण तुलाधरले गरेका छन्।

गीतमार्फत प्रवासी युवाहरूको मनोदशा, आमाको सम्झना, र परदेशमा बितेका कठिन पलहरूलाई गहिरो भावनासहित चित्रण गरिएको छ। गीतले फिल्मको मूल कथा र भावनालाई उजागर गर्ने उद्देश्य बोकेको निर्माण पक्षको भनाइ छ।

‘रियाल रिङ्गेट’ फिल्मको नाम खाडी मुलुक तथा मलेसियाको मुद्रा रियाल र रिङ्गेटबाट प्रेरित छ। यी दुई मुलुकमा लाखौँ नेपाली श्रमिक कार्यरत छन्, र फिल्ममा उनीहरूको यथार्थ जीवनका संघर्षहरू उतारिएको छ।

फिल्ममा प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, रामचन्द्र अधिकारी, रियर राई,सुवास सिंह ठ्कुरी , सन्दीप तामाङ, सीमा केसी, विमला गिरी लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।

फिल्मको निर्देशन विभोर पोखरेलले गरेका हुन्। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर र कोरियोग्राफी राजीव समरको रहेको छ।

‘रियाल रिङ्गेट’ ले परदेशमा पसिना बगाउँदै आस्थाले भरिएका नेपालीहरूको कथा दर्शकसमक्ष पुर्‍याउने अपेक्षा गरिएको छ।

‘परालको आगो’बाट किन टाढिए जितु नेपाल?

काठमाडौं –
नेपाली चलचित्र ‘परालको आगो’बाट कलाकार जितु नेपाल बाहिरिएको पुष्टि भएको छ। केही महिनाअघि निर्माण टिमसँग सहमति जनाएका जितुले अन्ततः फिल्म छोडेका हुन्।

निकट स्रोतका अनुसार, कथा र टिम चयनबारे केही विषयमा मत बाझिएको थियो। जितुले कथावस्तुमा सुझाव दिन खोजेका थिए भने निर्माणपक्षले आफ्नै योजना अनुसार अगाडि बढ्न चाहेको बुझिएको छ।

फिल्मको छायांकन दशैंको फूलपाती अगाडि सुरु गर्ने तयारी छ, तर जितुले त्यतिबेलाको डेट उपलब्ध नभएको जनाएपछि थप असमझदारी चुलिएको बताइएको छ।

निर्माण टिम अहिले जितुले पाउने भूमिका नयाँ कलाकारलाई दिने तयारीमा जुटेको छ। सुशील पोखरेलको निर्माण, लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्।

पहिले दशैंको फूलपातीमा रिलिज गर्ने भनिएको फिल्मको प्रदर्शन मिति हाललाई स्थगित गरिएको छ। तर, यही वर्षभित्र फिल्म प्रदर्शन गर्ने लक्ष्य भने कायमै रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्र बुझ्ने चलचित्र पत्रकारको अभाव, नयाँ कलाकारको उपेक्षा!

काठमाडौं, साउन ११ –
नेपाली चलचित्र क्षेत्र लगातार सक्रिय देखिन्छ, लगातार फिल्महरू रिलिज भइरहेका छन्। तर यस्ता फिल्मको प्रचार–प्रसारमा संलग्न मिडिया र पत्रकारहरूको शैलीप्रति गम्भीर असन्तोष प्रकट हुन थालेको छ।

चलचित्र समीक्षामा संलग्न ९० प्रतिशत पत्रकारले न त फिल्मको भाषा बुझ्छन्, न त फिल्म निर्माणको प्रक्रियामै चासो देखाउँछन्। नायक–नायिकासँग “लभ परेको हो?” भन्ने हल्का खालका प्रश्न सोध्न तत्पर हुने पत्रकारहरूले फिल्मको कलात्मक पक्ष, सामाजिक सन्देश र समग्र योगदानबारे प्रायः चासो नदेखाउनु चिन्ताको विषय बनेको छ।

“हाम्रो फिल्म आउँदैछ, विज्ञापनसमेत दिएका छौँ। प्रचारको अपेक्षा राखेका छौँ। तर मिडियाले फिल्मबारे गहिरो समीक्षा गर्नुको सट्टा भाइरल शीर्षक खोज्छ,” एक निर्देशकले गुनासो गरे।

नयाँ अनुहारको बेवास्ता
‘सिटामोल’ फिल्मका निर्देशकले त स्पष्ट रूपमा टिप्पणी गरे –
“नयाँ कलाकारलाई अघि ल्याउने प्रयास गर्दा मिडिया मौन बस्छ। तर स्थापित अनुहारहरूमार्फत सस्तो मनोरञ्जनको खोजी भने रोकिन्न। यस्तो प्रवृत्तिले नेपाली चलचित्र क्षेत्र कहिल्यै अघि बढ्दैन।”

जस्तै, फिल्म ‘रियल रिङ्गेट’ मा देखिएका प्रतिभाशाली कलाकार प्रमोद चौलागाईंजस्ता अनुहार प्रचारको अभावमा हराउँदै जान्छन्। यदि निता ढुंगाना जस्ता परिचित अनुहार फिल्ममा नहुँदा, कतै फिल्मको नाम नै बेपत्ता हुने खतरा देखिन्छ।

‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालबाहेकका कलाकारलाई मिडियाले खासै चिनेको देखिँदैन। त्यस्तै, ‘मोहर’ फिल्ममा पल शाह, नीति शाह र बेनिशा मात्र मिडियाको फोकसमा परे; बाँकी कलाकारको योगदानप्रति ध्यान नदिइएकोप्रति असन्तुष्टि बढ्दो छ।

प्रश्न उठ्छ –

नयाँ कलाकार कहिले अगाडि बढ्ने?

मिडिया किन सधैं स्टारपावरमै केन्द्रित हुन्छ?

सम्पूर्ण फिल्म टिमको योगदान किन ओझेलमा पर्छ?

नेपालको चलचित्र प्रचार–प्रसारमा दृष्टिकोण परिवर्तनको खाँचो देखिएको छ। यदि हामीले नयाँ प्रतिभालाई चिन्न र चिनाउन थालिएनौं भने नेपाली चलचित्र सधैं उस्तै अनुहार र उस्तै शैलीको चक्रमा सीमित रहने खतरा विद्यमान रहन्छ।