२०८२ मंसिर २१, आइतवार

‘माग्ने राजा’ टिजर सार्वजनिक: केदार घिमिरे पहिलोपटक मुख्य भूमिकामा, रमाइलोको डोज डबल!

काठमाडौं, असार १६ –

टेलिभिजनबाट दर्शकको मन जितेका माग्ने बुढा अर्थात् केदार घिमिरे अब ठूलो पर्दामा ‘राजा’ बन्ने तयारीमा छन्। हल्का हाँस्यरस बोकेका दर्जनौँ प्रोजेक्टपछि उनी ‘माग्ने राजा’ मा मुख्य भूमिकासहित पहिलोपटक हलमा डेब्यू गर्दैछन्।

सोमबार सार्वजनिक टिजर हेर्दा, फिल्मले दर्शकलाई हसाउने मात्र होइन, भावनात्मक कनेक्ट दिने संकेत पनि गर्छ। टिजरमा केदार घिमिरेका अनेकन रूप देखिन्छन्— कहिले माग्ने, कहिले नेता, कहिले राजा! टिजरमा उनले बोलेको संवाद “राजा भएर माग्दा नि कस्तो गारो हुन्छ है!” भन्ने लाइनले कथा भित्रको व्यंग्यात्मक सन्देश झल्काउँछ।

माग्ने बुढा र तक्मे बुढा फेरि एकसाथ

टिजरमा टेलिभिजनको चर्चित जोडी माग्ने बुढा (केदार घिमिरे) र तक्मे बुढा (विल्सन विक्रम राई) फेरि एकसाथ देखा परेका छन्। तर यसपटक उनीहरू मामा–भान्जाको भूमिकामा छन्। मज्जाले ट्युनिङ मिल्ने यी दुईको जोडी फेरि स्क्रिनमा फर्किँदा पुराना दर्शकका लागि नॉस्टाल्जिया हुनेछ भने नयाँका लागि कन्टेन्ट कमेडीको स्वाद।

अन्य कलाकार र प्राविधिक टिम

पौने दुई मिनेटको टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन्। यद्यपि उनीहरूको भूमिकाबारे खुलाइएको छैन।

फिल्म निर्देशनमा ऋषि लामिछाने छन् भने निर्माता मधुसुदन शर्मा र प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्।

प्राविधिक पक्ष:

छायांकन: नरेन्द्र मैनाली

कथा: सामीप्यराज तिमल्सेना

पाश्र्व संगीत: सुजिल कर्माचार्य

सम्पादन: मित्र गुरुङ

टिजर निर्माण: साहिल खान

प्रदर्शन मिति र वितरण

‘माग्ने राजा’ भदौ ६ गतेबाट नेपालसँगै विदेशमा पनि रिलिज हुने तयारीमा छ। फिल्मको वितरण अधिकार RR Films ले लिएको छ।

टिजर हेर्नुहोस्:

🔗 https://youtu.be/0pvosNcq4Hc

‘सिटामोल’को टिजर सार्वजनिक, सौगात र बेनिशाको जीवन कथामा आधारित प्रेम

काठमाडौं, असार १५ —
आगामी साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ। आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने विशेष अवसर पारेर सार्वजनिक गरिएको टिजर १ मिनेट ४९ सेकेण्डको छ, जसले ग्रामीण समाजको जीवनशैली, प्रेम, पीडा र संघर्षलाई प्रभावशाली ढंगले चित्रण गरेको देखिन्छ।

‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने गहिरो भावनात्मक संवादबाट सुरु हुने टिजरले निर्देशक राज बहादुर साने को कलात्मक दृष्टिकोण प्रस्तुत गर्दछ। टिजरमा सौगात मल्ल र बेनिशा हमालबीचको बाल्यकालदेखिको सम्बन्ध, प्रेम र विवाहपछिको उतारचढाव भावनात्मक रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ गहिरो जिज्ञासा सिर्जना गरिरहेको छ।

चलचित्रमा सौगात मल्ल, बेनिशा हमालसँगै श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसी को अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु चलचित्र हो।

तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको ‘सिटामोल’ को कथा प्रदीप भट्टarai र निर्देशक साने स्वयंले लेखेका हुन्। चलचित्रको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् भने निर्माता भूगोल कुमार कार्की र विकास राज जोशी हुन्। कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी र सह-निर्माता गंगाराम श्रेष्ठ रहेका छन्।

चलचित्रमा बाबुल गिरी को संगीत, कविराज गहतराज को कोरियोग्राफी, बन्दे प्रसाद को सम्पादन, राजेन्द्र मोक्तान को डिआई कलर, मुकेश शाह को साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जन को द्वन्द्व निर्देशन रहेको छ। राकेश दाहाल ले पोस्टर डिजाइन गरेका छन् भने सिनेमाटोग्राफरको भूमिकामा दिव्य सुवेदी छन्।

‘द ब्लू लाइट’ को छायांकन २५ दिनमै सम्पन्न, निर्देशक बलिराम चौहानको डेब्यु फिल्म

काठमाडौं, असार १४ –
साइकोलोजिकल थ्रिलर विधामा निर्माण भइरहेको नेपाली चलचित्र ‘द ब्लू लाइट’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २२ गते सुरु भएको फिल्मको छायांकन राजधानीका विभिन्न स्थानहरूमा सम्पन्न गरिएको हो, र जम्मा २५ दिनभित्र छायांकन प्रक्रिया टुंग्याइएको निर्माण पक्षले जनाएको छ।

निर्देशनमा बलिराम चौहानको डेब्यु रहेको यस फिल्ममा उनी पूर्व सफल फिल्म ‘बलिदान’ का लेखक तथा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। चौहानले कलाकारहरूको अभिनय र टोलीको समर्पणले आफूले कल्पना गरेको कथा पर्दामा सजीव रूपमा उतार्न सकेको प्रतिक्रिया दिएका छन्।

स्काइफल पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा पनि फिल्ममा देखिनेछन्।

फिल्ममा रमन ग्रे सह-निर्माताको रूपमा संलग्न छन् भने कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्। छायांकन सकिएपछि सामाजिक सञ्जालमार्फत अभिनेत्री हमालले भावुक हुँदै लेखेकी छन् –

“अनुशासित, समर्पित र जोशिलो टोलीसंग काम गर्ने अवसर पाएकोमा खुसी छु। मैले निभाएको पात्र मेरो जीवनमा सधैं रहनेछ।”

फिल्मको पोस्ट-प्रोडक्सन प्रक्रिया सुरु भइसकेको र चाँडै नै प्रदर्शन मिति र थप विवरण सार्वजनिक गरिने जानकारी दिइएको छ।

‘हली’को ‘चान्स पाएँ त’ गीत सार्वजनिक, स्टारहरुको धमाकेदार नृत्य

काठमाडौं, असार १३ –
सुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

बाबुल गिरी र शान्ती श्री परियारको सुमधुर स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीकै संगीतमा तयार भएको यो गीतलाई निकै कर्णप्रिय र आकर्षक बनाइएको छ। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा नेपालका चर्चित कलाकारहरूको ऊर्जाशील प्रस्तुति देख्न सकिन्छ।

भिडियोमा फिल्मका प्रमुख कलाकार प्रमोद दीप सँगै दीपाश्री निरौला, प्रियंका कार्की, पूजा शर्मा, किरण केसी र दीलिप रायमाझीको छमछमी नृत्य प्रस्तुत गरिएको छ। गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्म वास्तविक घटनाबाट प्रेरित भएको बताइएको छ। नम्रता भण्डारी सह-निर्माताको रूपमा जोडिएकी छन् भने अर्जुन भुसाल कार्यकारी निर्माताका रूपमा संलग्न छन्।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भट्टaraiको संगीत, कुमार महर्जनको एक्सन निर्देशन तथा कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ। छायांकन राहुल राइले गरेका हुन् भने प्रमोशनल गीतको सम्पादन विपिन मल्लले गरेका छन्।

कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले फिल्म ‘हली’ देशमा सकारात्मक परिवर्तन ल्याउन सक्ने पात्रको कथा रहेको बताउँदै दर्शकको साथ पाए निरन्तर फिल्म निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक, नेपाली भाषा र संस्कृतिको संरक्षणमा केन्द्रित कथा

काठमाडौं, असार १३ –
राजधानीमा सम्पन्न एक कार्यक्रमबीच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, र संस्कृति प्रतिको प्रेम तथा संरक्षणको भाव प्रस्तुत गरिएको छ।

चलचित्रका निर्देशक मित्र प्रधानले यो सिर्जना नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिको महत्त्व बुझाउने उद्देश्यले निर्माण गरिएको बताए।
निर्माता तथा अभिनेता रोशन श्रेष्ठले चलचित्रलाई सबै नेपालीले एक पटक अवश्य हेर्नु पर्ने भन्दै यसको विषयवस्तुले सबैलाई छुने विश्वास व्यक्त गरे।

त्यसैगरी, अभिनेता विजय बरालले यो फिल्म फरक शैलीको भएको र यसले नेपाली भाषिक पहिचानलाई मजबुत बनाउने बताए। चर्चित हास्यकलाकार तथा अभिनेता विल्सन विक्रम राईले आफूले चलचित्रको कथासँग मेल खाने गीत लेखेको खुलाउँदै, कथावस्तुले उनलाई गहिरो रूपमा छोएको बताए। चलचित्रकी नायिका आयुषा समालले विदेशमै बसेर पनि नेपाली भाषा सिक्ने र जोगाउने प्रयास आफूले गरिरहेको बताइन्।

असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा
रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन (मन्त्री), सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, र भानुभक्त सिटौलालगायतको अभिनय रहेको छ।

ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मित्र प्रधान प्रस्तुतकर्ता र ज्ञानबहादुर प्रधान (रोशन) निर्माता रहेका छन्।
चलचित्रको निर्देशन अमेरिकामा बसेर साहित्य साधनामा लागिरहेका मित्र प्रधानले गरेका हुन् भने कथालेखन शिवम् अधिकारीको रहेको छ।

सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कबिराज गहतराज र प्रमोद भण्डारीको नृत्य निर्देशन, बनिश शाहको सम्पादन, र सत्यम रानाको सिजिआइ कार्य रहेको छ।
दिपक शर्मा, विकास चौधरी, र थोरम्पो ह्याङ राईको संगीत, शब्दमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल तथा अनिश अधिकारीको योगदान रहेको छ।

चलचित्रको वितरण आर आर फिल्म्सले गर्नेछ।

“चन्द्रलाइ कसले मार्‍यो?” : लेखक तथा निर्देशक सन्दीप श्रेष्ठको दोस्रो नाटक मण्डलामा मञ्चन हुँदै

काठमाडौं, असार १४ –
सन् २०१७/१८ तिर पहिलो नाटक ‘चिसो भञ्ज्याङ’ निर्देशन गरेर मण्डला थिएटरमा सशक्त उपस्थित जनाएका सन्दीप श्रेष्ठ फेरि मञ्चमा फर्किन लागेका छन् — यसपटक एक गहिरो र आत्मीय कथा लिएर, शीर्षक ‘चन्द्रलाइ कसले मार्‍यो?’।

सन्दीपको नाटकीय यात्रा सजिलो थिएन। पहिलो नाटकपछि अर्को प्रोडक्सनको प्रयास पटक–पटक भयो, तर सीमित स्रोत, निर्माता नहुनु, शक्तिशाली सम्बन्ध र विशेष पहुँचको अभावले गर्दा उनका पाइला प्रायः रोकिन्थे। त्यस्ता चुनौतीहरूको बीचबाट उनले आफैंलाई बनाउँदै लगे — र आज, वर्षौंको सपना साकार गर्दै मञ्चमा पुनः उभिन लागेका छन्।

मण्डला थिएटर नेपालको प्रस्तुति रहेको यो नाटकमा लेखन, परिकल्पना र निर्देशन सन्दीप श्रेष्ठले नै गरेका हुन्। नाटक असार २५ गतेदेखि साउन १८ गतेसम्म मण्डला थिएटर, थापा गाउँ बानेश्वरमा मञ्चन हुनेछ।

प्रति दिनको नियमित शो साँझ ५:३० बजे हुनेछ,

शनिबारको दिन दिउँसो १:१५ बजे विशेष अतिरिक्त प्रदर्शन समेत हुनेछ।

पोस्टरमा देखिएको गहिरो कला र कथाको झलकले नै दर्शकहरूलाई सोच्न बाध्य बनाइसकेको छ। नाटकको विषयवस्तु, शैली र प्रस्तुतीकरण दर्शकलाई मन छुनेछ भन्ने विश्वास निर्माण भएको छ।

सन्दीप श्रेष्ठ लेख्छन् –
“मसँग ठूलाठूला निर्माता थिएनन्, पहुँच थिएन, तर मसँग सपना थियो। त्यो सपना पूरा गर्न मण्डला थिएटर र यहाँका मान्छेहरू मेरो साथमा उभिए। अब त्यो सपना देखाउने बेला आएको छ।”

यो नाटक नाटककार सन्दीप श्रेष्ठको मात्र होइन, नेपाली नाट्यकला क्षेत्रमा संघर्षरत सर्जकहरूको पनि प्रतिनिधि कथा हो। ‘चन्द्रलाइ कसले मार्‍यो?’ केवल एक नाटक होइन, एउटा प्रश्न हो, जुन दर्शकको मनमस्तिष्कमा बजिरहनेछ।

थप जानकारीका लागि
🎟 टिकट अनलाइन र थिएटरमै उपलब्ध

‘महाकाव्य’मा मुख्य भूमिकामा आलिशा बास्तोला अनुबन्धित, नेपाली सिनेमामा फ्यान्टेसी र एक्सनको नयाँ अध्याय सुरु हुँदै

काठमाडौं, असार ९ –
नेपाली फिल्म उद्योगमा फ्यान्टेसी, पौराणिकता र आधुनिक एक्सनको त्रिवेणी प्रस्तुत गर्ने महत्त्वाकांक्षी उद्देश्यसहित निर्माणको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘महाकाव्य’ मा अभिनेत्री आलिशा बास्तोला मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।

निर्माताको भनाइअनुसार, फिल्मको कथा अब आलिशाको चरित्रकै आँखाबाट अघि बढ्नेछ, जसले कथालाई स्त्री-केन्द्रित दृष्टिकोण, भावनात्मक गहिराइ, र संवेदनशीलता दिनेछ। फिल्म एक नवीन ‘Fantasy World’ सिर्जना गर्दैछ, जुन नेपाली सिनेमाको लागि सिनेम्याटिक ब्रेकथ्रु सावित हुने दाबी गरिएको छ।

🎬 कलाकार र निर्माण टिम

खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको निर्देशन मदन खड्काले गर्नेछन् भने एक्सन निर्देशनको जिम्मा शुक्रराज शाहले सम्हाल्नेछन्।

मुख्य कलाकारहरू:

आलिशा बास्तोला

शेखर सुवेदी

अनुज कटवाल

रेशना भण्डारी

दिपिका थापा

रेजिना धमला

निर्जरा के.सी.

मोनिका कँडेल

अमु अधिकारी

उज्जयाल शर्मा

फिल्ममा एक नयाँ कलाकारलाई पनि विशेष भूमिकामा प्रस्तुत गरिँदैछ, जो अहिले फिजिकल ट्रान्सफर्मेसन, नृत्य, र एक्सन तालिममा व्यस्त छन्।

प्रतीकात्मक थिम पोस्टर: ‘भालाबीचको टक्कर’

फिल्मको सार्वजनिक थिम पोस्टरमा दुई भालाबीचको टक्कर देखाइएको छ, जसले कथाभित्र रहेको गहिरो द्वन्द्व, सङ्घर्ष, र भिजुअल शैलीको संकेत गर्छ। पोस्टरमार्फत फिल्मको पौराणिक र प्रतीकात्मक संसारलाई दर्शकसामु ल्याउने प्रयास गरिएको छ।
भदौदेखि छायांकन सुरु

फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुने जनाइएको छ। आलिशा बास्तोला जस्तो अनुभवी र लोकप्रिय अभिनेत्रीलाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्नुले फिल्मको दर्शक अपील मात्र नभई भावनात्मक प्रभावमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
: ‘महाकाव्य’ नेपाली फिल्मको इतिहासमा एक नयाँ सिनेम्याटिक अध्याय लेख्ने यात्रा हो, जसमा कल्पनाशक्ति, सांस्कृतिक गाथा, र प्रविधिको संयोजन हुनेछ।

गायिका सुमी पराजुलीको ‘ढाँट्यो मायाले’ सार्वजनिक

काठमाडौं:-असार १३,गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ।

गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्। शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन्।

गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन SD HOUSEले गरेको हो। भिडियोमा अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन्।

गीतको लय, दृश्य र सन्देशको संयोजनले ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने भिडियो बन्ने विश्वास गरिएको छ। फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न पाइनेछ।

शिल्पा पोखरेल अभिनित ‘डिभोर्स’ कथा बोकेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, १२ असार — अभिनेत्री शिल्पा पोखरेलको प्रमुख अभिनय रहेको ‘डिभोर्स’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। एलबी प्रोडक्सनको प्रस्तुति रहेको यस भिडियोमा एक डिभोर्स (सम्बन्ध विच्छेद) पछिको संवेदनशील कथा र त्यसले पार्ने भावनात्मक असरलाई उजागर गरिएको छ।

गीतमा चर्चित गायक प्रमोद खरेलसँगै अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ। अनमोल विक्रमको शब्दमा ऋषि खड्काले संगीत भरेका छन्। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

भिडियोमा शिल्पा पोखरेलसँगै कलाकारहरू विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीको अभिनय देख्न सकिन्छ। भावनात्मक र सन्देशमूलक कथावस्तुले सुसज्जित भिडियोले विवाह, सम्बन्ध, र व्यक्तिगत स्वतन्त्रताको विषयलाई प्रभावकारी ढंगले चित्रण गरेको छ।

प्रकाशन क्रममा एलबी प्रोडक्सनले भनेको छ, “सम्बन्ध टुट्नु सधैं दुखद हुन्छ, तर कहिलेकाहीं टुटफुटकै माझमा आत्म–सम्मान बाँच्छ, स्वतन्त्रता फक्रन्छ, अनि आत्म–परिचय पुनः जन्मिन्छ। विवाहलाई जीवनको अन्तिम सत्य मान्नुपर्ने होइन। कहिलेकाहीं त्यही विवाह नर्क सावित हुन्छ।”

एलबी प्रोडक्सनले थप जोड दिएको छ, “समाजको डर, लाज र परम्पराको नाममा धेरैले आफूलाई हराइरहेका छन्। तर अस्वस्थ सम्बन्धमा बाँचेको जीवन, एक्लो तर शान्त जीवनभन्दा महान् कहिल्यै हुन सक्दैन।”

‘डिभोर्स’ भिडियो LB PRODUCTION युट्युब लगायत डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

‘लैजा मलाई’सुबास सिंह ठकुरीको जन्मदिनको अवसरमा रिलिज

काठमाडौं – असार १२, २०८२

निर्देशक आयान परियारको निर्देशनमा तयार भएको नयाँ म्यूजिकल फिल्म ‘लैजा मलाई’ (Laija Malai) को विशेष स्क्रिनिङ राजधानीमा सम्पन्न भएको छ। रिसाल्ला प्रोडक्सन र एभरेस्ट फिल्म एकेडेमीको संयुक्त सहकार्यमा निर्माण भएको फिल्ममा गायक/गीतकार महिम कालिकोटेको प्रस्तुति रहेको छ।

स्क्रिनिङ एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न

बिहीवार साँझ ६ बजे, एभरेस्ट फिल्म एकेडेमीको प्राङ्गणमा विशेष स्क्रिनिङ आयोजना गरिएको थियो। कार्यक्रममा एभरेस्ट फिल्म एकेडेमीका विद्यार्थीहरू, प्राविधिक, तथा निमन्त्रित अतिथिहरूको उपस्थिति थियो।

दर्शकहरूले फिल्मको संगीतिक प्रस्तुति, सिनेमाटोग्राफी, र भावनात्मक पक्षको प्रशंसा गरेका थिए।

महिम कालिकोटेको संगीतमा जीवन

फिल्मको प्रमुख गीतमा स्वर, शब्द र संगीत महिम कालिकोटेकै रहेको छ। संगीत संयोजन, मिक्सिङ र माष्टरिङ Dev ले गरेका हुन् भने ध्वनि सम्पादन The Blank Productions मा गरिएको हो।

मिलन घिमिरेको बाँसुरीले गीतमा विशेष भावनात्मक गहिराइ थपेको छ।

कलाकार र प्राविधिक टिम

फिल्ममा अभिनय गरेका कलाकारहरू:

सुबास सिंह ठकुरी

सुमित्रा कालिकोटे

ओजश्वी बिष्ट

कृष खड्का

सुजन पौडेल

प्रविन बजगाईं

बिष्णी थापा

प्राविधिक पक्ष:

डिओपी तथा सम्पादन: सौगन्ध दंगोल

सहायक निर्देशक: प्रविन बजगाईं, रबिन देशार

सहयोगी संस्था: EFA Entertainments, Alcove Sanctuary, Kantipur Art

जन्मदिनको अवसरमा विशेष प्रस्तुति

फिल्मको स्क्रिनिङ सुबास सिंह ठकुरीको जन्मदिनको अवसर पारेर गरिएको हो। कार्यक्रममा ठकुरीको अभिनयको पनि प्रशंसा गरिएको थियो।

निष्कर्ष

‘लैजा मलाई’ले नेपाली युवाको भावना, प्रेम, र संगीतप्रतिको गहिरो समर्पणलाई समेट्ने प्रयास गरेको छ। स्क्रिनिङपछि फिल्मप्रतिको चासो झनै बढेको छ र यसको औपचारिक सार्वजनिक प्रदर्शनको प्रतिक्षा गरिएको छ।