२०८२ मंसिर २१, आइतवार

“समुदायका लागि चिकित्सक संस्था” को औपचारिक सुरुवात – स्वास्थ्य सेवामा नयाँ कदम

काठमाडौँ, २०८२ जेठ १७
गौरीघाट–७, चावहिलस्थित नयाँ स्वास्थ्य संस्था “समुदायका लागि चिकित्सक संस्था” को औपचारिक सुरुवात आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।

समारोहमा प्रमुख अतिथिका रूपमा वडा प्रतिनिधि कल्पना सुनदस, समुदायिक सेवा समाजका अध्यक्ष श्री शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष श्री राजकुमार खड्की, फिल्म मेकर तथा मिडिया कर्मी श्री अमिर के.सी, साथै विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाको नाम, लोगो, पदाधिकारीहरूको विवरण, र ठेगाना सार्वजनिक गर्दै यसको उद्देश्य र भावी योजनाबारे जानकारी दिइयो।

📌 संस्थाको विवरण:

नाम: समुदायका लागि चिकित्सक संस्था

स्थान: गौरीघाट–७, चावहिल, काठमाडौँ

ईमेल: doctorforcommunity@gmail.com

संस्थाले सामाजिक उत्तरदायित्वका आधारमा गैरनाफामूलक स्वास्थ्य सेवा, समुदायमा स्वास्थ्य सचेतना, र निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका यस्ता पहलकदमीहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

संस्थाका पदाधिकारीहरूले आगामी दिनमा समुदायसँग सहकार्य गर्दै सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

समाज, माया, र मानव सेवाको मूलमन्त्रलाई आत्मसात् गर्दै स्थापित यो संस्था “स्वस्थ समुदाय, समृद्ध समाज” निर्माणमा समर्पित रहने विश्वास लिइएको छ।

👉 साथ, सहयोग र सुझावका लागि संस्थाले सबैमा अपिल गरेको छ।

स्वास्थ्य #सामाजिक #सेवा #गैरनाफामुलक #समुदाय #चावहिल #नयाँसंस्था

महानायक राजेश हमालको ‘नरसिंहा अवतार’ ले पहिलो सातामै २ करोड ४ लाखको व्यापार, दर्शकको उत्साहजनक साथ

काठमाडौं – महानायक राजेश हमालको आठ वर्षपछिको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ ले नेपाली बक्स अफिसमा उल्लेखनीय उपस्थिति जनाउँदै पहिलो सातामै २ करोड ४ लाख रुपैयाँको व्यापार गरेको छ। फिल्मले धार्मिक पृष्ठभूमिमा आधारित कथावस्तु, दमदार प्रस्तुतिकरण र राजेश हमालको सशक्त अभिनयका कारण दोस्रो सातातर्फ पनि उत्साहजनक व्यापार गरिरहेको छ।

तुलनात्मक रुपमा हलिउड र बलिउड प्रभाव, मल्टिप्लेक्स क्राउडको प्राथमिकता र डिजिटल प्रतिस्पर्धाबीच पनि ‘नरसिंहा अवतार’ ले गरेको कमाइलाई सकारात्मक मानिएको छ। विशेषगरी राजेश हमालको ‘फ्यान बेस’ र उनको अझै पनि यथावत रहेको क्रेज नै फिल्मको आकर्षणको मुख्य कारण बनेको देखिन्छ।

चलचित्रमा राजेश हमालसहित, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, मिस नेपाल २००० उषा खड्गी, दिपा शाही, राजिव जङ्ग बस्नेत, रमेश चन्द सोडारी, राजिव मानन्धर (टार्जन), प्रशान्त ताम्राकार, प्रकाश कुँवर, अमित गिरी, सरोज शाह र मिसेल घिमिरे जस्ता कलाकारहरूको अभिनय रहेको छ। यस्तो स्टार कास्ट नेपाली फिल्ममा निकै कम देखिन्छ, जसले दर्शकलाई हलसम्म ल्याउन ठूलो भूमिका खेलेको छ।

फिल्मले धार्मिक आस्था र सांस्कृतिक मूल्यमान्यतालाई आधुनिक सिनेमाटिक भाषामा प्रस्तुत गरेको छ। दर्शकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने निर्माण टिमले पनि सामाजिक सञ्जालमार्फत सबै दर्शक, प्रदर्शक, पत्रकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै निरन्तर समर्थनको अपेक्षा व्यक्त गरेको छ।

“जय नरसिंहा अवतार! जय नेपाली सिनेमा!” – निर्माण टिम

‘नरसिंहा अवतार’ ले पुराना र नयाँ पुस्ता बीचको सांस्कृतिक सेतु निर्माण गर्दै नेपाली फिल्म क्षेत्रलाई नयाँ प्रेरणा दिएको छ। यस्तो खालको प्रयासले नेपाली सिने उद्योगमा मसला विधा र पौराणिक कथा र एक्सन मिश्रणमा आधारित फिल्महरू बनाउन थप हौसला दिने निश्चित देखिन्छ।

“An Actor Prepares” : ४५ दिने अभिनय कार्यशाला ५ जुनदेखि, सीमित सिट उपलब्ध

काठमाडौं:-नेपाली कला क्षेत्रका आकांक्षी कलाकारहरूका लागि राम्रो खबर! अनुभवी प्रशिक्षक सुमन भण्डारीद्वारा निर्देशित ४५ दिने विशेष अभिनय मास्टरक्लास “An Actor Prepares” आगामी ५ जुन २०२५ देखि सुरु हुँदैछ। यस कार्यशाला स्टानिस्लाभस्कीको प्रसिद्ध अभिनय पुस्तकमा आधारित हुनेछ।

कार्यशालाबारे विशेष जानकारी:

कार्यक्रम नाम: An Actor Prepares – 45 Day Acting Masterclass

प्रेरणा स्रोत: Stanislavski’s Acting Method

प्रशिक्षक: आउट ल दफा २१९ चलचित्रमा नकारात्मक भुमिका बाट चर्चामा आएका सुमन भण्डारी

स्थान: ज्वागल, कुपन्डोल

शुरु मिति: ५ जुन २०२५

समय: साँझ ५:०० बजे देखि ७:३० बजे सम्म

सम्पर्क: 9803043141 / 9708073446

सिट संख्या: केवल ५ सिट बाँकी

किन सहभागी हुने?

अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘Stanislavski Method’ मा आधारित गहिरो अभ्यास

पात्र निर्माण, इमोशनल मेमोरी, स्क्रिप्ट विश्लेषण, संवाद प्रस्तुति लगायत विषयमा प्रशिक्षण

व्यावसायिक अभिनय यात्राका लागि बलियो आधार

अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष सिक्ने अवसर

यस कार्यशालाको आयोजना @hishana_productions र @sbhandari7 को सहकार्यमा गरिएको हो। अभिनयमा गहिरो रुचि राख्ने, रंगमञ्च वा चलचित्र क्षेत्रमा करियर बनाउने सोच भएका युवाहरूका लागि यो कार्यशाला एक उत्कृष्ट प्लेटफर्म हुन सक्छ।

ध्यान दिनुहोस्:

हाल केवल ५ सिट मात्र बाँकी रहेको जानकारी आयोजकले दिएका छन्। इच्छुक सहभागीहरूले तत्काल सम्पर्क गरी सिट सुरक्षित गर्न सुझाव दिइएको छ।

👉 थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस् वा @hishana_productions को सामाजिक सञ्जालमा फलो गर्नुहोस्।

गोविन्दको गौतमको ‘परी’को शुभ मुहुर्त

काठमाडौं : गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो।
मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी,दीपाश्री निरौला,लक्ष्मी गिरी,दीपक अधिकारी,रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो।
मुर्हुृत कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए। ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’उनले भने,‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ। जति डिरेक्टर साप गौतमले गर्नु भएको छ।’
दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताईन्। उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताईन्।
‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने फिल्म वाहु भन्ने बन्छ। फिल्म वाहु भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ। र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ,हामीले मात्र होइन। यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ।त्यसैले खेल्न राजी भए।’
यस फिल्ममा किरण,दीपा बाहेक अन्यमा प्रियंका कार्की,निदेश डिसी, दिग विजय केसी,श्याम राई,घनश्याम गिरी,दीपक अधिकारी,रेणु दुलाल,संगम गौतम,जेशिका पोखरेल,निशा गौतम,अर्नव नागिलाको अभिनय रहने छ।
निर्देशक गौतमले यो फिल्मको छायांकन यहि जेठ २८–२९ गतेबाट थाल्ने योजना रहेको बताए। दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाई छ। हामीले कल्पना गरेका परिको कथालाई नै आधार मानेर कथाले भन्नेछ।
बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ। फिल्ममा द्धन्द्ध रोशन श्रेष्ठ,संगीत दीपक शर्मा र विकास चौधरीको छ भने गायन डाक्टर खेम क्षेत्री,रचना रिमाल,डाक्टर महेन्द्र भट्टको छ। गीत आनन्द अधिकारीको छ।
मेकअप सरोज पाण्डे,केश विन्यास,प्रिया कार्कीको रहने यस फिल्ममा प्रोजेक्ट म्यानेजर सुवास काफ्लेको छ। यसका मुखय सहायक निर्देशकको जिम्मा चन्द्र भण्डारीले लिएका छन्।

नेपाली सिनेमामा प्रचारप्रसारमार्फत पहिचान बनाउँदै रुबी श्रेष्ठ

नेपाली फिल्म क्षेत्रमा प्रचार–प्रसार र ब्रान्ड निर्माणको माध्यमबाट सक्रिय योगदान दिँदै आएकी रुबी श्रेष्ठ पछिल्ला केही वर्षयता निरन्तर चर्चामा छिन्। करिब आठ वर्षअघि सिने क्षेत्रमा पाइला टेकेकी उनले आफ्नो यात्रा ‘मेरी मामु’ नामक चलचित्रबाट सुरु गरेकी हुन्। त्यसयता ‘इन्टु मिन्टु लन्डनमा’, ‘प्रेम गीत ३’, ‘बेहुली फ्रम मेघौली’ लगायतका चर्चित फिल्महरूसँग उनले नजिकबाट काम गरेकी छिन्।

हालैका दिनमा प्रचारको अग्रपंक्तिमा देखिएकी रुबी, निर्देशक दिवाकर भट्टराई निर्देशित र पल शाह तथा दीपिका प्रसाईं अभिनीत चलचित्र ‘मायावी’ को प्रचारमा विशेष रुपमा संलग्न थिइन्। फाल्गुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शनमा आएको उक्त चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको थियो। त्यसैगरी, चैत ८ मा रिलिज भएको निर्देशक सागर खनालको डेब्यू फिल्म ‘११:५५’ मा पनि उनी प्रचारको महत्त्वपूर्ण भूमिकामा थिइन्।

आगामी चलचित्र ‘बलिदान’ को प्रचारप्रसार तथा प्रवर्द्धनको जिम्मेवारी पनि रुबीकै काँधमा छ। दशैँको फूलपातीमा प्रदर्शन हुने यो चलचित्र ‘१२ गाउँ’ बाट चर्चामा आएका समीर भट्ट को दोस्रो चलचित्र र चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका सन्तोष सेनको हो। सम्भवतः यो चलचित्र हालसम्मकै ठूलो बजेटमा निर्माण भएको फिल्म हो, जसको प्रचार संयोजन रुबीले सम्हालिरहेकी छिन्।

रुबी श्रेष्ठको सिनेमामा उपस्थिति केवल पर्दामै सीमित छैन। उनी पर्दामार्फत निर्माण पक्षको सन्देश दर्शकसम्म पुर्‍याउने रणनीतिक योजनाकारका रूपमा पनि परिचित छिन्। आफ्नो करिअरको सुरुवातदेखि नै उनले आसुसेन प्रोडक्सनसँग सहकार्य गर्दै आएकी छन् र निर्देशक सन्तोष सेनलाई प्रेरणाका स्रोतका रूपमा लिने गरेकी छिन्। ‘प्रेम गीत ३’ को सफलताले उनलाई अझ बलियो आत्मविश्वास दिएको उनी बताउँछिन्।

उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छिन्। विशेषगरी आफ्ना भाइ आभास श्रेष्ठको साथ, सल्लाह र साथसाथीका कारण हरेक निर्णय सजिलो भएको उनी बताउँछिन्। रुबी सरल स्वभाव, स्पष्ट सोच र मिहिनेतमा विश्वास राख्ने व्यक्तित्वकी रूपमा परिचित छिन्। ‘काम कुनै पनि सानो हुँदैन, इमान्दारी र लगनशीलता नै सफलता प्राप्त गर्ने मूल चाबी हो’ भन्ने उनको विश्वास व्यवहारमै झल्किन्छ।

महानायक राजेश हमालको क्रेज

गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक सिनेमा भएकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्सअफिसमा देखिएको छ ।

यो सिनेमाले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले शुक्रबारबा बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिलेको छ ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै होइन मोफसलमा पनि महानायक हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए । हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । सिनेमाले उठाएको कथावस्तु, एक्सन पक्ष र महानायक हमालको अभिनय र अर्का अभिनेता श्रेष्ठ तथा अभिनेत्री सनिशा भट्टराईको अभिनयलाई दर्शकले मन पराएका छन् ।

यससँगै शनिबार दर्शकसँग साक्षात्कार गर्न महानायक राजेश हमाल करिब १० बर्षपछि देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुगेका हुन् । उनी त्यहाँ पुग्दा करिब १ हजारबढि दर्शकले सिनेमा हेरिरहेका थिए । सिनेमा हेरिरहेका दर्शक अगाडी महानायक हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरेका थिए । जहाँ हमालले दर्शकसँग सिनेमाको बारेमा प्रतिक्रिया लिँदै सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।

करिब १० वर्षपछि अष्टनारायण हल पुग्दा हमाल पनि उत्साहित देखिन्थे । उनीले हलमा स्टेजमा पुगेर सिनेमामा समावेश गीत अच्छा लेकिन लण्डनको चिसोले समाउलामा नृत्य समेत गरेका थिए । महानायक हमालले अष्टनारायण फकिँदै गदा मिडियासँग छोटो प्रतिक्रिया दिँदै १० वर्षपछि यसरी सिंगल स्क्रिन दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताएका थिए ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको सिनेमाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा

काठमाडौं:-नेपाली फिल्म उद्योगमा एक पछिपछि अर्को सशक्त विषयमा आधारित चलचित्रहरू निर्माण भइरहेका बेला, माओवादी द्वन्द्वकालको कथा बोकेको चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रले युद्धको चपेटामा परेका आम नागरिकको पीडा, प्रेम र सम्बन्धको कथालाई सिनेमाको माध्यमबाट उजागर गर्ने प्रयास गरेको छ।

चलचित्रमा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। सार्वजनिक गरिएको पोस्टरमा सौगात मल्ललाई बैंसाखीको सहारामा रातो भाले समातेर उभिएको देखिन्छ भने बेनिशा हमाल बालकलाई काखमा लिई मुस्कुराइरहेकी छन्, जसले उनीहरू श्रीमान-श्रीमतीको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ। सौगातले युद्धमा घाइते एक लडाकुको भूमिका निर्वाह गरेका छन् भने बेनिशाले संघर्षरत पत्नीको।

राजबहादुर साने र प्रदीप भण्डारीको लेखनमा आधारित चलचित्र ‘सिटामोल’ले द्वन्द्वको समयमा घरपरिवारमा परेको असर र आम मानिसको मनोविज्ञानलाई चित्रण गर्नेछ। चलचित्रको कथा देशको ऐतिहासिक कालखण्डसँग जोडिएको छ, जहाँ प्रेम, त्याग र पीडा एकसाथ बग्छन्।

चलचित्रमा सौगात र बेनिशाका साथसाथै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञान मल्ल, पवन भट्टराई, काजल भुजेल, तथा बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको समेत अभिनय रहेको छ।

तुलसी देवी फिल्म्स प्रा.लि. र जुन्तारा फिल्म्सको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रमा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन्। अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता छन् भने गंगाराम श्रेष्ठ सह-निर्माता।

चलचित्रको छायांकन सिन्धुलीमा २५ दिनमा सम्पन्न गरिएको हो। दिव्य सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन तथा देव महार्जन र शंकर महार्जनको द्वन्द्व निर्देशनले चलचित्रलाई प्राविधिक रुपमा बलियो बनाएको छ।

बेनिशा हमालका लागि यो वर्ष निकै व्यस्त हुने देखिन्छ, किनकि साउन २३ मै ‘सिटामोल’ सँगै उनको अर्को चलचित्र ‘मोहर’ पनि प्रदर्शनमा आउँदैछ। त्यसैले एकै दिन दुई फरक स्वादका चलचित्रमार्फत उनी दर्शकमाझ आउनेछिन्।

‘सिटामोल’ द्वन्द्वकालीन यथार्थतालाई भावनात्मक ढंगले प्रस्तुत गर्ने कोशिस हो। संवेदनशील विषयवस्तुमा आधारित चलचित्र भएकाले दर्शकहरूले गहिरो अनुभूति र सामाजिक सन्देश दुबै अनुभव गर्ने अपेक्षा गरिएको छ।

चन्द्र पन्तसँग दोस्रो सहकार्यमा जोडिइन् विपना थापा,‘आ बाट आमा’मा विपनाको मुख्य भुमिका

काठमाडौँ : फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशकले निर्माण गर्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केहि दिनअघि अनुबन्ध गरेका हुन्। फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो। निर्देशक पन्तले फिल्म ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने छ। उनैको कथा वरिपरी फिल्मको कथा घुम्नेछ।

निर्देशक पन्तले भने,‘विपना थापाको नै मुख्य भुमिका हो। उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर रहेको छ। आफु निर्देशक तथा लेखकको हिसाबमा भन्नु पर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल बनेको छैन। त्यति दर्शकलाई इमोसनल बनाउने कथा छ। त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँ।’

आगामी भदौँ देखि छायाँकनमा जान लागेको यस फिल्ममा काम गर्न पाउँदा आफु निकै उत्साहित भएको विपनाको भनाई छ। अभिनेत्री थापाले पनि यस फिल्मको कथा सुन्दा नै आफुलाई भावुक बनाएको र काम गर्न राजी भएको जानकारी दिइन्।

उनले भनिन,‘मलाई निर्देशक साबले यो फिल्मको स्टोरी सुनाउँदा यति भावुक भएकी म व्यक्त गर्न सक्दिनँ। उहाँले स्टोरी सुनाउँदाखेरि मेरो घाँटी ख्याप्प भएर सुकेको थियो। स्टोरी नै यति पावरफुल,यति स्ट्रोङ छ। आमा भन्ने फिल्म मैले पहिला पनि रेशराज आचार्य डिरेक्टर साबको गरेको थिए। अरु पनि थुप्रै आमा हुने फिल्म बनेको छ। मैले हेरिपनि सकेको छु,नेपाली पनि र हिन्दी पनि। तर यो फिल्मको स्टोरी चाहीँ छुट्टै किसिमको छ। जुन फिल्म हेरिसकेपछि मात्रै थाहा हुन्छ। त्यसैले पनि यो फिल्ममा काम गर्नका लागि म राजी भए।’

यो फिल्ममा काम गर्नुको मुख्य कारण दमदार स्टोरी नै रहेको बताईन्। उनले थपिन्,‘यो फिल्मको स्टोरी सुन्दा भावुक मात्र होइन। एकदमै रोएँ। यस फिल्मको ‘आ बाट आमा’मा राखिने गीत सुन्दाखेरि पनि रोएँ। तपाई आफैले पनि यो गीत सुन्दाखेरि रुनुहुन्छ। यसअघि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’को गीत जति मार्मिक छ नि,त्यो भन्दाबढि मार्मिक गीतहरु यो फिल्ममा रहेको छ।’

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन्। यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो। अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए। उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।