२०८२ मंसिर २१, आइतवार

‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक, अन्ना शर्मा र धिरज मगरको दमदार उपस्थिति

काठमाडौं । नेपाली चलचित्र ‘रमिता को पिरति’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक टिजरले दर्शकलाई प्रेम, मनोविज्ञान र भावनात्मक उतार–चढावलाई केंद्रमा राखिएको गहिरो कथाको झलक दिन खोजेको छ।

टिजरमा अभिनेत्री अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, पीडा र हृदयवेदनासम्मका विभिन्न मनोवैज्ञानिक अवस्थाहरूमा प्रस्तुत गरिएको छ। उनका साथमा धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्।

लोकप्रिय गायक समिर श्रेष्ठ यसै फिल्ममार्फत अभिनय यात्रामा डेब्यु गर्दै मुख्य भूमिकामा प्रस्तुत भएका छन्, जसलाई दर्शकले उत्साहपूर्वक प्रतिक्षा गरिरहेका छन्।

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई विशेष बनाउने अरू पक्ष भनेको—यसको कथा र निर्देशन महिला निर्देशक सुदीप्ताले सम्हालेकी हुन्। फिल्म एक महिलाको आत्मिक यात्रा, मनोविज्ञान र जीवनका गहिरा मोडहरूलाई केन्द्रित गरेको अनुमान टिजरबाट हुन्छ।

फिल्म आउँदो भ्यालेन्टाइन–डे २०२६ (माघ २३) मा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।
निर्माता सागर लम्साल रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटमा’ सार्वजनिक हुँदै

काठमाडौं । गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटमा’ सार्वजनिक हुने भएको छ। आकर्षक पोस्टरसहित सार्वजनिक गरिएको यस गीतलाई गम्विर बिष्टले निर्देशन गरेका हुन्।

गीतमा स्वर स्वयं सुमी पराजुलीकै रहेको छ भने शब्द आनन्द अधिकारीको रहेको छ। संगीत संयोजन अलिश कार्कीले गरेका छन् भने एरेन्ज शिवम रसाइली र मिक्स/मास्टर श्यामश्वेत रसाइलीले गरेका हुन्।

भिडियोमा कलाकारका रूपमा गम्विर बिष्ट र बिना राउत देखिनेछन्। छायांकन, सम्पादन तथा कलरको जिम्मेवारी पवन सुस्लिङले सम्हालेका छन्। मेकअप सुभाष तिमल्सिना, पोशाक कुसुम बुटिक र कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ।

प्रोडक्सन कन्ट्रोलरको रूपमा शम्भु श्रेष्ठ रहेका छन् भने पोस्टर डिजाइन सन्तोष डिजाइनद्वारा तयार गरिएको हो। रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको छ।

यो म्युजिक भिडियो Sumi Parajuli युट्युब च्यानलमार्फत डिसेम्बर ५ (मंसिर १९) मा सार्वजनिक गरिने जानकारी दिइएको छ। निर्माण टिमले दर्शक तथा श्रोताबाट गीतलाई माया र साथ मिल्ने अपेक्षा गरेको छ।

एकता पौडेलको डेब्यु निर्देशन “हर्ष” प्रदर्शनमा

काठमाडौँ, मंसिर १२ – एकता पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘हर्ष’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ। प्रिमियरमा दर्शक र समीक्षकले चलचित्रमा उत्कृष्ट प्रतिक्रिया दिएका थिए भने शुक्रबार विहान्री शोमा पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।

सिनेमाले पारिवारिक कथालाई केन्द्रमा राखेको छ र देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको छ। प्रिमियरमा दर्शकले चलचित्रमा स्वर्गीय निर्देशक शिव रेग्मीको फ्लेवर पाएको प्रतिक्रिया दिँदा निर्देशक पौडेल हर्षित देखिएकी थिइन्।

निर्देशक एकता पौडेलको पृष्ठभूमि:

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन

आमसंचारमा स्नातक

व्यवस्थापन र नेतृत्वमा स्नातकोत्तर

यसअघि केही छोटा चलचित्र निर्माण गरिसकेकी

कलाकार:
खगेन्द्र, वर्षा, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित, बालकलाकार साइमन वादी

प्राविधिक टिम:

छायांकन: आलोक शुक्ला

संगीत: समीर र हिमाल, वसन्त सापकोटा, एलिश कार्की

सम्पादन: लोकेश बज्राचार्य

कोरियोग्राफी: सुनिल क्षेत्री र निर्देशक पौडेल

निर्माण:

ब्यानर: अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिज

कथा: निर्देशक पौडेल

निर्माता: प्रशन्न पौडेल, विकास पौडेल

कार्यकारी निर्माता: हिक्मत चोखाल

प्रोडक्सन म्यानेजर: इश्वर घिमिरे

मुख्य सहायक निर्देशक: कुलदीप शर्मा

शोभित बस्नेतको ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्डआउट

काठमाडौं । यही मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। उक्त फिल्मलाई त्यहाँका मि. श्रेष्ठ प्रोप्राइट्री लिमिटेड तथा श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनी ले खरिद गरेको हो।

कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार सामाजिक सन्देश बोकेको र सबै दर्शकले बुझ्नुपर्ने विषय भएकाले दर्शकको माग अनुसार फिल्म खरिद गरिएको हो। यसअघि अष्ट्रेलियाका विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो, जहाँ अधिकांश दर्शकले फिल्मको खुलेर प्रशंसा गरेका थिए।

शोभित बस्नेतको निर्देशनमा बनेको ‘पीआर’ मा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी ‘मस्तानी’, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

हाल निर्देशक बस्नेत अष्ट्रेलियामै फिल्मको प्रमोसनमा व्यस्त छन् र त्यहाँका हलमा रिलिज व्यवस्थापनमा सक्रिय रहेका छन्।

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ भने लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालको छ। गणेश बुढाथोकीको लेखन तथा बन्दे प्रसादको सम्पादन रहेको फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरण आर आर फिल्म्सले गर्दैछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायन सुन्न सकिन्छ भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ।

ब्लकबस्टर निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको औपचारिक घोषणा गरेका छन्।

सारङ्गी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा प्रभाकर श्रेष्ठ निर्माता रहनेछन्। चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् भने लेखनमा सबिन अधिकारी र बसन्त न्यौपाने पनि संलग्न रहेका छन्।

चलचित्रको कथावस्तुबारे हालसम्म कुनै विस्तृत जानकारी खुलाइएको छैन। तर निर्देशक पौडेलका अनुसार ‘सिन्दुरे जात्रा’ नेपाली लोक–परम्परा, संस्कार र सामाजिक कथालाई आधुनिक भिजुअल र प्रस्तुतिकरण शैलीमा दर्शकसमक्ष ल्याउने उद्देश्यका साथ निर्माण हुँदैछ।

“कास्टिङ अन्तिम चरणमा छ, चाँडै सबै कलाकारको नाम सार्वजनिक हुनेछ,” निर्देशक पौडेलले बताएका छन्। छायांकन सुरु हुने मिति पनि निकट भविष्यमै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ। चलचित्रको रिलिज मिति भने हालसम्म तय गरिएको छैन।

यसअघि निर्देशक पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कोसेढुङ्गा’ प्रदर्शनमा आएको थियो। सो फिल्म जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित भए पनि सामाजिक विषय, भावनात्मक प्रस्तुतिकरण र निर्देशन शैलीका कारण दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको थियो।

ब्लकबस्टर निर्देशक सरोज पौडेलको यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना दर्शकले अनुभव गर्नेछन् भन्ने चासो बढ्दै गएको छ।

आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

काठमाडौँ, १० मंसिर
देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनको धन’को नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गरिएको छ। बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रको उक्त गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द, संगीत तथा एरेञ्ज टंक बुढाथोकीकै रहेको छ।

गीत सार्वजनिकसँगै निर्माण टिमले विशेष अफर सार्वजनिक गरेको छ। आज जन्मदिन पर्ने दर्शकले हलमा टिकट किनेर चलचित्र हेरेपछि निर्माण टिमलाई सम्पर्क गरेमा टिकटको रकम फिर्ता गरिने निर्माता तथा निर्देशक टंक बुढाथोकीले जानकारी दिएका छन्।

चलचित्र ‘मन बिनको धन’ प्रदर्शनको २० औं दिनमा प्रवेश गर्दा तीन करोड ६० लाख रुपैयाँभन्दा बढीको कलेक्सन गर्न सफल भइसकेको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको फिल्म हेर्न अहिले देशभरका विद्यालयले आफ्ना विद्यार्थीलाई समूहगत रूपमा हलसम्म पुर्‍याइरहेका छन्। फिल्मले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्वजस्ता सामाजिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइएको छ।

बालगायक अशोक दर्जीको वास्तविक जीवनकथामा आधारित यस चलचित्रले दर्शकको मन जितेको देखिन्छ। दर्जीलाई अँगालो हालेर भावुक दर्शक रोएका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विद्यार्थी मात्र नभई अभिभावक समेत भावुक बन्दै हलबाट निस्किएको दृश्य सामान्य जस्तै बनेको छ। पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति देखिएको छ। यसअघि नै निर्माण टिमले विद्यालयलाई विशेष छुट दिने घोषणा गरिसकेको थियो।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको कथा स्वयं बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीको रहेको छ। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् र कार्यकारी निर्माता मिनु शर्मा (सपना) रहेकी छन्। सहनिर्मातामा जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन् भने क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।

चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ। सामाजिक सन्देशसहित भावनात्मक कथावस्तुले सुसज्जित ‘मन बिनको धन’ हाल दर्शकमाझ विशेष चर्चामा छ।

परालको आगो वैशाख ११ गते

४० दिनमै सकियो ‘परालको आगो’को छायांकन, बैशाख ११ लाई तोकियो रिलिज डेट

काठमाडौं । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित चलचित्र ‘परालको आगो’को छायांकन ४० दिनमै सम्पन्न भएको छ। दशैंअघिबाट म्याग्दी जिल्लाका विभिन्न हिमाली तथा नयनाभिराम लोकेसनमा सुरु गरिएको सुटिङ मंगलबार सकिएको निर्माण टिमले जानकारी दिएको छ।

छायांकन सम्पन्न भएसँगै निर्माण टिमले चलचित्रका तीन फरक–फरक लुक्सका तस्बिर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको छ। निर्माता सुशील पोखरेलका अनुसार चलचित्र आगामी बैशाख ११ गते शुक्रबार बाट देशभर प्रदर्शनमा आउनेछ।

निर्माता पोखरेलले आफूले अरु चलचित्रसँग ठोक्किन नचाहेको स्पष्ट पार्दै भने,
“सबै मेजर डेट छोडेर साधारण डेट बैशाख ११ लाई डेटलक गरेको हुँ। ग्यापमा फिल्म ल्याउँदा निर्माता र हल व्यवसायी दुवैलाई फाइदा हुन्छ। अरु फिल्म पनि चल्नुपर्छ भन्ने सोच हो।”

उनका अनुसार चलचित्रको सुटिङ सेड्युल ३० दिनको भए पनि जेनजी आन्दोलन, वर्षा र पहिरोका कारण १० दिन ढिलो गरी ४० दिनमा छायांकन सम्पन्न गरिएको हो। यद्यपि कलाकार र प्राविधिकको अथक मेहनतले काम समयमै सकिएको उनले बताए।

उनले भने,
“हिमाली लोकेसनमा नेपाली माटोको सुगन्ध आउने सिनेमा ठूलो क्यानभासमा खिचिएको छ। सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा देखि बाल कलाकार एन्जिला बानियाँसम्म सबैले उत्कृष्ट काम गर्नुभएको छ।”

चलचित्रमा करिब ६०० जना जुनियर आर्टिस्ट प्रयोग गरिएको छ भने काठमाडौंमा वर्कसप सञ्चालन गरी कलाकारलाई भूमिकाका लागि तयार पारिएको थियो। निर्माण पक्षले कन्टेन्ट बलियो बनाउन कुनै सम्झौता नगरेको दाबी गरेको छ।

कलाकार तथा प्राविधिक टिम

चलचित्रमा अभिनय गर्ने कलाकारहरू: सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार एन्जिला बानियाँ।

निर्देशन : लक्ष्मण सुनार

लेखन : सुशील देवकोटा

कथा मूल स्रोत : गुरुप्रसाद मैनाली (नासो संग्रह)

छायांकन : संकल्प भुजेल

गीत : सुरेन्द्र राना, मनबहादुर मुखिया, प्रकाश सपुत

संगीत : शान्ति ठटाल, सत्य स्वरूप, प्रकाश सपुत

कोरियोग्राफी : रामजी लामिछाने

प्रोडक्सन म्यानेजर : नगेन्द्र घिमिरे

वितरण : आर.आर फिल्म्स

ओटीटी राइट्स : ओएसआर (पहिले नै खरिद)

उल्लेखनीय छ कि ‘परालको आगो’ शीर्षकमा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्माण गरेका थिए, जुन अत्यन्त सफल भएको थियो।

नवीन प्रस्तुति सहित पुनः ठूलो पर्दामा आउन लागेको ‘परालको आगो’ले नेपाली ग्रामीण जीवनको यथार्थ कथा र भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

‘एक चिहान’ नाटक युनाइटेड कलेज ललितपुरमा चार शोमा मञ्चन

मंसिर –९, २०८२ | ललितपुर – चर्चित नाटक ‘एक चिहान’ ओजस थिएटरले युनाइटेड कलेजको थिएटरमा हिजो र आज चार शोमा प्रस्तुत गरेको छ।

मुख्य दर्शक युनाइटेड कलेजका विद्यार्थी र शिक्षक थिए, जसले नाटकको हरेक क्षणमा उत्साहपूर्वक सहभागिता जनाए।

कलाकारहरू:मदन थापा, जे.बी. डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डे, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अञ्जना दुलाल, प्रदीप विश्वकर्मा को अभिनय रहेको छ।
यसको व्यवस्थापनमा राजु खतिवडाले सहयोग गरेका छ्न ।

नाटक हृदयचन्द्र सिंह प्रधानको कृतिमा आधारित छ, रूपान्तरण हर्क मगरले गरेका हुन्। निर्माता कल्पना थापा, बजार व्यवस्थापक रिता थापा, र निर्देशक सागर कार्की (ओजस थिएटरका संचालक) हुन्।

निर्देशक कार्कीका अनुसार नाटकले वर्गीय विभेद, दुःख र मानवीय संवेदनशीलता उजागर गर्दै शैक्षिक दृष्टिले पनि महत्वपूर्ण सन्देश दिन्छ।
यस नाटकलाई १२ कक्षाको परीक्षा अंक भारमा पनि उपयोगी हुने हिसाबले, सामाजिक सन्देशसहित मञ्चन गरिएको हो।

समापनमा कलाकार र निर्माता कल्पना थापाले नाटक र ओजस थिएटरको तर्फबाट युनाइटेड कलेजलाई माया चिनो प्रदान गरे।
ओजस थिएटरको मिडिया पार्टनर: अदृश्य सञ्चार मिडिया रहेको छ।

आर.ए. सुरज पौडेलको जन्मदिन पारेर फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ गीत सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मका अभिनेता आर.ए. सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो।

शनिबार अष्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ। उक्त गीत सलोमा युट्युब च्यानलमार्फत रिलिज गरिएको हो, जहाँ अभिनेता आर.ए. सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य देख्न सकिन्छ।

मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वरमा सजिएको यस गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ मा आर.ए. सुरज पौडेल, बिनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

फिल्मको प्रमोसन तथा अष्ट्रेलियाका हलहरूमा रिलिज व्यवस्थापनका लागि निर्देशक शोभित बस्नेत केही दिनअघि अष्ट्रेलिया पुगेका थिए र हाल उनी त्यहीँबाट फिल्मको प्रचारमा सक्रिय छन्।

गीत सार्वजनिक गर्दै निर्देशक बस्नेतले भने,
‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद दिनेछ भन्नेमा विश्वास लिएको छु।’

उनका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको लेखन गणेश बुढाथोकीले गरेका हुन्। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ।

फिल्म ‘पीआर’ यही मंसिर २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

आज ‘साढे ३ हत्या’को दोस्रो संस्करण विमोचन

काठमाडौँ — लेखक रुपक अधिकारीद्वारा लिखित चर्चित उपन्यास ‘साढे ३ हत्या’ को दोस्रो संस्करण आज औपचारिक रूपमा विमोचन गरिएको छ। पहिलो संस्करणले पाएको सकारात्मक प्रतिक्रिया र बढ्दो मागका कारण उपन्यास पुनः मुद्रण गरिएको हो।

उपन्यासले जीवनका उतार–चढाव, प्रेम र वियोग, आत्मस्वीकृति, मनोवैज्ञानिक संघर्ष र मानिसले भोग्ने आन्तरिक पीडालाई कलात्मक ढंगले प्रस्तुत गर्छ। यस कृतिमा लेखक रुपक अधिकारीले उठाएको ‘जिन्दगी काँडा कि फूल?’ भन्ने गहिरो दार्शनिक प्रश्नले पाठकलाई जीवनप्रतिको दृष्टिकोण पुनर्विचार गर्न प्रेरित गर्छ।

अधिकारीको सन्देश छ —
“जिन्दगी सुन्दर छ; काँडा र फूल दुवैसँगै बाँच्न सकिँदा मात्रै यसको वास्तविक अर्थ पहिल्याउनु सम्भव हुन्छ।”

प्रकृति, प्रेम र सम्बन्धप्रतिको उनका विशिष्ट दृष्टिकोण तथा जीवनको कठोरताभित्र लुकेको सुन्दरता खोज्ने शैली उपन्यासको मुख्य आकर्षण बनेको समीक्षकहरूको भनाइ छ। पुस्तक मनोरञ्जनसँगै आत्ममन्थन र जीवनबोध गराउने कृतिका रूपमा चिनिँदै गएको छ।

विमोचन कार्यक्रम

दोस्रो संस्करणको विमोचन कार्यक्रम ब्रीलिन्य्ट कलेज, सिफलमा सम्पन्न भएको थियो। कार्यक्रममा २०७८ सालका मदन पुरस्कार विजेता नवराज लम्साल, सुमन स्मारिका, न्युरोड बुक्स स्टोरका सञ्चालक राजेश गजुरेललगायत कवि, गजलकार तथा लेखकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले ‘साढे ३ हत्या’ लाई समकालीन नेपाली साहित्यमा प्रभावशाली कृति भएको उल्लेख गर्दै लेखक रुपक अधिकारीको लेखन शैलीको खुलेर प्रशंसा गरेका थिए।

न्युरोड बुक्स स्टोर यस कृतिको आधिकारिक वितरक रहेको पनि जानकारी दिइएको छ।