फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक, देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने तयारी
काठमाडौं। आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसरमा निर्माण टिमले सार्वजनिक गरेको टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश देख्न सकिन्छ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा फिल्मका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने, “अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।”
विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक विजय केरुङका अनुसार टिजरमार्फत फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ। शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्