दशैंको फूलपातीमा रिलिज हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक

दशैंको फूलपातीको अवसर पारेर असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ।
मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरमा कमेडी, प्रेम, विछोड र सांस्कृतिक पृष्ठभूमि प्रष्ट देखाइएको छ। ट्रेलर पावरफूल बनेको छ र विशेषगरी कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) को कमेडी बलियो रूपमा प्रस्तुत भएको छ।
फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारको अभिनय छ।
रविन शेरचन र धिरज तामाङले लगानी गरेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन्। रामशरण पाठकले लेखन गरेको फिल्मको छायांकन सुशन प्रजापति ले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेल (सह–सम्पादक अंकित तिवारी) ले गरेका हुन्।
स्व. जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, समिर मिया र सत्यम रानाको भीएफएक्स, र साहिल खानले तयार गरेको ट्रेलर समावेश छ।
रोहित अधिकारी फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको यो फिल्मले विशेषगरी तामाङ संस्कृतिको कथालाई बलियो रूपमा उठाएको छ। दशैंको समयमा पारिवारिक कथा रुचाइने भएकाले ‘माइतीघर’ दर्शकमाझ अझै प्रतिक्षित बन्ने देखिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्