सोमवारदेखि फेरि प्रदर्शनमा आउने ‘कोशेढुङ्गा’

काठमाडौं – जेन–जी आन्दोलनका कारण बन्द भएका सिनेमा हल सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। त्यससँगै भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कोशेढुङ्गा’ पनि फेरि निरन्तर प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्ष नरदेवी फिल्म्सले आइतबार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन सोमबारदेखि पुनः सुरु हुने जानकारी दिएको हो। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, सामान्य जनजीवनमा फर्किनुको विकल्प नरहेको भन्दै ‘कोशेढुङ्गा’लाई फेरि हलमा निरन्तरता दिन लागिएको उल्लेख छ।

फिल्मका कार्यकारी निर्माता दिनेश खड्काले भने, “फिल्म चलिरहेको समयमा देश जटिल अवस्थामा पुगे पनि अहिले निकास पाएको छ। अब सबै मिलेर आफ्नो–आफ्नो क्षेत्रमा अघि बढ्नुपर्छ। सोमबारदेखि ‘कोशेढुङ्गा’ फेरि सिनेमा हलमा लाग्दैछ, दर्शकको माया पुनः पाउने आशा गरेका छौँ।”

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म नरदेवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा बनेको हो। निर्माता प्रेवील कँडेल र किशोर अनुराग रहेका यस कृतिमा छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, र संगीत आशिष अविरल तथा रिदम कँडेलको रहेको छ।

‘कोशेढुङ्गा’ स्वदेशमै आशा र संघर्षको कथा बोकेको फिल्म भएको निर्माण पक्षले जनाएको छ।

Share Post on Social media