दीपाश्री निरौला ‘पार्वती’मा अनुबन्धित, १२ वर्षपछि नीता ढुंगानासँग सहकार्य

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला औपचारिक रूपमा अनुबन्ध भएकी छन्। मंगलबार निर्माण टिमसँग उनले कागजी सम्झौता गरेकी हुन्।
फिल्मकी निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुंगाना अधिकारीका अनुसार दीपाश्रीसँग मौखिक सहमति पहिल्यै भइसकेको थियो। “हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,” नीताले भनिन्, “आज (मंगलबार) भने फाइनल भएको हो दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो।”

दीपाश्रीले पनि यो सहकार्यलाई विशेष भन्दै १२ वर्षअघिको सम्झना गरिन्। “वि.स. २०७० सालमा ‘छ एकान छ’मा हामीलाई हेल्प गरेकी थिएँ,” उनले भनिन्, “१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई ‘पार्वती’मा अनुबन्ध गराएकी छौ। यो साउनको महिना, शिव–पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ, धन्यवाद छ सम्झनुभएकोमा।”
दीपाश्रीको अनुबन्ध हुनु अघि फिल्ममा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारीलाई सहायक निर्देशकको रूपमा टिममा भित्र्याइएको थियो। आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मका दुई पोस्टर सार्वजनिक भइसकेका छन् भने माघ १ गते प्रदर्शन मिति तय गरिएको छ।
फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। लगानी सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले गर्नेछन्। वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले, उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।
नीताले यसअघि ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा हात हालेकी थिइन्। यसपटक भने ‘पार्वती’ र ‘सुख–दुःख’बाट निर्देशनमा पाइला राख्दैछिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्