आभा ढुंगाना र रिद्धी खत्रीको ‘कश्यप’ डेब्यु पक्का

काठमाडौं — फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो।


आभाले यसै फिल्मका लागि विशेष एक्सन प्रशिक्षण लिइरहेकी छिन्, जसले उनको भूमिकालाई थप दमदार र यथार्थपरक बनाउने अपेक्षा गरिएको छ। यसैगरी, बालकलाकार रिद्धी खत्रीले पनि ‘कश्यप’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै फिल्मको महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन्। निर्माण पक्षको विश्वास छ— उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिनेछ।
आभा ढुंगाना भन्छिन्, “फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”



यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फस्ट लुक पोस्टर सार्वजनिक गरिसकेको थियो, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको छ। एक्सन, प्रेम र म्युजिकल पक्षमा उत्कृष्टता दिने लक्ष्यसहित निर्माण भइरहेको ‘कश्यप’ चाँडै छायांकन थाल्ने तयारीमा छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्