‘आँखा’ले अन्तर्राष्ट्रिय फेस्टिभलमा सफलता कमायो, सिओल वेबफेस्ट २०२५ मा सम्मानित
काठमाडौं, साउन १७ – नेपाली फिल्म ‘आँखा – क्रलिङ क्रोज’ ले दक्षिण कोरियामा सम्पन्न ११औं सिओल इन्टरनेशनल वेबफेस्ट २०२५ मा अवार्ड जित्दै अन्तर्राष्ट्रिय सफलता थपेको छ।
निर्देशक जोन योन्जन द्वारा निर्देशित यस फिल्मले हालै इटालीको २९औं इन्टरनेशनल पुलिस आर्ट्स अवार्ड फिल्म फेस्टिभलमा पनि दुई प्रमुख विधामा – ड्रामा र अभिनेत्री को अवार्ड हात पारिसकेको थियो।

अभिनेत्री स्मिता लमिछानेले फिल्ममा दिएको दमदार अभिनयका लागि श्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन्। गत वर्ष नेपालमा प्रदर्शन भएको बेला पनि उनको अभिनय निकै प्रशंसित भएको थियो। तर, प्राकृतिक प्रकोपका कारण फिल्मले नेपाली हलमा लामो समय चल्न नपाएको निर्माता पक्षले जनाएको छ।
‘आँखा’मा विजय बराल, स्मिता लामिछाने निशा अधिकारी, बुद्धि तामाङ, आर.के. मेहता, र पशुपति राईलगायत कलाकारको समेत अभिनय रहेको छ। सामाजिक यथार्थ, मानव मनोविज्ञान र भावनात्मक गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै समीक्षकहरूले फिल्मको निकै प्रशंसा गरेका छन्।
निर्देशक योन्जनले भने, “यो अवार्ड केवल हाम्रो टोलीको मात्र होइन, नेपाली फिल्म उद्योगमा काम गरिरहेका सम्पूर्ण सर्जकहरूको सम्मान हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा र सिर्जनाको मान्यता पाउनु गर्वको कुरा हो।”
यसअघि फिल्मले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि फिचर फिल्म, पटकथा, र अभिनेताको अवार्ड जितिसकेको छ। साथै, भारतको नवादा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि उत्कृष्ट फिल्म र पुरुष निर्देशकको उपाधि पाइसकेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्