चलचित्र बुझ्ने चलचित्र पत्रकारको अभाव, नयाँ कलाकारको उपेक्षा!
काठमाडौं, साउन ११ –
नेपाली चलचित्र क्षेत्र लगातार सक्रिय देखिन्छ, लगातार फिल्महरू रिलिज भइरहेका छन्। तर यस्ता फिल्मको प्रचार–प्रसारमा संलग्न मिडिया र पत्रकारहरूको शैलीप्रति गम्भीर असन्तोष प्रकट हुन थालेको छ।

चलचित्र समीक्षामा संलग्न ९० प्रतिशत पत्रकारले न त फिल्मको भाषा बुझ्छन्, न त फिल्म निर्माणको प्रक्रियामै चासो देखाउँछन्। नायक–नायिकासँग “लभ परेको हो?” भन्ने हल्का खालका प्रश्न सोध्न तत्पर हुने पत्रकारहरूले फिल्मको कलात्मक पक्ष, सामाजिक सन्देश र समग्र योगदानबारे प्रायः चासो नदेखाउनु चिन्ताको विषय बनेको छ।
“हाम्रो फिल्म आउँदैछ, विज्ञापनसमेत दिएका छौँ। प्रचारको अपेक्षा राखेका छौँ। तर मिडियाले फिल्मबारे गहिरो समीक्षा गर्नुको सट्टा भाइरल शीर्षक खोज्छ,” एक निर्देशकले गुनासो गरे।
नयाँ अनुहारको बेवास्ता
‘सिटामोल’ फिल्मका निर्देशकले त स्पष्ट रूपमा टिप्पणी गरे –
“नयाँ कलाकारलाई अघि ल्याउने प्रयास गर्दा मिडिया मौन बस्छ। तर स्थापित अनुहारहरूमार्फत सस्तो मनोरञ्जनको खोजी भने रोकिन्न। यस्तो प्रवृत्तिले नेपाली चलचित्र क्षेत्र कहिल्यै अघि बढ्दैन।”
जस्तै, फिल्म ‘रियल रिङ्गेट’ मा देखिएका प्रतिभाशाली कलाकार प्रमोद चौलागाईंजस्ता अनुहार प्रचारको अभावमा हराउँदै जान्छन्। यदि निता ढुंगाना जस्ता परिचित अनुहार फिल्ममा नहुँदा, कतै फिल्मको नाम नै बेपत्ता हुने खतरा देखिन्छ।
‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालबाहेकका कलाकारलाई मिडियाले खासै चिनेको देखिँदैन। त्यस्तै, ‘मोहर’ फिल्ममा पल शाह, नीति शाह र बेनिशा मात्र मिडियाको फोकसमा परे; बाँकी कलाकारको योगदानप्रति ध्यान नदिइएकोप्रति असन्तुष्टि बढ्दो छ।
प्रश्न उठ्छ –
नयाँ कलाकार कहिले अगाडि बढ्ने?
मिडिया किन सधैं स्टारपावरमै केन्द्रित हुन्छ?
सम्पूर्ण फिल्म टिमको योगदान किन ओझेलमा पर्छ?
नेपालको चलचित्र प्रचार–प्रसारमा दृष्टिकोण परिवर्तनको खाँचो देखिएको छ। यदि हामीले नयाँ प्रतिभालाई चिन्न र चिनाउन थालिएनौं भने नेपाली चलचित्र सधैं उस्तै अनुहार र उस्तै शैलीको चक्रमा सीमित रहने खतरा विद्यमान रहन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्